गुन्हीपुन्ही भक्तपुरमा बिस्का जात्रापछिको ठूलो जात्रा हो । यस अवधिमा भक्तपुरका हजारौं जनता नाच्छन्, गाउँछन् र बाजा बजाउँछन् । सयौं वर्षदेखि चल्दै आएको हाम्रो परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले प्रयास गर्दैछ । गुन्हीपुन्हीमा प्रस्तुत भएका घिन्ताङघिसी, अन्य परम्परागत र आधुनिक विधाका संस्कृतिहरूको अलग अलग मूल्यांकन गरी उचित पुरस्कारको व्यवस्था गरेका छौं । संस्कृतिको संरक्षण, संवद्र्धन गर्दै थप व्यवस्थित गर्ने र जीवन्त राख्ने हाम्रो प्रयास हो ।
भक्तपुर देशकै सानो नगरमध्येको एक हो । कला संस्कृति संरक्षण, ऐतिहासिक, सांस्कृतिक महत्वको दृष्टिले यो देशकै महत्वपूर्ण नगर हो । त्यसैले कतिपय विद्धानहरूले भक्तपुरलाई सांस्कृतिक नगर, कला—संस्कृति संरक्षित क्षेत्र, नाचगानको राजधानी, खुल्ला विश्वविद्यालयको उपमा दिनुभएको छ । यस्तो महत्वपूर्ण शहरको संरक्षणको जिम्मेवारी अहिले हाम्रो काँधमा छ । हामी हाम्रा अग्रजहरूले गर्नुभएका कामलाई निरन्तरता दिँदै समयअनुसार नयाँ नयाँ अध्ययन, अनुसन्धान र उत्खनन् कार्यहरू गर्दैछौं र भक्तपुरलाई समृद्ध बनाउने कार्यमा निरन्तर लाग्दैछौं ।
सयौं वर्ष पुराना हाम्रा सम्पदाहरू ५५ झ्याल, लुँ ध्वाका, ङातापोल्हँ, दत्तात्रय मन्दिर भक्तपुरका कलाकारिताका दृष्टिले अनुपम नमुनाहरू हुन् । हामी ती मठ—मन्दिर, देवालय—सिवालय, पाटी पौवा, ढुंगेधारा, पोखरी निर्माण गर्ने पूर्खाका सन्तति हौं । समयसँगै हामीले २ वटा इन्जिनियरिङ कलेजहरू सहित विभिन्न कलेजहरू खोलेर देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्दैछौं । इन्जिनियरिङ कलेजबाट उत्पादित इन्जिनियर र आर्किटेक्टहरूले हाम्रो देशको कला संस्कृति संरक्षणमा निकै महत्वपूर्ण योगदान गरिरहेका छन् ।
भक्तपुरको पुरानो सहर आफै एउटा सम्पदा सहर हो । २०७२ सालको भूकम्पले धेरै धनजनको क्षति ग¥यो । स्थानीय प्राविधिक, डकर्मी, सिकर्मी र स्थानीय जनताको सहयोगमा हाम्रा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार कार्यलाई अगाडि बढायौं । पहिलो कार्यकालामा १२४ वटा र हालसम्मको अवधिमा कुल १३५ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न ग¥यौं । करिब दुई दर्जन सम्पदाहरु हाल निर्माणाधीन अवस्थामा छन् । विदेशीको सहयोगविना स्थानीय जनताको साथ र सहयोगमा यति धेरै सम्पदाहरू निर्माण हुनु हामी सबै भक्तपुरबासीको लागि खुशीको कुरा हो ।
भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदैछ । विगतमा हाम्रा अग्रजहरूले सुरु गर्नुभएको पर्यटन शुल्क आज हाम्रो आत्मनिर्भरताको आधार बन्दैछ । गत आ.व. २०७९।८० मा १ लाख ६७ हजार भन्दा बढी विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गरे । त्यसबाट १८ करोड ४० लाखभन्दा बढी राजश्व संकलन भयो । त्यो रकम मूर्त र अमूर्त सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र विकास निर्माणमा खर्च गर्दैछौं । सन् २०२० र २०२१ दुई वर्ष कोरोना महामारीको कारण पर्यटक ठप्प भयो । भक्तपुर नपामा आर्थिक संकट उत्पन्न भयो । त्यतिबेला हामीले जनताबीच जाने निर्णय ग¥यौं र विकास निर्माणभन्दा जनताको जीवन बचाउने कामलाई प्राथमिकतामा राख्यौं । जनतासँग सहयोग लिएर अक्सिजन प्लान्ट स्थापना ग¥यौं । जनताको साथ र सहयोगमा स्थापित अक्सिजन प्लान्टबाट आजसम्म सारा नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरण गर्दैछौं र रगत पनि निःशुल्क वितरण गरिरहेका छौं । जनताको सहयोगले नै नगरपालिका आजको अवस्थासम्म आइपुग्न सम्भव भएको हो । जनता र जनप्रतिनिधिको यो मजबुत एकतालाई थप दरिलो बनाउँदै लानेतर्फ हामीले ध्यान दिइरहेका छौं ।
आज भक्तपुरका सांस्कृतिक गुरुहरूको पनि सम्मान गर्दैछौं । भक्तपुरको कला र संस्कृतिलाई जीवन्त राख्न अनवरत योगदान गर्ने हाम्रा सांस्कृतिक गुरुहरू हाम्रा सांस्कृतिक क्षेत्रका आदर्श व्यक्तित्वहरु हुन् । उहाँहरूले विना पारिश्रमिक निरन्तर सेवाको भावनाले नयाँ पुस्तालाई प्रशिक्षण दिनुभयो । आफूसँग भएको सांस्कृतिक ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुभयो । नयाँ पुस्ताले पनि उहाँहरूबाट सेवाको भावनाबाट शिक्षा लिँदै अगाडि बढ्ने आशा गर्छौं । हामी परम्परागत सांस्कृतिक विधालाई व्यवसायीकरण गर्नेतर्फ पनि ध्यान दिँदैछौं ।
नयाँ पुस्तालाई कला—संस्कृतिको महत्व बुझाउन स्थानीय पाठ्यक्रममा समावेश गरी दिएका छौं । यसबाट नयाँ पुस्ता भक्तपुरका सांस्कृतिक गतिविधिहरूबारे परिचित हुँदैछन् । शिक्षा, स्वास्थ्य, सम्पदा र सांस्कृतिक गतिविधिहरू अध्ययन अवलोकनका लागि अहिले देशका विभिन्न ठाउँबाट जनप्रतिनिधिहरू र पर्यटकहरू आउनुहुन्छ । आन्तरिक र बाह्य पर्यटकहरू आकर्षणको केन्द्र बन्दै भक्तपुर अगाडि बढ्दैछ ।
(भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४४ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०८० मा प्रदर्शन भएका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरुलाई सम्मान कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)