- अधिक वर्षाका कारण चाँगुनारायण नगरपालिका वडा नं ९, ताथली, बनमाला टोलको ढलान बाटो मुनी पहिरो गएको छ । जोखिम बढेपछि तत्कालको लागि प्लाष्टिक र त्रिपालले सो ठाउँ ढाकिएको छर तत्कालको जोखिम कम गर्न पानी भित्तामा गहिरो पारी पानी कटाइएको छ । यसैगरी ताथलीकै सिसौघारीको ढलान बाटो भत्किएको छ । भण्डारी—कार्की टोल जाने सडक बिच्छेद भएपछि वडा कर्याालयले बैकल्पिक बाटो प्रयोग गर्न अुनरोध गरेको छ ।
- चाँगुनारायण नगरपालिका वडा नं ८, दुलाल गाँउमा नारायण दुलालको घर मुनी र भूमीनारायण सापकोटाको घरमाथि पहिरो गएको छ । स्थानीयले पानीको निकास व्यवस्थापन गरी पहिरो जोखिम न्यूनीकरण कार्य गरेकोे छ भने नगरपालिको प्लाष्टिक र त्रिपाल उपलब्ध गराएको छ ।
- केही दिनअघिको राती चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोटको भट्टेडाँडा चोकमा पहिरो गयो । पहिरोले एउटा मोटरसाइकल बगायो ।
भक्तपुर । मााथिका घटनाहरु अविरल परेको अधिक वर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकाका विभिन्न वडाहरुमा भएको विपद् अर्थात् पहिरोका घटनाहरुका उदाहरणहरु हुन् । यस्ता घटनाहरु पानी परेसँगै बढिरहेका छन् । पहिरोको पीडामा चाँगुनारायणबासी छन् ।
‘कतै छिमेकीको घरजस्तै गरी आफ्नो घर पनि पुरिने हो कि?, बग्ने हो कि?’, आफूलाई साह्रै चिन्ता लाग्ने गरेको नगरकोटका एक स्थानीयले भने । उनले यो वर्षजस्तो अधिक पानी परेको र पानीले क्षति गरेको अन्य वर्षमा थाहा नभएको उनको भनाइ छ । उमेरले ७० को हाराहारीमा पुगेका ज्येष्ठ नागरिकले यो वर्ष अधिक रुपमा पानी पर्दा खेतबारी, बाटो, कुलो, घरमा क्षति पुगेको बताए ।
पहिरोले मानिस बस्ने घर, पशु पालिका गोठ, मकै रोपिएका बारी, धान खेतमा मात्र असर पुगेको छैन । मानिसले आफ्नो दैनिकी गुजार्नका लागि प्रयोग गर्ने सडकहरुमा पनि ठूलो क्षति पुगेको छ । चाँगुनारायण नगरपालिकाका प्रायः सडकहरुमा कुनै न कुनै क्षति पुगेको देखिएको छ । वर्षा अघिसम्म कालो, चिल्लो कालोपत्रे सडक, ढलान गरिएका सडक वर्षा यामको यो समयसम्म आइपुग्दा सडकको अनुहार कुरुप भएको छ । सडकभरि खाल्डाखुल्डी, भड्खालो देखिन थालेका छन् । सडकको दायाँबायाँका कुलाहरु प्ुरिएका छन्, सडक हिलाम्य भएका छन् । यात्राका लागि समेत जोखिम बढेको छ ।
नगरवासीले उपभोग गर्दै आइरहेको खानेपानी, सडक बस्ती क्षतविक्षत भएको छ । बाटोको दुर्दशा प्रष्ट देखिएको छ । दैनिक जीवन अस्तव्यस्त भएको छ । मठ, मन्दिर, गोठ, झुपडीहरुमा पूर्णदेखि आंशिक क्षति पुगेको छ ।
