BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
विचार शिक्षा समाचार

‘संघीय शिक्षा ऐन’ ले ल्याएको कम्पन

संघीयताको विशिष्ट पक्ष भनेको बलियो र अधिकार सम्पन्न स्थानीय सरकार हो । राज्य संरचनाका स्वरुपहरु आ–आफ्नै विशेष र खास विशेषतायुक्त हुन्छन् । अधिकारको बाँडफाँडका मोडेल सैद्घान्तिक सौन्दर्यका आधारमा मात्र गरिनु हुँदैन । अधिकार सम्पन्न बनाइनु सिद्घान्ततः गलत होइन तर यसका कार्यान्वयनका व्यावहारिक कठिनाइहरु, चुनौतिहरु र जनताका सामाजिक, सांस्कृतिक धरातलीय मनोविज्ञानलाई समेत केन्द्रविन्दुमा राखी विवेक प्रयोग गर्न जरुरी हुन्छ । नेपालजस्तो बहुभाषिक, बहु–सांस्कृतिक र बहुजातीय समाजका लागि संघीयता अनिर्वाय हो भन्दै गर्दा सामाजिक मनोविज्ञान र सांस्कृतिक व्यवहारहरुलाई समेत ध्यानमा राखी अधिकारको वितरण हुनु आवश्यक छ । नेपालमा संघीय व्यवस्थाको आवश्यकता, औचित्य र आधारहरु स्पष्ट रहँदा रहँदै पनि यसको मोडेल तयार गर्दा निश्पक्ष हुन नसकेको, पूर्वाग्रह रहित बन्न नसकेको, नश्लीय चिन्तनबाट मुक्त हुन नसकेको र परम्परागत राज्यसत्ता र सामाजिक सर्वसत्तावादको चिन्तनबाट मुक्त हुन नसकेकोले राजनीतिक व्यवस्थामा जति हेरफेर भएपनि परिवर्तनको अनुभूति पिँधमा रहेका जनताले गर्न बाँकी रहेको यदाकदा त्यसै सुनिएको हैन । नेपाली जनताका लागि संघीयता र गणतन्त्र नयाँ व्यवस्था हो । यो अभ्यासकै चरणमा रहेकाले यसलाई गुण र दोषको आधारमा समीक्षा गरी अघि बढ्न समेत आवश्यक छ । नेपालमा नयाँ संविधानको कार्यान्वयन, गणतन्त्र र संघीयताको अभ्यास सबै नयाँ भएकाले यसमा ‘कैफियत’ देखिनुलाई अस्वाभाविक मान्नु हुन्न । यी ‘कैफियत’हरु क्रमशः घटाउन र कालान्तरमा हटाउन जनता, जनप्रतिनिधि र सरोकारवाला सक्रिय हुन जरुरी भइसकेको आभाष गर्न थालिएको छ र आवाज समेत मुखरित हुन थालेको छ । संसदमा विभिन्न विषय र क्षेत्रका कानून वा ऐन बनाउँदा व्यापक बहस र छलफल हुनपर्छ । गुण, दोष र सम्भावनाका आधारमा व्यापक अन्तरक्रियापछि मात्र कुनै पनि विधेयक पास गर्नुपर्छ ।

सन्दर्भ, प्रस्तावित संघीय शिक्षा ऐन र ऐनमा स्थानीय सरकारको अधिकारको विषय हो । मन्त्रिपरिषद्बाट संसद्मा छलफलका लागि प्रस्तुत गर्ने गरी अघि बढेको शिक्षा ऐनमा व्यवस्था गरिएको विभिन्न बुँदाहरुले शिक्षा क्षेत्रमा व्यापक तरङ्ग सिर्जना भएको छ । यस विषयमा अहिले विभिन्न पक्षहरुले ‘असन्तोष’ को श्वर अभिव्यक्त गर्दै ‘असहमति’ समेत जनाउँदै आआफ्नो तरिका, विधि र शैलीले त्यसको विरोध समेत गर्न थालेका दृष्यहरु देखिन थालेका छन् ।

डा. राजेन्द्र कोजू
ख्वप विश्वविद्यालयको लागि लगाएको नाराले मूर्त रुप लिन सकेको छैन । यसबाट ‘सक्नेले सक्ने ठाउँमा गर्ने’ रहेछ भन्ने अनुभूति सबैले गरेका छन् । भक्तपुरमा स्थानीय शासक दलले पनि गरेकै छ र केन्द्रमा पनि शासक दलले त्यस्तै व्यवहार देखाइरहेको छ । सारमा सरकारको चरित्र एउटै हुने रहेछ भन्ने अनभुव भक्तपुरका धेरैले गरिरहेका छन् ।

