भक्तपुरको प्राचीन नाम ख्वप रहेको छ। विभिन्न अभिलेखमा माखोपृङ्ग, खृपिङ्ग, ख्पव जस्ता शब्दहरु परेका छन्। इतिहासकार धनबज्र बज्राचार्यका अनुसार यो शब्द संस्कृत भाषा नभएर किँरात भाषा हो। यसको मतलब हामीले के बुझ्न सक्छौं भने भक्तपुर किराँत कालदेखि नै प्रसिद्ध रहिआएको थियो। मध्यकालको सुरुवातमा भक्तपुर पूरा नेपालमण्डलको राजधानी थियो।
नेपालका प्राचिन सहरहरु मध्येमने भक्तपुरको प्राचिनता, यसकै उत्तरपट्टि रहेको चाँगुनारायण मन्दिरले समेत झल्काउनेमा कुनै दुईमत छैन। चाँगुनारायण मन्दिर प्राङ्गणमा रहेको वि.सं. ५२१ को अभिलेखले यो ठाउँ र जिल्लाको समेत प्राचिनकाललाई दर्शाउँछ ।। अझ भक्तपुरको प्राचिनताको बारे केलाउने हो भने किँरातकाल सम्म पनि पुग्न सकिने इतिहासकार तथा अनुसन्धानकर्ताहरु तर्क गर्छन् । इतिहास अध्ययन र खोजका लागि महत्वपूर्ण स्थलको रुपमा रहेको भक्तपुरमा प्राचिनकालमा २ वटा दरबार भएको देखिन्छ। एउटा, ‘त्रिपुर राजदरबार’, अर्को, ‘युथुनिमम दरबार’ ।
त्रिपुर दरबार सुकुलढोकामा थियो भने युथुनिमम हाल रहेको दरबार क्षेत्रमा रहेको अनुसन्धानकर्ताहरुको तर्क छ । दरबारको कुरा गर्दा एउटै राजधानीमा किन दुई दरबार बन्यो? भन्ने प्रश्न पनि आउन सक्ने अध्येता प्रमोद बस्नेतको प्रश्न छ । सोही प्रश्नमा उनी प्रसिद्ध इतिहासकार धनबज्र बज्राचार्यलाई अघि सार्छन्, भन्छन्, ‘नेपालको मध्यकालको शुरुवातमा संयुक्त शासन रहेको थियो। देश एउटै भएपनि पालैपालो दुईजनाले संयुक्त शासन गर्थे । उक्त समयमा देव नाम भएका लिच्छवि शासक र नयाँ मल्ल धारी शासकहरुले पालैपालो शासन गर्दथे । एकजना राजा हुँदा अर्को युवराज हुन्थे भने अर्को युवराज हुँदा अर्को राजा । यसरी नै चलेको थियो प्राचिन कालमा संयुक्त शासन।’ उनको तर्कलाई अस्वीकार नगर्ने हो भने, त्रिपुर राजदरबारबाट लिच्छवि शासन चल्थ्यो भने युथुनिमम दरबारबाट मल्लहरुको शासन ।
यसरी इतिहासको विभिन्न कालखण्डमा अस्तित्वमा रहेका दरबारहरु अहिले विलुप्त प्राय ः भइसकेका छन् । यसका कारणहरुबारे थप अध्ययन, अनुसन्धानको जरुरी देखिन्छ । यही सन्दर्भमा भक्तपुरको इतिहासको कालखण्डका केही दरबारहरु, जुन अहिले हामी देख्न सक्तैनौं, त्यसबारे केही चर्चा गर्ने प्रयास गरिएको छ ।
युथुनिमम राजदरबार
यो दरबारको उल्लेख गोपालराज वंशावलीमा थुप्रैपटक भएको पाइन्छ। गोपालराज वंशावलीमा प्रथम
पल्ट वि सं ११३८ मा यसको उल्लेख भएको थियो तर पनि धेरै वर्षसम्म यो दरबार कहाँ थियो? भनेर पत्ता लागेको थिएन। तर केही दशक पहिले भमक्तपुरको तान्त्रिक शक्तिको अनुशन्धानकर्ताहरुले यस दरवारको पत्ता लगाएका थिए । हाल भक्तपुर दरबा भित्र पर्ने दुमाजु चोक रहेको स्थानमा यो दरबार थियो भन्ने अनुमान गरिएको छ। भक्तपुर दरबारको मूलचोकको पश्चिम पट्टी पोखरी सहितको एक चोक रहेको छ। यसलाई दुमाजु चोक भनिन्छ। यहिबाट नै मल्लहरुले शासन गर्दथे र जब त्रिपुर दरबारको अस्तित्व सक्किसकेको थियो त्यसपछि पनि यही ठाउँबाट नै राजाहरुले शासन चलाएको पाइन्छ। युथुनिमम नाम कहाँबाट आयो भन्ने सन्दर्भमा इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यो दिशा अनुसारको नाम हो। नेवारीमा दक्षिणलाई येता र पश्चिमलाई यैता भन्ने गरिन्छ। यही नेवारी शब्दको परिवर्तित रुप नै युथु हो। र संस्कृत शब्द निगमको परिवर्तन भई निमम भएको हो । समग्रमा भन्नुपर्दा नेवारी र संस्कृत दुबै शब्दबाट अपभ्रंश भई यसको युथुनिमम रहन गएको हो, जस्को नेपालीमा अर्थ हुन्छ पश्चिम पट्टिको निगम घर ।
यो राजदरबार रुद्र मल्लले बनाइएको माने तापनि गोपालराज वंशावलीमा उनी जन्मिनुभन्दा २५ वर्ष पहिला नै यसको उल्लेख भएको पाइन्छ। साथै यस युथुनिमम दरबारको उल्लेख अन्तिम पल्ट जयस्थिति मल्लको पालामा भेट्टिएको छ्र । सायद देवधारी राजपरिवारलाई पन्छाएपछि उनले नयाँ दरबार बनाइ बसेका हुनुपर्दछ। हाल यो दरबार नभए तापनि यसको वरिपरि अन्य दरबार बनेका छन्।
त्रिपुर राजदरबार
त्रिपुर राजदरबार हाल रहेको दरबारको पूर्वपट्टि भागमा रहेको थियो। गोपालराज वंशावली तथा अभिलेखहरु हेर्दा प्राचीन समयमा लिच्छविकालमा भक्तपुर सहर एक व्यापारिक केन्द्रको रुपमा विकास भएको मानिन्छ। तर यसरी विकास हुँदाहुँदै बिक्रमको १३ औं शताब्दीतिर आइपुग्दा यो नेपालमण्डल अधिराज्य भरिको नै राजधानी बनेको थियो। त्यसै बेलामा राजा आनन्ददेवले यहाँ त्रिप॒र॒ राजदरबार बनाई भक्तपुरलाई राजधानी घोषणा गरेका थिए। यो दरबार चनिगल सुकुलढोका क्षेत्रमा अवस्थित रहेको थियो । राजा आनन्ददेवले बनाएको दरवार ७ तल्लाको रहेको थियो। यो दरबार वास्तुकला केही कैलाशकुट दरबारबाट मिल्दो थियो भन्ने अनुमान गर्न सकिन्छ। गोपालराज बंशावलीमा नरेन्द्रदेवले त्रिपुर दरबार बनाए भनी उल्लेख भएता पनि त्यो छुट्टै दरबार रहेको अनुमान इतिहासकार प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको रहेको छ। आनन्ददेव पछि उनका भाइ रुद्र मल्ल र अमृत देवले पनि यहाँ थुप्रै चोक र शृङ्गारहरु गरेका थिए । उक्त समयमा धेरै आक्रमण हुने भएका कारण सहरलाई सैनिक रुपमा मात्र नभई तान्त्रिक रुपमा पनि रक्षा गर्न अष्टमातृका, अष्टभैरव, अष्टगणेश, दशमहाविद्याहरूको स्थापना गरेको थियो। यसै सुरक्षा अनुरुप सहरको बीच भागमा त्रिपुरासुन्दरीको स्थापना गरिएको थियो । उक्त त्रिपुरासुन्दरीको विद्यापिठ जुन दरबारको एउटा भाग थियो, त्यो अझ पनि रहिरहेको छ।
यस त्रिपुर दरबारको उल्लेख गोपालराज वंशावलीमा थुप्रैपटक परेको छ। थुप्रै आक्रमण हुने त्यस समयमा विभिन्न आक्रमणमा परी त्रिपूर दरबार क्षेति हुन्थ्यो र मर्मत पनि चली रहन्थ्यो। विभिन्न वंशावलीहरुमा त्रिपुर दरबारमा आक्रमण भएको कुरा परेको छ। यहाँ शासन गर्ने राजाहरुले यसलाई मर्मत तथा बलियो बनाएका थिए। ७ तल्लाको, वरिपरि खाइ रहेको यो दरबार भव्य रहेको थियो । तर समय गएपछि यस दरबारले आफ्नो महत्व गुमाउँदै गयो। यसको अन्तिम रुप १५ औं शताब्दीसम्म थियो। संयुक्त शासन भएको त्यस समयमा यस ठाउँबाट देव उपाधि धारीहरुले शासन गर्ने थिए। यस त्रिपुर दरबारले आफ्नो महत्व जयस्थिति मल्लको पालामा पछि गुमाएको देखिन्छ। वि सं १४२३ मा देवलदेवीको मृत्युपछि जयस्थिति मल्लले आफु शक्तिशाली हुन अन्य सामन्त तथा भारदारहरुलाई खत्तम पारेका थिए । यसै क्रममा त्रिपूर राजदरबारबाट शासन गर्ने देव धारीलाई पनि खत्तम पार्नु थियो। त्यसैले उनले जर्याजुनदेवलाई षड्यन्त्रपुर्वक देशबाट निकाला गरे। तर २२ दिनपछि जर्याजुन देव फर्केको थाहा पाएपछि स्थिति मल्लले यहि त्रिपुर दरबारमा नजरबन्द गरी राखे। नजरबन्द भएको एक बर्षपछि विसं १४३८ मा जयार्जुनदेवको मृत्यु भयो। उनको मृत्युपछि यस दरबारले आफ्नो महत्व साथै इतिहासमा बिलिन हुन पुग्यो। यस समयपछि दरबारको राम्रो हेरचाह र मर्मत नहुँदा यो लुप्त हुन पुग्यो। तर मल्लहरु बस्ने युथुनिमम राजदरबार भने पछिसम्म पनि रहिरहयो।
चौकोट दरबार
भक्तपुर दरबारमा रहेको ९९ चोकहरूमध्ये पर्ने भण्डारखाल चोकको भागमा चारवटा किल्ला भएको चौकोट नामको दरबार रहेको थियो। यसको विवरण भने कमारी चोकमा रहेका केही अभिलेख तथा यही चोकमा भेटेका केही अभिलेखहरुमा पाइएको छ। तथा एक भाषा वंशावलीका अनुसार पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा तत्कालीन समयका राजा रणजित मल्ल यसै चौकोट दरबारमा बसेका थिए भनेर लेखिएको छ। गोर्खालीहरुले आक्रमण गर्नुभन्दा अगाडि भक्तपुर शहरलाई किल्लाले सुरक्षित बनाइएको थियो । जब गोर्खाली सेनाहरुले विसं १८२६ मा शहरको किल्ला फोडेर भित्र पसे, त्यसपछि उनीहरुलाई दरबारको किल्ला फुटाउन धैरै समय लागेको थियो।
बाहिर शहरको किल्ला भन्दा दरबारको किल्ला अति नै बलियो थियो । शहरभित्र पसिसके पनि दरबारभित्र छिर्न गोर्खीली सेनाहरुलाई तीन दिन लागेको थियो। अझ दरबारभित्र पसे पनि सबै चौक र ठाउँमा जान सकिँदैन थियो। सानो भएता पनि अर्को चोकमा जान निकै नै गाह्लो हुन्थ्यो। त्यसैले गोर्खालीहरुले चोकको ढोका फुटाउन नसकेपछि उनिहरु छतमा चढि आक्रमण गर्न थाले । रणजित मल्ल र यहाँ आश्रित अन्य राजाहरु हिटि चोकमा बस्दाखेरि गोर्खालीहरु छानामा चढेको देखेपछि उनीहरु अग्लो ठाउँको खोजीमा दरबारको अर्को भागमा चौकोट दरबारमा गएर बसेका थिए । यो घटनाले यो दरबार अग्लो थियो भन्ने बुझन सकिन्छ। तर हाल भने यो दरबार अस्तित्वमा रहेको छैन।
बसन्तपुर दरबार
