भक्तपुर । भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर जिल्ला अदालत नयाँ भवनमा सरेको छ । जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सरेको हो ।
ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भएको जिल्ला अदालत भवन निर्माणको काम सकिएसँगै सो भवनबाट सेवा प्रदान गर्ने गरी अदालत सरेको हो । नव निर्मित भवनमा चार वटा लिफ्टसहित सात तल्लाको रहेको छ । अन्डरग्राउन्डको दुई तलामा पार्किङ, पहिलो तलामा सेवाग्राहीको लागि ५० कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तलामा न्यायाधीश तथा कर्मचारीहरुको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने गरी निर्माण गरिएको छ ।
भवनमा कूल दुई सय ४२ वटा कोठा रहेका छन् । त्यसमा १४ वटा इजलास कक्ष, ७० जना क्षमताको तालिम कक्ष र दुई सय ५० जना क्षमताका हलसमेत रहेको छ । अदालतले भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।
भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीले लिएको थियो । भवन एक अर्ब ३६ करोड ६७ लाख ९० हजार चार सय ८२ रुपैयाँ बजेटमा निर्माण भएको थियो ।
२०७७ माघमा भएको भवनको शिलान्याससँगै निर्माणको सम्पूर्ण काम सकिएपछि दसैँपछि अदालतले नयाँ भवनबाट सेवा दिने गरी सर्ने भएको अदालते जनाएको छ । अदालतले सूचना निकाल्दै आगामी दसैँ बिदा पछाडि नयाँ भवनबाट सेवा प्रदान गरिने जनाएको छ ।
अदालतले हाल दसैँ बिदाको सेवा पनि नयाँ भवन बाट नै दिने भएको छ ।