भक्तपुर । भक्तपुरमा औद्योगिक प्रशिक्षार्थी दिवस मनाइएको छ । भक्तपुरको च्याम्हासिंहस्थित वागीश्वरी मा.वि.मा सो दिवस मनाइएको हो । विद्यालयमा सञ्चालित टेक्स कार्यक्रम अन्तर्गतको नयाँ शैक्षिक कार्यक्रमको रुपमा रहेको उक्त कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो ।
वागीश्वरी माध्यमिक विद्यालयका पूर्व प्र.अ. एवम् टेक्स कार्यक्रमको स्थानीय कार्यक्रम कार्यन्वयन समितिका सदस्य मोहनप्रसाद प्रजापतिले उद्घाटन गर्दै मेहनत र लगनले मात्रै सफलता पाउने हुदाँ नयाँ प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।
वागीश्वरी माध्यमिक विद्यालय प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले सस्तो बेसारले पखाला लाग्छ भने झै सतही ज्ञानले उद्देश्य पुरा नहुने बताए ।
उक्त कार्यक्रममा इन्स्योर संस्थाका प्राविधिक सहयोगीे रक्षा आचार्यले २४ महिने अप्रेन्टिन्सीपको पढाइबारे प्रकाश पारिन् ।साथै उक्त औद्योगिक दिवसका सभापति एवं वागीश्वरी मा.वि. का प्र.अ. कृष्णप्रसाद धन्छाले टेक्स कार्यक्रमको शुरुवातदेखि नै विभिन्न निर्माण सम्बन्धि उद्योगहरुले ओजेटी एवं फिल्ड भिजिटमा साथ सहयोग दिएजस्तै २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिमका लागि पनि सहयोग पाउने विश्वास व्यक्त गरे ।
बागमती प्रदेश परिसंघका प्रतिनिधि रमेश थापा, भक्तपुर निर्माण व्यवसायी संघका कार्यालय प्रमुख हरिशरण न्यौपाने, नेपाल इको प्यानलका कृष्णभक्त दुवाल, नेपाल इको प्यानलका प्रतिनिधि, डेशेमरु कन्स्ट्रक्सनका प्रतिनिधिहरुले पनि सो अवसरमा आ आफ्नो धारणा राखेका थिए ।