भक्तपुर । ताथलीमा नेपाल मजदुर किसान पार्टी स्थापनामा भूमिका खेलेका अमर बहादुर न्हेम्हाफुकीकाे निधन भएकाे छ ।
नेमकिपा ताथलीका संस्थापक सदस्यमध्येका एक न्हेम्हाफुकीकाे ७८ वर्षको उमेरमा बिहीबार निधन भएकाे हाे । उनकाे उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको पारिवारिक स्राेतले जनाएको छ । अस्वस्थ भई उपचारका लागि पाटन अस्पताल लगेका उनकाे राेग पत्ता नलागेकाे उनका छाेरा मदन न्हेम्हाफुकीले बताए ।
वि. सं. २००३ असाेज १ गते ताथलीकाे साैडाेलमा बुवा सुकुदेव र आमा गणेशमाया न्हेम्हाफुकीकाे माहिलो छाेराका रूपमा जन्मिएका उनी तत्कालीन पंचायती व्यवस्थामा किसान संगठन ताथलीका सभापति समेत भएको पार्टी स्राेतकाे भनाइ छ ।
मृतक न्हेम्हाफुकीकाे बिहीबार नै दाहसंस्कार गरिएको थियाे । दाहसंस्कारअघि नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष न्हुच्छेभक्त फाेँजू र नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर अध्यक्ष गाेविन्द दुवालले संयुक्त रूपमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
ताथलीकाे देवी माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका शिक्षा एवम् समाजसेवी न्हेम्हाफुकीले ताथलीमा पार्टी विस्तार गर्न तथा विभिन्न सामाजिक कार्यकाे लागि याेगदान दिएका थिए ।
२०४५ सालमा भएको भक्तपुर काण्डकाे समयमा पार्टी केन्द्रीय सदस्य र कार्यकर्तालाई बास दिएर सहयाेग गरेकाे उनका सहकर्मीकाे भनाइ छ । मृतक न्हेम्हाफुकीका दुई छाेरी र ४ छाेरा छन् ।