काठमाडौँ– स्वदेशमै आत्मनिर्भर बन्नुपर्छ भन्ने युवाको जमात घटिरहेको बेला चाँगुनारायण नगरपालिका–९ फैढोका, भक्तपुरकी मीना गोसाईंको सोच फरक छ। सामान्य परिवारमा जन्मिएकी उनको औपचारिक शिक्षाले माध्यमिक तहसँगै विश्राम लियो। उच्चशिक्षा पढ्ने इच्छामा परिवारको चुनौतीपूर्ण आर्थिक अवस्था बाधक बनेपछि उनले अनेक हन्डर खेप्नुपर्यो।
उनले काकाको सहयोगमा देवी माध्यमिक विद्यालय भक्तपुरबाट २०६१ सालमा एसएलसी पास गरिन्। त्यसपछि भक्तपुर बहुमुखी क्याम्पसबाट कक्षा १२ सम्म अध्ययन गर्दाका दुई वर्ष आर्थिक कठिनाइका कारण निकै चुनौतीपूर्ण रहे। २०६३ सालतिर घरको जिम्मेवारी र बाध्यताले उनको पढाइमा विराम लाग्यो। त्यसपछि छोटो समयमा पूरा हुने सीप सिकेर परिवारको अभावमा टेको लगाउने योजना उनले बनाइन्।
सीप सिक्ने योजना बुने पनि मीनाको यात्रा सजिलो थिएन। त्यसमाथि गरिबी, अभाव र बाध्यताको पर्दाले उनको मार्ग छेकिरहेकै थियो। “घरको जेठी छोरी भएर नजन्मिएकी भए, अनि हाम्रो आर्थिक अवस्था उकासिएको भए मेरो मेडिकल पढ्ने इच्छा थियो। त्यो त सपनै रहिरह्यो,” आफैँप्रति सान्त्वनाका शब्दमा उनले विगत र वर्तमानलाई जोडिन्, “कम्तीमा पनि उच्चशिक्षासम्म पूरा गर्ने सोच थियो। तर सोचेजति सबै कहाँ पूरा हुन्छ र? घरको बाध्यता र जिम्मेवारीले मलाई यतातिर मोडिदियो।”
मीनालाई आफ्नो पुरानो सपना पूरा नभएकोमा कुनै पछुतो छैन। त्यही सपनाबाट गुज्रिँदै गएर बनेको नयाँ सपनाले उनलाई सन्तुष्टि दिएको छ। सिलाइ पसल सञ्चालन गरेर मासिक ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी गर्ने उनी आफूजस्ता धेरैका सपनाको सारथि बनेकी छन्। निजी टेलरिङ ट्रेनिङ सेन्टरबाट सयौँलाई सीप सिकाएर व्यवसायमा जोडिरहेकी मीना आफ्नो कारण आत्मनिर्भर बनेका हरेकको अनुहारमा साझा खुशी छचल्किएको पाउँछिन्।
आफ्नो निजी खुशीको फैलिँदो आयतनबाट निस्केको प्रसन्नतालाई उनले शब्दमा पोखिन्, “अहिले मलाई लाग्छ, यो व्यवसायबाट जति सन्तुष्टि मलाई अरू केहीले पनि दिन सक्दैनथ्यो होला। किनभने यसबाट घरपरिवारको आवश्यकता सजिलै परिपूर्ति भएको छ। छोराछोरीलाई राम्रो स्कुलमा पढाउन अब कुनै अभावको तगारो मसँग छैन। सँगसँगै धेरै बहिनीहरूले सीप सिकेर व्यवसाय गरिरहेका छन्। यसरी मेरो उद्यमले मसँग जोडिएका सबैलाई उत्तिकै खुशी दिएको छ।”
देशको हालत हेरेर निराश हुन पुगेकी मीनालाई पहिले खाडी मुलुकतिर पलायन हुने सोचले विचलित नबनाएको होइन। तर, नेपालमै केही सीप सिकेर रोजगारीमा जोडिने वैकल्पिक सोचको शक्तिले उनलाई यहाँसम्म डोर्यायो।
समृद्ध वर्तमानसम्म आइपुग्दा उनले पार गरेको कठिन यात्राबारे थाहा पाउन उनको विगतलाई अझै खोतल्नुपर्छ जहाँ अरूको मजदुरी गरेर घरधन्दासँगै श्रीमतीको उपचार खर्च जुटाइरहेका बाबु सत्रुधन गोसाईंको संघर्षको कथा जोडिन्छ।
दाउराघाँस र खेतबारीका काममा बाआमालाई सघाउन तयार थिइन्, मीना। तर, धक फुकाएर कृषिकर्ममा लाग्न पुग्ने जमिन उनको परिवारसँग थिएन। अरूकै जमिनमा अधियाँ बाली लगाएर आएको आधा उब्जनीले जेनतेन गुजारा चलेको थियो। आफ्नो जग्गाजमिन नहुँदा पूरा परिश्रम खर्चेर पनि थोरै प्रतिफलमा चित्त बुझाउनुपरेको वास्तविकता बुझेपछि कटक्क दुखेको मीनाको मनले जीविकोपार्जनमा सिंगो परिवारलाई टेवा पुग्ने विकल्प खोज्न थाल्यो।
एकपटक उनले बाबुसँग आफ्नो योजना सुनाइन्, “बा, तपाईंलाई साह्रै दुःख भयो। अब म सिलाइ सिक्छु। त्यसबाट आम्दानी गरेर घर खर्च चलाउँला।” त्यतिबेलासम्म मीनाको उच्चशिक्षा पढ्ने लक्ष्य र उद्देश्यले बाटो बदलिसकेको थियो। मुटुरोगी आमाको सास्ती र त्यसमा मलहम लगाइरहेका बाबुको संघर्ष देखेर उनले औपचारिक शिक्षालाई भन्दा उद्यम गर्ने इच्छालाई आफ्नो गन्तव्य बनाइसकेकी थिइन्।
त्यसलगत्तै मीना भक्तपुरकै सूर्यविनायकमा रहेको एउटा टेलरिङ सेन्टरमा पुगिन् जहाँ उनका चिनजानकै साथीहरू पनि सिलाइ प्रशिक्षण लिइरहेका थिए। उनीहरूसँग तालिममा भर्ना हुने इच्छा प्रकट गरिन्।
प्रारम्भिक शुल्क तिर्ने खर्च जुटाएर आधारभूत तालिममा भर्ना पनि भइन्। कक्षा अघि बढ्दै गर्दा कपडालगायत सिकाइ सामग्रीका लागि आवश्यक खर्च पनि थपिँदै गयो। जतिसक्दो चाँडै तालिम पूरा गरेर व्यवसाय थाल्ने मीनाको लक्ष्य थियो। त्यसबाट उनी घरपरिवार चलाउने खर्च जुटाउँदै आमाको उपचार र भाइको पढाइसँगै पक्की घर बनाएर सुरक्षित छानोमुनि ओत लाग्ने बाबुआमाको अपूरो सपनासमेत साकार पार्न चाहन्थिन्।
यद्यपि त्यो सपनाको उडानमा अनेक वाधाव्यवधान आइलाग्न छाडेनन्। तालिमका आधारभूत सामग्रीसमेत किन्ने खर्च नभएर पटकपटक उनलाई आशा, आँट र इमानको अग्निपरीक्षा दिइरहनुपर्यो। त्यस्ता कठिन समयमा उनले आफ्नो आशा टुटाइनन्, आँटलाई ओइलाउन दिइनन्। बरू, कठिनाइका प्रत्येक पललाई इमान र आत्मविश्वासको दरिलो खम्बा अझ मजबुत पार्ने अवसरका रूपमा स्वीकार गरिन्।
चुनौतीलाई नै इन्धन बनाएर सपनाको उडान यथावत राख्ने उनको दृढता देखेर साथीभाइ र सिकाउने गुरुहरूले दिलोज्यान दिएर मीनालाई मद्दत गरी नै रहे। उनीहरूले जुटाइदिएका सामग्रीको सहयोगमा उनले त्यो तालिम पूरा गरिन् ।
आधारभूत तहको सिलाइ प्रशिक्षण सकिएलगत्तै मीनाले भक्तपुर नगरपालिका–९, टोचामा सिलाइ व्यवसायको पसल खोलिन्। साथीभाइ र छरछिमेकीबाट सरसापटी गरेर बाबुले जुटाइदिएका १२ हजार रुपैयाँ नै उनको सम्पूर्ण लगानी थियो। त्यसबाट पुरानो सिलाइ मेशिन, कैँची र एउटा टेबुल किनेर २०६९ सालतिर पसल सञ्चालन गर्दा कोठाको भाडा मात्र मासिक २ हजार तिर्नुपर्थ्यो। आन्तरिक तथा बाह्य पर्यटनको भीड लाग्ने त्यो ठाउँमा पसलको भाडा महँगो तर आम्दानी शून्यप्रायः थियो।
व्यवसायको थालनीमै मिहिनेत ज्यादा र कमाइ कम भएको देखेपछि मीनाको मन फेरि बेचैन बन्यो। उनलाई कताकता आफ्नो परिवारले अरूको जमिनमा पसिना बगाएर आधा उब्जनीमा चित्त बुझाउनुपरेजस्तै पो हुने हो कि भन्ने चिन्ताले अशान्त बनायो। महिनाभरि दुःख गरेको पसलको कमाइले कोठाभाडा तिर्न पनि हम्मेहम्मे पर्ने अवस्थाबाट उनी गुज्रिँदै थिइन्।
त्यो परिस्थितिमा मीनाले अरू कसैलाई दोष दिनुभन्दा पनि आफैतिर फर्केर व्यवसाय नउकासिनुको कारण खोतलिन्। जवाफ आफैभित्र थियो। उनले लिएको तालिम नै आधारभूत तहको थियो। त्यही सीमाको कारण उनको पसलमा आउने सिलाइको अर्डर सामान्य स्तरबाट माथि उठ्न नसकेको मीनाले प्रष्टसँग महसुस गरिन्।
“आधारभूत तालिमले कति नै ग्राहक पाइन्थ्यो र! घरेलु प्रयोजनाका र बालबच्चाले लगाउने कपडा मात्र सिलाउने अर्डर आउँथ्यो। त्यो पनि थोरै मात्र। बढी सीप चाहिने कपडाको अर्डर पाइहाले पनि मलाई सिलाउन आउँदैनथ्यो,” उनले त्यसबेलाको बाध्यता सम्झिइन्।
जुन आशा र उत्साह बोकेर सिलाइ व्यवसायमा आएकी थिइन्, त्यसको उल्टो परिणाम हात परेपछि उनलाई त्यो व्यवसाय निल्नु न ओकल्नु भयो। अत्यासलाग्दो त्यो समयको चित्रण उनले यसरी गरिन्, “त्यसबेला हिँड्हिँड्दै बाटोमै सपना हराउँदै गएझैँ लाग्न थाल्यो। किनभने मेरो आम्दानी बढ्न नयाँ ग्राहक चाहिन्थ्यो। त्यसको लागि मैले शुल्क तिरेर थप तालिम लिनुपर्थ्यो जसको उपाय मसँग थिएन। ऋण पनि कसैले पत्याउँदैनथे। पसल जेनतेन टिकाइराख्ने कि थप तालिम लिने उकुसमुकुसमा थिएँ।”
उता घर परिवारमा पनि समस्या बढ्दै गएको थियो। त्यसको समाधान दिन खोलेको पसलले मीनालाई बिहानबेलुका घर आउजाउ गर्ने गाडीभाडा तिर्न पुग्ने आम्दानीसमेत दिन सकेको थिएन। त्यसरी तनाव खेपेर थेग्नुपरेको व्यवसाय छोड्न साथीभाइ र घरपरिवारले सुझाइरहेका थिए।