व्यवस्था एउटा अवस्था अर्कै
नेपालको संविधान २०७२ ले पूर्व प्रा.वि. तहदेखि कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकार अन्तर्गत महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका पर्दछन् । झट्ट हेर्दा स्थानीय सरकार अधिकार सम्पन्न हुनु सुन्दर पक्ष नै हो । तर संविधान र ऐन कानून ‘सौन्दर्यको लेपको दृष्य’ र ‘कानलाई आनन्द दिने वाद’ले चल्ने होइन । अधिकार पाउनु राम्रो हो तर अधिकारको प्रयोग गर्ने क्षमता, योग्यता, दक्षता र विवेक भएका व्यक्ति हुन पनि जरुरी छ । नत्र ‘बाँदरको हातमा नरिवल’ का साथै ‘माल पाएर पनि चाल नपाएको’ स्थिति आउने सम्भावना उत्तिक्कै रहन्छ । अझ, त्यो अधिकार ‘भष्मासुरलाई वरदान’ भैदियो भने के गर्ने ? के त्यो अधिकार घातक हुन्न ? आवेग, पूर्वाग्रह र बदलाका आधारमा निर्णय गर्ने मानवीय प्रवृत्तिका मानिसहरुको झुण्डले यदि सरकारको नेतृत्व गर्ने चुनावी परिणामको मौका पायो भयो यसले खतरनाक अवस्था सिर्जना गर्नसक्छ । अधिकार प्रयोग गर्ने व्यक्ति योग्य, सक्षम, विवेकी र उचित क्षमताको हुनुपर्ने हुन्छ । तसर्थ, चुनावमा भाग लिने उम्मेदवारको योग्यता निश्चित गरिएको हुनैपर्छ । त्यसो भएन भने अधिकारको पूर्ण उपयोगमात्र हैन, दुरुपयोग समेत हुने सम्भावना रहन्छ । शैक्षिक योग्यता लगायत अन्य विशिष्ट अनुभवका कुरा उल्लेख गरी कार्यान्वयनमा लग्न सके यसले थप सुन्दरता वृद्धि गर्न सक्छ । अहिलेको अभ्यास अनुसार वडा अध्यक्ष, गाउँपालिका प्रमुख र नगरपालिका तथा महानगरपालिकाको प्रमुखको योग्यता, क्षमता र अनुभवको कहिँ उल्लेख गरेको पाइँदैन । यसो हुँदा ‘अयोग्य व्यक्ति’बाट शासित हुनुपर्ने अवस्था बनेकोप्रति केही व्यक्ति, समूहरुहरुको आफ्नै गुनासो छ । यसकारण राम्रो भित्रको नराम्रो, असल भित्रको खराब, गुण भित्रको दुर्गुण खोज्नु संघीय व्यवस्थाप्रति औंला ठड्याउने अवस्थाका द्योतक सावित भइरहेका छन् ।

स्थानीय सरकारद्वारा सिर्जित शङ्का
शिक्षा क्षेत्रमा पालिकाले गरेका हालसम्मको ‘केही अभ्यास’ हेर्दा केही ‘शंका र केही सम्भावना’ जरुर उठ्न सक्छ । पछिल्लो प्रस्तावित ऐनमा शिक्षकलाई वर्खास्त गर्ने अधिकार समेत स्थानीयलाई दिने वुंदा परेको छ । राजनीतिक आग्रह–पूर्वाग्रहको थिलथिलोबाट माथि उठ्न नसकेको ‘राजनीतिक पीडित समाज’ का लागि यो वुंदाले गम्भीर खतरा निम्त्याउने निश्चिततालाई आफूसँगै ल्याएको छ । प्रत्येक निर्वाचनमा र निर्वाचित नयाँ जनप्रतिनिधि आउनासाथ शिक्षकहरु आतंङ्कित हुनुपर्ने अहिलेको अवस्थालाई थप मलजल गर्न यसले प्रशस्त वातावरण पाउन सक्छ । आतङ्कको वातावरणमा र तनावमा शिक्षकले दिने शिक्षा कस्तो होला ? यसैले राम्रो, गुणस्तरीय शिक्षाका लागि सर्वप्रथम शिक्षक खुसी रहन जरुरी छ । शिक्षक खुसी भए मात्र असल शिक्षा असल तरिकाले दिन सक्ने अवस्था हुन्छ । नेपालको राजनीतिमा उन्नत खालको अभ्यास र संस्कार अझै कायम भएको छैन । त्यसैले प्रस्तावित ऐनको प्रावधानमा धेरै पक्षका सरोकारवालाहरुको असहमति मुखरित भएका हुन् । नियुक्ति र वर्खास्तमा स्थानीय सरकारको पूर्ण अधिकारले ल्याउने स्थिति के होला ? के यो समग्र शिक्षाका लागि सुखद् हुन सक्छ ? शंका गर्ने ठाउँ धेरै रहेका छन् ।

