भक्तपुर । भक्तपुरमा दुई दिनसम्म हुने साहित्य सम्मेलन प्रचारार्थ साइकल र्याली(यात्रा) हुने भएको छ ।
भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपालभाषा साहित्य तःमुँज्याको प्रचारार्थ साइकल र्याली हुने भएको हो ।
“जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका विगत ४२ वर्षदेखि नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । सोही कार्यक्रमको प्रचारार्थ असोज २७ गते शनिबार साइकल र्याली हुने आयोजकको भनाइ छ।
शनिबार बिहान ६ बजे हुने सो र्यालीमा सहभागी हुन असोज २५ गते सम्ममा नाम दर्ता गर्न आयोजकले अनुरोध समेत गरेको छ ।
४० किलोमिटरको सो र्यालीले भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्नेछ । जसअन्तर्गत भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, च्वङा गणेश, राधे राधे, शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल हुँदै पाटन ध्वाका, न्याखचुक लगायतका स्थानमा सम्मेलनको प्रचार गर्नेछ ।
त्यसैगरी न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन हुनेछ।
गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सले गर्ने र त्यसैगरी सहयोगी संस्था साइकल कनेक्ट भक्तपुर हुने तःमुंज्या ग्वसाखलले जनाएको छ ।