BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राष्ट्रिय समाचार शिक्षा समाचार सुर्यविनायक नगरपालिका

पदमबहादुर बुढाथोकी प्रतिभा सम्मान वितरण

भक्तपुर। भक्तपुरमा पदमबहादुर प्रतिभा सम्मान तथा पदक वितरण गरिएको छ । वि.सं.१९६१ मा जन्मेर वि.सं.२०५१ मा देह त्याग गरेका बुढाथोकीको स्मृतिमा स्थापित ‘पदमबहादुर बुढाथोकी प्रतिभा कोष’ ले सो सम्मान तथा पदक वितरण गरेको हो ।
नेपाली किसान आन्दोलनका अग्रणी नेता एवम् शैक्षिक जागरणका अभियन्ता स्व. पदमबहादुर बुढाथोकीको स्मृतिमा सो कोष स्थापना गरिएको थियो ।

उक्त कोष तथा दधिकोटको रेन्बो ईङ्लिस स्कुल संयुक्त आयोजनामा हरेक वर्षको घटस्थापनाका दिन गरिदै आएको कार्यक्रमका बीच विभिन्न विद्यालयका विद्यार्थीहरु सम्मानित भएका छन् । उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले सम्मान गरेका थिए । सो सम्मानबाट सम्मानित हुनेहरुमा दधिकोटस्थित अरनिको माविका छात्र तथा छात्रा सलिना कोजुॅ र गौरब भण्डारी, मोर्डन स्कुलका छात्र सन्दीप सापकोटा, रेन्बो ईङ्लिस स्कुलकी छात्रा समृद्धि खड्का तथा महालक्ष्मी न पा ललितपुर लामाटारस्थित भ्याली पब्लिक स्कुलकी छात्रा दीक्षा बराल रहेका छन् । उनीहरुलाई प्रतिभा पदक, नगद तथा प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले निरासातिर गइहाल्नु पर्ने अवस्था नभएको स्मरण गराउँदै तुलनात्मक रूपमा पहिलेभन्दा उपलब्धि भएको र यस्ता उपलब्धिको जग पदमबहादुरजस्तै व्यक्तित्वको योगदान भएको बताए । उनले शिक्षकले निराशा नसिकाउन पनि आग्रह गरे ।

प्राज्ञ बनेपालीले पनि हरेक कुरासित श्रम जोडिने भएकोले श्रमको महत्वमाथि चर्चा गर्दैै शिक्षक तथा अभिभावकले आफ्ना विद्यार्थी र छोराछोरीलाई श्रम सिकाउनै पर्नेमा जोड दिए ।

कार्यक्रममा नेता लेखनाथ न्यौपानेले पदमबहादुरको व्यक्तित्व र सङ्घर्षलाई स्मरण गरेका थिए भने पूर्व प्रअ प्रेमबहादुर खड्काले पदमबहादुर आदरणीय व्यक्तित्व भएको हुनाले उनको सङ्घर्ष र योगदानलाई चिरस्थायी राख्न कोषले पुस्तक वा स्मृतिग्रन्थ प्रकाशित गर्नुपर्ने सुझाव राखे ।

रेन्बो ईङ्लिस स्कुलका प्रिन्सिपल विनोद काफ्लेले पनि पदमबहादुरजस्तो सम्मानित र आदरणीय व्यक्तित्वको नाममा राखिएको पुरस्कारसितको पदकसँग जोडिन पाउँदा अत्यन्तै गौरवान्वित भएको बताए । कार्यक्रममा कोषका सदस्य सचिव ई रामबहादुर श्रेष्ठले कोषको प्रतिवेदन प्रस्तुत गर्नुका साथै उपाध्यक्ष मिलन थापा, सुवासचन्द्र ढुङ्गेल लगायतले पनि आफ्ना भनाइहरू राखेका थिए ।

कोषका अध्यक्ष नातिबाबु बुढाथोकीका अनुसार पदमबहादुर बुढाथोकीले बिजारोपण गरेको साविकका चार गाविस हाल सूर्यविनायक नपा(वडा नं १ र ४ भक्तपुर तथा महालक्ष्मी नपा वडा नं ८ र ९ ललितपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृषष्ट नतिजा ल्याउने विद्यार्थीलाई विगत २९ वर्षदेखि प्रत्येक वर्ष घटस्थापनाको दिन पदमबहादुर पदक तथा सम्मान सुशोभन कार्यक्रम आयोजना गर्ने गरिएको छ।

कार्यक्रममा समाजसेवी हेमन्त कार्की, गीतकार सुवासचन्द्र ढुङ्गेल, स्थानीय बुध्दिजीवि बाबुशरण श्रेष्ठ, हरिशरण श्रेष्ठ, जगतबहादुर खड्का, डा बालचन्द्र मिश्र, अरनिको माविका सहायक प्रधानाध्यापक जनक न्यौपाने, सुनपा २ वडाध्यक्ष प्रदीप कार्की लगायत स्थानीय, विद्यार्थी तथा तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा रेन्बो ईङ्लिस स्कुलका विद्यार्थीहरूको नाटक, नृत्य लगायतका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

थप ख़बर

सबको सहयोगमा बन्दैछ ‘नन्दलाल’को घर

भक्तपुर टाइम्स

सैनिक स्कूलका विद्यार्थी ५ दिनदेखि बेपत्ता

भक्तपुर टाइम्स

सरकार निजी विद्यालयलाई आत्महत्या गराउन उद्यत : नेशनल प्याब्सन

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy