BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
इतिहास समाचार समाज सुर्यविनायक नगरपालिका

सुवर्णेश्वर महादेव : इतिहास र किंवदन्ती

-हरिसुन्दर छुकां/ भक्तपुर । भक्तपुरका प्रमुख धार्मिक स्थलहरुमध्ये सुवर्णेश्वर महादेव मन्दिर पनि एक हो । यो मन्दिर साविकको कटुञ्जे गाउँ विकास समिति र हाल सूर्यविनायक नगरपालिका वडा नं. ५ मा पर्दछ । कटुञ्जेको उच्चभागमा रहेको यो महादेव मन्दिरको परिसर शान्त, सौम्य, मनमोहक, सुन्दरमात्र नभई विभिन्न बोटविरुवाका कारण विछट्टै अनुभव गराउने स्थानमा रहेको छ ।

यहाँको हरियाली, प्राकृतिक वातावरण र बहने हावाको आनन्द लोभलाग्दो छ । त्यसमाथि चराचुरुङ्गीको चिरबिर संगीतका साथ भक्तपुरको उत्तर, उत्तरपूर्व, पश्चिम, दक्षिण भेगसँगै काठमाडौं र ललितपुरका भागहरुको दृष्यावलोकन गर्न पाउने अवसर सो स्थानमा पुगेर मात्र गर्न सकिन्छ ।

सुवर्णेश्वर महादेवस्थान रमणिय डाँडोमा अवस्थित छ । यहाँबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । गुम्बजशैलीको मन्दिरको गर्भगृहमा प्रतिष्ठापित झण्डै साढे दुई फुट लाम्चो अनाकृत प्रस्तर लिङ्ग सुवर्णेश्वर महादेव नामले प्रसिद्ध छ । नेपाल लोक जीवनले यिनलाई ‘लुचु महा द्यः’ नामले पुकार्दै आएका छन् । मन्दिर क्षेत्रमा उमामहेश्वरको सुन्दर प्रस्तरमुर्ति अनि गणेश र नृत्यनाथका प्रतीक दुईवटा प्वालले युक्त ‘नासः द्यः’ यहाँ रहेका छन् ।(डा.पुरुषोत्तमलोचन श्रेष्ठ, अनन्तलिङ्गेश्वर(एक सांस्कृतिक अध्ययन),२०६४०)
सुवर्णेश्वर मन्दिरसँगै कटुञ्जेको ऐतिहासिकता पनि सँगै जोडिएर आउने गरेको छ । सत्ययुगमा सतीदेवीको पार्थिव शरीरलाई महादेवले बोक्दै पृथ्वी भ्रमण गर्दा सतीदेवीको अङ्ग पतन भई सोही ठाउँमा श्री सुवर्णेश्वर महादेव उत्पन्न भएको किम्वदन्ती पनि यदाकदा सुन्न पाइन्छ, तर सतीदेवीको कुन अंग पतन भएको भन्ने स्पष्ट उल्लेख कहिँ नभएको स्थानीयले स्वीकार गरेका छन् ।

तर, अध्येता पुष्पराज चालिसेको अप्रकाशित लघु अनुसन्धानात्मक लेखमा मन्दिरको विषयमा यसरी बयान गरिएको छ ; ‘पौराणिक धारणा अनुसार सतीदेवीको शिर पतन हुन गई त्यहाँ सुनको शिर भएका महादेवको उत्पति भएकोले यिनको नाम सुवर्णेश्वर रहन गएको हो ।(स्थानीय उपप्राध्यापक विष्णु लुइँटेल) ।’

यसका साथै उनले अगाडि लेखेका छन्, : ‘धेरै समय पहिले चोरहरुद्वारा यी महादेवको सुनको शिर काटेर लैजान लाग्दा यस डाँडोको फेदीमा पुग्दासाथ सो सुनको शिर पत्थरमा परिणत भयो र ती चोरहरुले सो पत्थर पुनः शिवलिंगकै शिरमा लगेर राखिदिए । त्यहाँ उप्रान्त सो शिरोभाग कहिल्यै सुन भएन ।’

यसका साथै सुवर्णेश्वर महादेवलाई खुशी पार्न कर्कट नाग आई पूजा–आराधना गरेको र महादेव खुशी भई वरदान दिएको भन्ने भनाइ पनि छ । वरदान प्राप्त गरेपछि ज्यादै खुशी भई कर्कट नाग लम्पसार परेर सुतेको र पछि सो शरीर ढुङ्गामा परिणत भएको भन्ने लोकोक्तिसमेत पाइन्छ । नागको आकारले एउटै ढुङ्गाले गाउँ बनेको हुँदा यहाँ दैवी प्रकोप तथा भुइँचालोले कुनै असर नपार्ने जनविश्वास छ । त्यस्तै, यहाँ पत्थरिलो पत्रे चट्टानले बनेको भूबनोटले खेती गर्न कठिन हुने भएकाले कठिन भन्दाभन्दै अपभ्रंश भई कटुञ्जे नाम रहेको किम्वदन्ती छ ।

स्थानीय एवम् मन्दिर व्यवस्थापन समितिका पदाधिकारी मुकुन्दप्रसाद लुइँटेलका अनुसार उक्त मन्दिर नेपाल संवत् ८९७ मा स्थापना भएको हो । उक्त विवरण मन्दिरको उत्तरी भागमा राखिएको शिलालेखले पनि बताउँछ । उक्त शिलालेख खासै पुरानो नभए पनि शिलालेखले उक्त मन्दिर स्थापनाको समय तोकेको छ ।

