भक्तपुर । भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले समरस्प्लास सम्पन्न गरेको छ । विद्यालयले विगत बाह्र वर्षदेखि निरन्तर रूपमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूलाई शिक्षा सँगसँगै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन र उनीहरूमा निहित प्रतिभा उजागर गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिदै आएको हो ।
सोही अन्तर्गत असोज १४ गते सोमबार उक्त कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा र क्षमतालाई प्रष्फुटन गराउनका लागि आयोजित सो कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रदर्शन गरेका थिए। कार्यक्रममा विभिन्न महादेशका अलग अलग देशहरू समेट्दै आर।जी समरस्प्लास सम्पन्न गरिएको आयोजक विद्यालयले जनाएको छ । विद्यार्थीलाई उत्कृष्ट शिक्षाका साथै उत्कृष्ट अतिरिक्त क्रियाकलापमा समेत उत्कष्ट बनाइरहेको सो विद्यालयको यस वर्षको समर स्प्ल्यासको संस्करणमा चीन, भारत, पोर्चुगल, मोरिसियस, तान्जानिया, इक्वेडर, लक्जम्बर्ग, बुल्गेरिया र नेपाल जस्ता देशहरूका स्टलहरू राखिएको थियो । स्टलमा देशका कला, संस्कृति र परम्परा झल्कने खालका खेल समेत खेलाइएको थियो ।
ती देशहरुका खेलबारे उपस्थित विद्यार्थी, अभिभावक तथा आगन्तुकहरूलाई जानकारी लिएका थिए । विद्यार्थीहरूले हन्टेडहाउस खेल खेलाएर उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए। प्लानेटेरियममा विभिन्न प्रक्रिया जस्तै स्पेस र डाइनोसरको जीवन, समुद्री जीव, जुम्बिल्याण्ड आदिको फोरडी भिडियो देखाई उपस्थितहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
त्यस्तै एअआर र भीआर यन्त्रको प्रयोग गरी पृथ्वीदेखि चन्द्रमा सम्मको यात्रा र अन्य भर्चुअल रियालिटीको प्रदर्शनी गरिएको थियो। उक्त प्रदर्शनीमा सहभागीहरुले चाखपूर्वक सहभागिता जनाएका थिए । सोही कार्यक्रममा ‘म्याथ अराउन्ड मि’ नामक स्पर्धा समेत गरिएको थियो । सो स्पर्धामा राजर्षि गुरुकुलका चार जना छात्रा विजेता बनेका छन् । यस कार्यक्रमको आयोजना भारतस्थित नेहरुवोर्ल्ड स्कुलले गरेको थियो । अभिभावक तथा आगन्तुकहरू विद्यार्थीहरूले देखाएका प्रतिभाहरू अवलोकन गरी दङ्ग भएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूद्वारा परिकल्पना गरी लेखिएका लेख रचनाहरू समाविष्ट गरी ‘यदि’ पुस्तकको विमोचन नेपालस्थित इक्वेडरका वाणिज्यदूत शशीकान्त अग्रवालबाट गरिएको थियो ।प्रस्तुत पुस्तक विद्यालय भित्र सिमित नरही विद्यालय बाहिर विभिन्न पुस्तक पसलभित्र उपलब्ध गरिएको छ।विद्यालयका विद्यार्थीहरू आफूले रचना गरेको पुस्तक पढ्न पाउँदा अझ बढी प्रोत्साहित भएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा इक्वेडर,लक्जम्बर्ग,बुल्गेरिया,मोरिसियस विभिन्न मानार्थ वाणिज्य दूतहरूको समुपस्थिति रहेको थियो।
विद्यालयमा पठन पाठनका साथै र व्यावहारिक शिक्षा सिकाइमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण भएको विद्यालयका चेयरम्यान राजेश चौधरीले बताए । विद्यालयका निर्देशक दिनेश भुसालले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापले पनि ठूलो भूमिका खेल्नेमा जोड दिए भने विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले एकेडेमिक पक्ष, अनुशासन, इसिए, सिसिए जस्ता क्रियाकलापका साथै विद्यार्थीहरूमा निहित सिप र क्षमताको उजागरका लागि सो कार्यक्रम गरिएको बताए ।