भक्तपुर । भक्तपुरको ताथलीमा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । चागुनारायण नगरपालिका ९ नालाछाप ताथलीमा आगामी असोज ११ गतेदेखि सञ्चालन हुन लागेको धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम् ऐतिहासिक श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० लाई केन्द्रित गरेर प्रचारप्रचार तथा अन्य कार्यलाई तीब्र रुपमा अगाडि बढाइएको छ ।
महायज्ञ आयोजक समितिले महायज्ञ सञ्चालन लागि आवश्यक कथा मण्डप, तन्डुलादनको लागी स्थल निर्माण गर्ने कार्यहरु निकै आकर्षण ढंगबाट निर्माण गरिएको जनाएको छ । त्यस्तै हवन कुण्ड र सालिकग्राम निर्माणको कार्य पनि अगाडि बढाइएको छ ।
महायज्ञकै तयारीस्वरुप अहिले ताथलीको खर्कपुलदेखि ढुंगेन(हल्थपोष्ट) सडक खण्ड ध्वजापताकाले भव्य बनाइएको छ । महायज्ञ स्थललाई बेहुलीझैं सिंगारिएको छ ।
जेष्ठ नागरिक आश्रम, बृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठनागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र, निःशुल्क एम्बुलेन्स सेवा तथा अन्य मठमन्दिर निर्माण गर्नको लागि १७ दिन महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त महायज्ञलाई सफल बनाउन असोज ६ गते बिहान बृहत मोटरसाइकल य्राली तथा ११ गते बिहान विशाल कलश यात्राको कार्यक्रम तय गरिएको छ ।
महायज्ञ अवधिभर प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय र उमा महेश्वरीबाट विशेष श्रीमदभागवतका कथा प्रवचन रहने छन् । त्यस्तै कार्यक्रममा पितृ उद्धारको लागी पितृको फोटो राख्ने, करोड दिप प्रज्ज्वलन गरिने, १ हजार ८ शान्ति कलश पुजन गर्ने, महाआरती लगायतका कार्यक्रमहरु पनि तय गरिएका छन् ।