बसन्तपुर दरवार चौकोट दरबारसँगै जोडिएर रहेको ७ तल्ले दरबार थियो। अहिले दक्षिणपट्टि फर्केको एकजोडी सिंहसंगै पूर्णचन्डी र भैरबभित्र यो दरबार थियो भन्ने अनुमान गरिएको छ। हाल यो ठाउँमा विद्यालय भएता पनि प्राचीनकालमा यस ठाँउमा बसन्तपुर दरबार रहेको थियो। बंशावलीहरुमा यस दरबार जगत प्रकाश मल्लले बनाउन लगाएका थिए भनिन्छ। धेरै विशाल ठाउँ ओगटेको र अग्लो रहेको यो दरबार १९९० सालको भूकम्पमा पुरै ध्वस्त भएको अनुमान गर्न सकिन्छ। १९९० सालको भूकम्प जानुअघि दरबारको अवस्था साह्रै जीर्ण रहेको थियो। १८९० को भूकम्पमा नै यो दरबार नष्ट भएको थियो।
थंथु दरबार
अर्को हराएको दरबारर हो थंथु लायकु। हालको पचपन्न झ्याले दरबारसँगै यो दरबार रहेको थियो। यही नजिक प्राप्त एक शिलालेखअनुसार यो दरबार जितामित्र मल्लले बनाएका थिए। बगैचा, ढुङ्गेधारा भएको यो दरबारको बगैंचा निकै नै ठुलो थियो। अन्य दरबार जस्तै यो दरबारले पनि ठूलो ठाँउ ओगटेको थियो। पूर्वपट्टि यस दरबारले त्रिपुर दरबारको भागसम्म छोएको थियो भन्ने अनुमान गर्न सकिन्छ। तर हाल भने यताबाट विलुप्त भइ सकेकोले यस अन्दाज गर्न मुस्किल छ। यो दरबारमा केही वर्षअघिसम्म भक्तपुर नगरपालिकाको मुख्य कार्यालय रहेको थियो । २०७२ सालको भूकम्पले यो भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि नगरपालिका यो दरबारबाट सरेको छ । हाल यो दरबार पूनर्निर्माणका लागि प्रारम्भिक काम थालिएको छ ।
इतिहासको ठूलो कालखण्ड बोकेको यो भक्तपुर शहरमा थुप्रै अरु दरबार पनि बनेका थिए जुन अहिले हाम्रो सामु छैनन्। पुराना दरबार हराउँदै गयो, एक पछि अर्का शासक आउँदै गरे र उनीहरुले आफ्नो कालमा दरबारहरू बनाउँदै गए। तर आफुभन्दा अगाडि राजाले बनाएको चोक तथा संरचनालाई नमासिने गरि त्यसै थपी दरबारहरु बनाउने गर्दथे। त्यसैले हाल पनि भक्तपुरमा दरबार देख्न सकिन्छ। प्राचिनकालमा रहेको दरबारको ठाउँ सम्झने हो भने यो क्षेत्र पूर्वमा सुकुलढोका
कालदेखि पश्चिममा खौमासम्म र उत्तरमा व्यासीदेखि दक्षिणमा खौमा टौमढीसम्म फैलिएको थियो। आक्रमण र थुप्रै लडाईं हुने त्यस समय तथा इतिहासमा आएका विभिन्न भूकम्प, वर्षा, असिना पानी तथा हिमपातले जिर्ण भएको यस दरबार क्षेत्र समयसमयमा मर्मत तथा हरेक समय संरक्षण गर्नुपर्छ।
सन्दर्भ सामग्री :
श्रेष्ठ, पुरुषोत्तमलोचन, त्रिपुर र युथुनिमम् राजकुल
श्रेष्ठ, पुरुषोत्तमलोचन, भक्तपुरको नवदुर्गा गण
श्रेष्ठ, पुरुषोतमलोचन, दुमजु देवी भक्तपुर, (प्राचिन नेपाल)
देवी कृष्णकुमारी, नेपालको एतिहासिक रुपरेखा
मुनकर्मी लीलाभक्त, मल्लकालीन नेपाल
भाषा वंशावली, नेपाल राष्ट्रिय पुस्तकालय
वज्राचार्य धनबज्र, द गोपालराज वंशावली
भक्तपुर मासिकका विभिन्न अंकहरु, भक्तपुर नगरपालिका
स्रोत व्यक्ति : ओम धौभडेल