खासमा नगरपालिकाहरुल क्षतिको आंकलन गरी पूर्व तयारी समयमा नगर्दा विपदको क्रम बढ्दै गइरहेको छ । नगरपालिकाहरुले जथाभावी प्लटिङ गर्नेहरुलाई अवैध तरिकाले स्वीकृति दिँदा, घर खार्ने नाममा डोजर सञ्चालनको अनुमति दिँदा, सडक, कुलो, नाली, पर्खाल, खानेपानी व्यवस्थाका लागि भन्दै अव्यावहारिक रुपमा जमिन खन्दा पहिरो गएको स्थानीयको भनाइ छ । साथै परम्परागत रुपमा पानी कटाउने विधिलाई चटक्कै बिर्सँदा र पानीलाई एकतिरबाट मात्र खसाउँदा क्षतिको सङ्ख्या बढ्दै गइरहेको छ ।
चाँगुनारायण नगरपालिकाको विपद् शाखाका अनुसार भक्तपुर नगरकोट सडक खण्डको लप्टन डाँडा, खरिपाटी पुल छेउमा सडक भासिएको छ । मुहानपोखरी जाने बाटोदेखि तेलकोटसम्म पुग्दा ५ ठाउँमा पहिरो लागेको छ । नगरकोटको बास्तोला नगरमा पहिरो खसेको छ । सल्लाघारी, पिपलबोट, लामाचौर, शान्ति डाँडा, गडडगे, नयाँ गाउँ, बाख्री गाउँमा पहिरो गएको छ । हालैमात्र स्तरोन्नतिका साथ कालोपत्रे गरिएको तेलकोट नाट्यश्वरी मूलपानी पेप्सिकोला सडकको विभिन्न खण्डमा पहिरो गएको छ ।
यसैगरी सुरेन्द्रप्रताप स्मृति मार्ग(मुहानपोखरी चरेली खावा सडक) को अधिकारी गाउँ, चरेली, मुहानपोखरी माथि, गोविन्द भुजेलको घर अगाडि पहिरो गएको छ । त्यसले सडक निक्कै जोखिमपूर्ण बनेको छ । सडककै सन्दर्भमा बाँसबारी बाल्मिकेश्वर वडा कार्यालय सडकको घट्टे खोला कटान भएको छ । ढुंगेसाँघु, गुरुङटार र बगुवामा पहिरो गएको छ । बागेश्वरीमै एउटा पुल भत्किसकेको छ ।
ठाउँठाउँमा पहिरो गएपछि जनप्रतिनीधिहरुले विभिन्न तरिकाले जानकारी दिइरहेका छन् । सचेत हुन, सजग हुन आह्वान गरिरहेका छन् । वडा अध्यक्ष, वडा सदस्य, नगर प्रहरी, प्रहरी प्रशासन उद्धार राहत कार्यमा खटिरहेका छन् ।
अत्यधिक वर्षाले डाँडाहरुमा पहिरो लागेको छ भने समथर ठाउँमा बाढी । बाढीले हजारौं रोपनी धान खेत पुरिएका छन् । अत्यधिक परेको वर्षासँगै बग्दै आएको माटोले धान खेत पुरिएका छन् । रुखविरुवासँगै माटो कटान भएको छ । बाढी, पहिरोले कयौंको बिचल्ली भएको छ । वर्षाले बित्यास पारेको छ ।
नगरपालिका क्षेत्र भएर बग्ने मनोहरा खोला, खस्यांग खुसुंग खोला, रातोपाटी खोला, महादेव खोला, घट्टे खोला, चिम्सि खोला, दोर्खु खोला, तब्याखुसी खोलाहरुमा पानीको सतह बढ्दै गएको छ ।
वर्षा सुरु भएसँगै नगरापालिकाले विपद्को क्षति कम गर्न र सम्भावित विपद्को जोखिम हटाउनका लागि प्लाष्टिक बोरा र त्रिपाल वितरण गरेको छ । राहत स्वरुप नगरपालिकाले भदौ ४ गतेसम्म ५९५ रोल प्लाष्टिक, १३७ वटा त्रिपाल र ३ हजार ६५९ वटा बोरा वितरण गरेको छ । नगरपालिकाको विपद् शाखाका अनुसार हालसम्म ३३० परिवार बाढी, पहिरो, भूक्षयलगायतका विपद्का घटनाबाट प्रभावित भएका छन् । पुरा समाचार चाँगुपत्रमा पढ्न सक्नुहुनेछ ।