भक्तपुर । भक्तपुरमा रासायनिक मलमा कालाेबजारी गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेकाे अनुगमनको क्रममा अनुदानको मल (रु. १,१००/- पर्ने) लाई (रु.२,१००/-) मा बेचेको फेला परेकाे हाे ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले कमलविनायकमा बढी मूल्यमा रासायनिक मल बिक्री गरिरहेकाे भन्ने गाेप्य सूचनाका आधारमा अनुगमन गर्दा कमलविनायकस्थित एक पसलले बढी मूल्यमा मल बिक्री गरिरहेकाे बताए ।
उनका अनुसार कमविनायककाे एनबी मल पसलले भारतबाट अवैध तरिकाले ल्याएकाे रासायनिक मल बढी मूल्यमा बिक्री गरेकाे पाइएपछि र मलकाेबिल बिजक समेत देखाउन नसकेपछि पसलमा तालाबन्दी गरिएको छ । पसलकाे गाेदाममा राखिएको १२९ बाेरा मल प्रशासन कार्यालयबाट खटिएकाे टाेलीले नियन्त्रणमा लिएको छ ।
सहायक प्रजिअ निराैलाले साे विषयमा स्थानीय तहसँग समन्वय गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।