संघीय शिक्षाले निम्तिएको कम्पन
ऐन आउनु भन्दा अगाडि नै अभ्यासमा ल्याइएको कक्षा ११ र १२ को अनुमति सम्बन्धि व्यवस्थामा समेत स्थानीय पालिकाहरु निश्पक्ष हुन नसकेको थुप्रै उदाहरणहरु अद्यापि छन् । एउटै राजनीतिक दलको बहुमत भएका ठाउँहरुमा कक्षा ११ र १२ संचालन गर्न विद्यालय सबै हिसाबले सक्षम रहँदा रहँदै पनि राजनीतिक पूर्वाग्रहकै आधारमा प्रतिशोधपूर्ण सोचले अनुमति नदिइएको गुनासाहरु प्रशस्त छन् । यसकारण स्थानीय पालिकालाई अधिकार सम्पन्न गराउने नाममा आउन सक्ने यस्ता विविध परिस्थितिको समेत आंकलन गरी नीति नियम बनाउन जरुरी देखिन्छ । बजेटकै वाँडफाँडको सन्दर्भमा पनि पक्षपातपूर्ण रहेको र कुनै विधि विधान नबनाई बहुमतकै आधारमा वितरण गर्दा अल्पमत र अल्पसंख्यक पार्टीमा आस्था राख्ने मानिसहरु अन्यायमा पर्ने गरेका छन् । पार्टीभन्दा माथि जनता हुन्छन् र फरक मत राख्ने पनि जनता नै हुन् भन्ने सोच नभएका जनप्रतिनीधिहरुको पिल्साइमा अहिले पनि कुनै दलको झण्डामुनि ओत नलाग्ने जनताहरु छन् । अझ फरक मत र विचारप्रति आस्थावान् जनताप्रतिको व्यवहार त कहालीलाग्दो छ ।
आफूभन्दा फरक विचार राख्ने शिक्षकहरुलाई बढुवा नगर्ने, भौगोलिक हिसाबले विकट ठाउँमा सरुवा गर्ने, सामाजिक र सांस्कृतिक रुपमै क्रमशः बहिष्कार गर्ने लगायतका कार्य गरी दुःख दिने समेत दिनसक्ने भएकोले अन्तिम अधिकार स्थानीय सरकारलाई दिन मिल्छ कि मिल्दैन ? बहस जरुरी छ । त्यसो त, फरक दल र आस्थालाई असहयोग गर्ने परम्पराबाट प्रदेश र संघीय सरकार पनि अछुत छैन । फलतः ख्वप विश्वविद्यालयको लागि लगाएको नाराले मूर्त रुप लिन सकेको छैन । यसबाट ‘सक्नेले सक्ने ठाउँमा गर्ने’ रहेछ भन्ने अनुभूति सबैले गरेका छन् । भक्तपुरमा स्थानीय शासक दलले पनि गरेकै छ र केन्द्रमा पनि शासक दलले त्यस्तै व्यवहार देखाइरहेको छ । सारमा सरकारको चरित्र एउटै हुने रहेछ भन्ने अनभुव भक्तपुरका धेरैले गरिरहेका छन् । स्थानीय सरकार होस् वा संघीय सरकार उस्तै उस्तै नै रहेछ । यी दुबै अतिवादका नमूना हुन्। तसर्थ, ऐन नियम बनाउँदा न्यायपालिका र विधायिका सचेत हुनैपर्छ ।

(यो लेखकको निजी विचार हो । सं.)
शिक्षासेवी तथा कवि डा. कोजू रोम्बस नेशनल स्कुलका प्रिन्सिपल हुन् । उनी समसामयिक विषयमा कलम चलाउन रुचि राख्छन् ।

थप ख़बर

उत्तर कोरियाको सिद्धान्त लागू गर्नुपर्ने: नेमकिपा

भक्तपुर टाइम्स

भक्तपुरको अक्सफोर्ड स्कुलमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

भक्तपुर टाइम्स

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरका प्रदिप मल्ल ठकुरी पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy