भक्तपुर । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा डेङ्गु रोगीको संख्या बढ्दो छ । स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका अनुसार जिल्लामा १६ जनामा डेङ्गु संक्रमण भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा भेटिएका छन् ।
कार्यालयका अनुसार भक्तपुर नगरपालिकामा मात्रै १२ जना संक्रमित छन् । सो तथ्यांक भनेको कूल संक्रमितमध्ये ७५ प्रतिशत संक्रमित भक्तपुर नगरपालिकाका रहेको भन्ने भएको कार्यालयले जनाएको छ । कार्यालयका एक अधिकारीका अनुसार गुच्चमुच्च बस्ती, घाम नछिर्ने गल्लीहरुका साथै भूकम्पपछि पूनर्निर्माण हुन नसकेको जीर्ण भवनमा पलाएको हरिया घाँसपात र झारले पनि भक्तपुरमा डेङ्गु फैलाउने लामखुट्टे उत्पादनमा सहयोग गरेको छ ।
भक्तपुरमा दिनानुदिन डेङ्गु संक्रमित बढ्न थालेपछि भक्तपुर नगरपालिकाले यसका लागि विशेष सचेतना कार्यक्रम समेत सुरु गरेको छ । नगरपालिकाले वडावडामा सचेतना अभियान सुरु गरेको छ ।
यो अभियान सुरु गर्दा पनि डेङ्गु संक्रमितको संख्या बढ्ने सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् ।
भक्तपुर नगरपालिकापछि मध्यपुरथिमि नगरपालिकामा तीन, सूर्यविनायक नगरपालिकामा १ जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ । चाँंगुनारायण नगरपालिका क्षेत्रमा हालसम्म कुनै पनि डेङ्गु संक्रमित नभेटिएको तथ्यांक रहेको कार्यालयले जनाएको छ ।