भक्तपुर । नगरकोटस्थित ऐतिहासिक एवं प्राचीन महादेव पोखरी र रत्नचुडेश्वर महादेव मन्दिरलाई धेरैले भक्तपुरकै गोसाइँकुण्डका रुपमा लिन्छन् ।
रसुवाको गोसाइँकुण्डको पानी भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटको महादेव पोखरीसँगैको कुण्डमा आउने गरेको किंवदन्ती अद्यापी छ । यसैले उक्त स्थानमा पुग्ने जो कोही पनि गोसाइँकुण्डको जल उभाएर सँगै रहेको रत्नचुडेश्वर महादेवलाई अर्पण गर्ने गर्दछन् ।
काठमाडौं उपत्यकाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमा रहेको नगरकोटमा रहेको ऐतिहासिक र धार्मिक रुपले महत्वपूर्ण महादेव पोखरी र रत्नचुडेश्वर महादेवको आफ्नै विशेषता रहेको छ ।
ऐतिहासिक स्रोत र सन्दर्भ अनुसार हालको नगरकोट डाँडाको प्राचीन नाउँ रत्नचुड पर्वत हो। जसलाई रत्नगिरि पर्वत समेत भन्ने गरिन्छ । सोही पर्वतमा विराजमान भएका महादेवलाई रत्नचुडेश्वर महादेव भनिएको संस्कृतिका अध्येता प्रेमप्रसाद काफ्लेले आफ्नो पुस्तक ‘वागीश्वरीदेखि ब्रम्हायणीसम्म (२०६६)’ मा उल्लेख गरेका छन् ।
समुन्द्र मन्थनबाट निस्किएको कालकुट विष निलेर निलकण्ठ बनेका, काँधमा मृत पत्नी सतिदेवी बोकेका भगवान महादेवालाई शितलताका निम्ति गोसाइकुण्ड जाने क्रममा यसै नालदुम र नगरकोट डाँडामुनि केही क्षण विश्राम लिएका थिए । तिर्खाले ग्रस्त महादेवले त्यहाँ तत्काल त्रिशुल प्रहार गरी जल उत्पति गराएर आफ्नो प्यास मेटेका थिए । सो पवित्र स्थान जलकुण्डको रुपमा रुपान्तरण भयो । जसलाई हाल महादेव पोखरी भनिन्छ । सतिदेविको रगतको डल्लो खसेको यहाँ नजिकै रक्तेश्वर महादेव वा रत्नचुडेश्वर महादेव मन्दिरको निर्माण भएको छ । पोखरीको केही तल मञ्जुश्री गुफा छ । उहिल्यै माण्डपगिरीबाट यस ठाउँलाई आरोङकोट भन्दाभन्दै नगरकोट भन्ने गरेको पाइन्छ।
संस्कृतिका अध्येता काफ्लेका अनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष पिएका महादेव विषको डाहा समन गर्न यताउता भौतारिरहँदा रत्नचुड पर्वत पुगे। रत्नचुड पर्वतमा पुगेपछि महादेवले विभिन्न जलका स्रोतको सृजना गरीमा नदीनाला प्रादुर्भाव गरेर उक्त कुण्ड बनाएको जनश्रुति सुन्नमा आएको उनको भनाइ छ । यसै आधारमा उक्त पोखरीको नाम महादेव पोखरी रहन गएको देखिन्छ । ‘कुण्ड तयार भएपछि महादेव यसैमा शयन गरेकाले यसलाई महादेव पोखरी भनिएको हो’, उनले सोही पुस्तकमा उल्लेख गरेका छन्, ‘‘महादेव पोखरी सानो भएर विषको डाहा समन नभएपछि पुनः महादेव हिमालतर्फ अघि बढी हालको गोसाईंकुण्ड गएर आफ्नो साथमा रहेको त्रिशुलले हिमालको पहरा फोरेर त्रिशुली नदी प्रभाविहत गरी सोही कुण्डमा शयन गरेको जनविश्वास रहँदै आएको छ।’
रत्नचुडेश्वर महादेव मन्दिर जस्तामुनि स्थापना गरिएको छ । त्यस्तै अरु शिवलिंग तथा विभिन्न ऐतिहासिक स्रोतहरु खुला आकाशमुनि नै रहेका छन् । ती सम्पदाहरुको संरक्षण साथै सो बारे थप अध्ययनको जरुरी देखिएको छ ।
महादेवसँग सम्बन्धित भएकाले यस महादेव पोखरीमा पनि प्रत्येक वर्षको जनै पूर्णिमामा विशेष मेला लाग्दै आएको छ। रसुवा जिल्लास्थित गोसाईंकुण्ड पुग्न नसके नगरकोटको यस पोखरीमा आएर नुहाईधुहाई गर्दा गोसाईंकुण्ड पुगेको सरह मानिने चाँगुनारायण नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष धनबहादुर तामाङले बताए ।
उनले पछिल्लो समयमा साउनको सोमबार र अरु महिनाको शनिबार तथा बिदाको दिन धार्मिक पर्यटक तथा मनोरञ्जनका लागि पर्यटक आउने गरेको बताए । सो स्थानमा जनैपूर्णिमा , कृष्णअष्टमी, तीज, शिवरात्रीमा धूमधाम मेला लाग्ने गर्दछ । जिल्लावासीका साथै काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक लगायत यहाँ वनभोज खान, घुम्न आउनेहरुको निकै ठूलो घुईँचो लाग्छ।
‘यो ठाउँको महत्व र विशेषता क्रमशः प्रचारप्रसार हुँदैछ, यहाँ आउने, रमाइलो गर्ने पर्यटकहरु बढ्न थालेका छन्, यसका लागि वडाले समेत विशेष ध्यान दिएको छ’, ‘नगरकोट त्यसै त तीन जिल्लाको संगमका रुपमा रहेको छ, यसले पनि यो क्षेत्रका धार्मिक र ऐतिहासि सम्पदाहरुको बारेमा चासो बढेको छ । ’ नगरकोट भक्तपुर, काभ्रे र काठमाडौंको संगम पनि हो ।