मन्दिरभित्र भने दुई वटा शिलालेखहरु पाइएका छन् । तिनीहरुको अध्ययन हुन जरुरी छ । उक्त मन्दिर स्थापनापछि मन्दिरको रेखदेखका लागि भनी २ रोपनी जग्गा राखिएको उनको भनाइ छ । नेपालभाषामा लुँचु महाद्यः अर्थात् सुनको धूलो नामबाट नामाकरण भई सुवर्णेश्वर रहन गएको यो मन्दिरबारे अलगै इतिहास भनाइ र किवंदन्ती समेत पाइन्छ ।

स्थानीयका अनुसार कुनै समयमा यो मन्दिरमा आएर दर्शन गरी कुनै धातु छुँदा सो धातु सुनमा परिणत हुने गरेको किंवदन्ती रहेको छ । यही आधारमा सुवर्णेश्वर रहन गएको मानिन्छ । यसका साथै कुनै एक अज्ञत समयमा यो ढुंगाभित्र मणि छ, उक्त मणि झिक्नुपर्यो भनी एक अज्ञात व्यक्तिले फुटाउँदा सो ढुंगा तीन टुक्रा भएको थियो । तीन टुक्रामध्ये एक टुक्रा सुवर्णेश्वरकै टुक्रा रहेको छ । उक्त टुक्रालाई पूजा गर्नु हुन्न मान्यताले अहिले उक्त टुक्रे ढुंगालाई तामाको मोलम्बा लगाइएको छ ।

सोही ढुंगाको एक टुक्रा गुल्टिएर मन्दिरको दक्षिणतिरको भागमा पुगेको कहावत छ । सोही आधारमा अहिले पनि कटुञ्जेमा मणिको डोल भन्ने स्थान छ । उक्त स्थानमा रहेको कुला मुनिको भागलाई मणिडोल र कुलो माथिको भागलाई मणिको टार समेत भन्ने गरिन्थ्यो । उक्त स्थानमा नीलो पानीको दह समेत रहेको थियो । उक्त दहमा सिक्का बजेको जस्तो आवाज आउने गरेको स्थानीय लुइँटेलको भनाइ छ । तर अहिले भने सो स्थानको मूल सुकेको कारण त्यो आवाज सुन्न नसकिएको उनको भनाइ छ ।

ऐतिहासिक प्रमाणको अभावमा यस मन्दिर क्षेत्रको प्राचीनताबारे यकिनसाथ उल्लेख गर्न नसकिने कुरा अध्येता चालिसेको स्वीकारोक्तिलाई अन्यथा लिनु हुन्न । यस विषयमा थप अध्ययन जरुरी छ । उनले भनेका छन्, ‘यी महादेवसँग सम्बद्ध विसं १९८९ को जीर्ण अभिलेख मन्दिर भित्र रहेको छ । जुन जीर्ण अभिलेख अनुसार उपर्युक्त मितिमा स्थानीय इलाकाका यथानामका दाताले चाँदी आदिका भाँडाकुँडा सहित खेत गुठी राखिदिएका थिए । केही वर्ष अघि यस मन्दिरको जिर्णोद्धारका वखत नेसं ७९७ उल्लेखित थुप्रै ईटाहरु यस लेखकले देखेको थियो । यस आधारमा यस मन्दिरको निर्माण सोही मितिमा भएको सोझो अन्दाज गर्न सकिन्छ ।’

भाषा बंशावलीले ६४ महालिङ्ग बाहेक नेपालमा अन्य २३२ उपलिङ्गहरु छन् भनी बयान गरेको छ । (लम्साल (२०२०) पृ. ८० । यस आधारमा यी महादेव पनि उपलिङ्गहरु मध्येका एक देखा पर्दछन् ।यस हिसाबले नेपालमा मूर्ति पूजाको कम चलिसक्दा पनि आर्यहरु मध्येका केही वर्ग तथा अनार्य जातीका कविलाहरु मन्दिरमा पाषाण खण्ड स्थापित गरी पूजाआजा चलाउँथे भन्ने कुरा (कोइराला, (२०४९) पृ. २७०) मा नै पुष्टि हुन आउँछ । संभवतः यो शिवलिङ्ग सोही परम्पराको प्रतिक रहेको हुनुपर्दछ । कलाकृतिका हिसावले सुवर्णेवर लिङ्ग प्राचीन उपलिङ्गहरुको गणनाभित्र पर्दछन् भने मध्यकाल यताका ईटाहरु लगायत अन्य पूर्व मध्यकाल यताका केही मूर्तिहरु यहाँ रहेका छन् । प्राचीनतम उपलिङ्ग र पूर्वमध्यकाल यताका अन्य पुरातात्विक महत्वका कलाकृतिहरु रहेका आधारमा यो प्राचीन शैव तीर्थ देखा पर्दछ ।

थप ख़बर

`याेजना अलपत्र पार्ने ठेकेदारलाई कालाेसूचीमा राख्छाै´: नगर प्रमुख खत्री

भक्तपुर टाइम्स

खानेपानी आयोजनाको अवलोकनमा आएका टोलीलाई सुडालवासीले गरे बाजागाजासहित स्वागत

भक्तपुर टाइम्स

बागेहिटी सहकारीको १५ औं साधारण सभा सम्पन्न : ताथलीमा पनि कार्यक्षेत्र बनाउने

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy