भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमले १ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
तीजको दर खाने कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी सो आश्रमले ७० वर्ष नाघेका एकसय बढी बाआमालाई सम्मान गरेको हो ।
उनीहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गर्दै धर्म परम्परा रीति थिति एवं परम्पराको रक्षा हामी आफैंले गर्नुपर्ने बताए ।
उनले हाम्रो कला संस्कृति मासिने अवस्थामा पुगेकोमा चिन्ता जनाउँदै त्यसको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले हाम्रो धर्म संस्कृति नजोगाउने हो भने अन्य विस्तारवादीहरूले हाम्रो धर्म संस्कृति परम्परा एवं संस्कार मेटाउन लाग्ने छन्’ ।
उनले आश्रमले घरबार विहीन ज्येष्ठ नागरिकलाई राख्ने काम गरेको काम सराहनीय भएको बताउँदै अवका दिनमा आश्रमले ताथलीका ज्येष्ठ नागरिकका लागि दिवामा भजन कीर्तन गर्ने एवं भलाकुसारी गर्न ज्येष्ठ नागरिक मिलन चौतारी समेत बनाउन आग्रह गरे ।
दर विशेष कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आश्रमका संस्थापक एवं कार्यक्रमका सभापति बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले तीज केवल केही सीमित नारीहरूको मात्र नभई सम्पूर्ण नेपालीको पर्व भएको उनले बताए ।
यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर कटुन्जेका अध्यक्ष एवं समाजसेवी धर्मराज कार्कीले नेपाली पहिचानको संस्कार जोगाउन जोड दिएका थिए ।
ज्येष्ठ नागरिकको सेवाका लागि छोरीको घर आश्रमले आगामी ११ गतेदेखि भक्तपुर चाँगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट पितृ मुक्ति जान महायज्ञ गर्न लागेको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा दुई दर्जन भन्दा बढी गुरुहरूलाई पनि सम्मान गरिएको थियो ।