भक्तपुर । चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो नगरपालिका बनेको छ । देशभरका ७५३ वटा पालिकामध्ये भक्तपुरको चाँगुनारायण नगरपालिका उक्त योजना निर्माण गर्ने पहिलो नगरपालिका बनेको हो ।
नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बढ्दो वायु प्रदूषण र त्यसले पारेको असर न्यूनीकरणका लागि नगरपालिकाले उक्त कार्ययोजना बनाएको जानकारी दिँदै कार्ययोजनामा उल्लेख भएका योजनाहरूलाई व्यवहारमा उतार्न सकेमात्र नगरपालिकालाई प्रदूषणमुक्त बनाउन सकिने बताए ।
त्यसका लागि नगरपालिकाका सबै पक्षले त्यसको कार्यान्वयनका लागि इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना छलफल तथा प्रमाणिकरण कार्यशाला गोष्ठीमा सहभागीहरुले स्वच्छ हावा प्रवर्द्धनका लागि योजना निर्माण गरी नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिनु पालिकाको नमूना काम भएको प्रतिक्रिया दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले २०७९ साल पौष २४ गतेको १६ औं कार्यपालिकाको बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताउँदै त्यसका लागि ५ सदस्यीय समिति गठन गरेको बताए । सोही समितिले वास योजना बनाउने पहिलो नगरपालिका बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
वास संयोजक सुरेन्द्र लामिछानेले उक्त योजना काठमाडौं उपत्यका वायु गुणस्तर मापदण्ड २०७६ अनुसार पालिकाले योजना निर्माण गरेको जानकारी दिए । गोष्ठीमा वातावरण संस्था (एन्फो)की विजया राजवैद्यले नगरपालिकामा ४५ प्रतिशत घरधुरीहरुले फोहोर व्यवस्थापनको लागी सदस्यता लिएको र ५५ प्रतिशत घरधुरीहरुले फोहोरमैला व्यवस्थापनको लागी सेवा प्रदायक संस्थाको सदस्यता लिन बाँकी रहेको बताउँदै अझ पनि प्रदूषणको विषयमा टोलटोलमा छलफल र अन्तरक्रिया सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
नगरपालिकाको उक्त योजनामा विद्यालय। सहकारी, संघसंस्था, कलकारखानालगायतले गर्नुपर्ने कामहरुको जिम्मेवारी निर्धारण गरिएको छ ।
पालिकाले नगरपालिका क्षेत्रमा बढ्दो शहरीकरणको कारण मोटर गाडीको संख्या दिनानुदिन बढ्दै गएकोमात्र नभई कृषि तथा पैदावारमा आधारित साना उद्योगहरू सञ्चालनमा रहेको जनाएको छ । योजनामा वायु प्रदूषणका कारणमा कृषि क्षेत्रमा व्यापक रुपमा रसायन, विषादीको बढ्दो प्रयोग, यातायात, फोहोरमैला, वन डढेलो तथा जथाभावी रुपमा फोहोर बाल्ने चलन आदि कारणले नगर क्षेत्रमा वायू प्रदुषण बढ्दै गएको जनाएको छ ।
पालिकामा वायु प्रदूषणका स्रोतहरुमा उद्योगहरु, मुख्यतया ईंटा उद्योग, प्लाइउड कारखाना, खुल्ला रुपमा फोहोर बाल्ने चलन, सवारी साधनबाट उत्सर्जन हुने धुंवा, विगत धेरै वर्षदेखि निर्माणाधीन कच्ची सडक, शहरीकरण र अव्यवस्थित निर्माणबाट हुने फाहोर, कृषि उत्सर्जन र कृषिको लागि कीटनाशक विषादीको अत्याधिक प्रयोग, वन डढेलो, गाईवस्तुको लागि खाना तयार गर्न इन्धनको रूपमा काठको प्रयोग, अव्यवस्थित बंगुर र कुखुरा पालनबाट निस्कने दुर्गन्ध, ढलबाट निस्कने दुर्गन्ध रहेको औंल्याएको छ ।