भक्तपुर । मध्यपुर थिमिमा लायन्स क्लबले सम्पदा पदयात्रा गर्ने भएको छ । भक्तपुर जिल्लाभित्र सक्रिय लायन्स क्लबहरुले विश्व मुटु दिवसको अवसरमा सो पदयात्रा गर्ने भएका हुन् ।
पदयात्रा असोज १३ गते शनिबार अर्थात् भोलि विहान गर्ने तयारीमा लागेको लायन्स क्लब अफ भक्तपुर मेरिगोल्डका प्रेसिडेन्ट उद्धव सिलवालले जानकारी दिए ।
“मुटुको प्रयोग गर्नुहोस् मुटुको बारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ ऐतिहासिक तथा सांस्कृतिक नगरी मध्यपुर थिमि नगर क्षेत्रभित्रका विभिन्न सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक महत्वका सम्पदा स्थलहरुको अवलोकन गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन सो पदयात्राको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
पदयात्रामा लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वर लगायतको सहभागिता रहने छ ।
पदयात्रा शंखधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाखेल, पाटी विहार, सिद्धि काली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, तिगनी, बोडे, कमलपोखरी हुँदै बोडेको बालकुमारी मन्दिर परिसरमा पुगेर सकिनेछ । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रमको पनि प्रदर्शनी रहने आयोजकले जनाएको छ ।
पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट सम्पदाको ऐतिहासिक जानकारी प्रदान गरिनुका साथै सांस्कृतिक झाँकी, नृत्य र नेवारी भोजको समेत व्यवस्था गरिएको छ।