पसल खोलेपछि २०७२ सालसम्मको झन्डै तीन वर्ष मीनाले चिन्ताको रापतापमा सेकिएरै बिताइन्। किनभने त्यसबेलासम्म उनले न पसल बन्द गर्न सकिन् न त थप लगानी गरेर एडभान्स तहको तालिम लिने जोखिम नै उनले उठाइन्। त्यसमाथि २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मीनाको सानो घरसँगै उनका सुन्दर सपनालाई पनि भत्काएर भताभुङ्ग पारिदियो।
सबै संकट एकैपटक आएपछि मीनालाई अर्को सिकाइ भयो। एक्लै केही गर्न नसकिने रहेछ भन्ने पाठ सिकाएर त्यो समय उनीबाट बिदा भयो। त्यसपछि थिलथिलो भएको उत्साहलाई जगाउन नयाँ जीवन शुरू गर्ने सोचमा उनी पुगिन्। २०७२ मै उनले आफ्नै रोजाइमा झापा, मेचीनगरका राजेश प्रधानलाई जीवनसाथीका रूपमा पाइन्। त्यसबेलासम्म धानिएको व्यवसायमा अब श्रीमान्ले पनि साथ दिन थाले।
यद्यपि, पसलको अवस्था र आर्थिक चुनौती जस्ताको तस्तै रहिरहेपछि मीनालाई पसल छाड्न सल्लाह दिनेमा उनका श्रीमान् पनि थपिए। त्यतिबेलै हो उनले आफ्नो व्यवसाय छोडेर खाडी जाने योजना बनाएको। कुन देश जाने र के गर्ने भन्ने छलफलसमेत गर्न थालिन् उनी। पहिले उनलाई आधारभूत तालिम सिकाउनेहरू पनि त्यसबेला दुबई र कतारतिर थिए। उनीहरूसँग पनि बुझिन्।
अन्ततः २०७७ सालतिर दुबई जाने तयारीमा जुटेकी मीनाले संयोगवश त्यहीबेला खुलेको नेपाल सरकारको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनामा सिलाइसम्बन्धी दोस्रो तहको तालिमको लागि आवेदन दिइन्। तालिमका लागि नछानिएमा दुबई जाने उनको सोच बाँकी नै थियो।
तथापि, आशै नगरेकी मीनाको नाम प्रशिक्षार्थीको सूचीमा निस्कियो। त्यसबेलाको खुशी साट्दै उनी भन्छिन्, “तालिमका लागि छानिन्छु भन्ने आशा थिएन। परियोजनाबाट तपाईं छनोटमा पर्नुभयो भन्ने खबर आउँदा यति खुशी भएँ कि मेरो लागि त्योभन्दा ठूलो सफलता अरू केही थिएन।”
मोडिन लागेको गन्तव्य पुनः आफ्नै गोरेटोसामु पाएपछि हर्षित भएकी मीनाले दुबईमा मजदुरी गर्न जाने योजना रद्द गरेर उच्च तहको सिलाइकटाइ तालिम लिन थालिन्। इभेन्ट परियोजनाका सेवा प्रदायकमध्ये ‘वन्डरफुल ट्रेनिङ एन्ड कन्सल्टेन्सी प्रालि’बाट तालिम लिँदालिँदै सिलाइको दक्षतामा उनी पोख्त हुँदै गइन्। त्यसयता व्यवसायमा कहिल्यै पछाडि फर्किनु नपरेको मीना गर्वका साथ बताउँछिन्।
दोस्रो तहको तालिम लिएपछि बदलिएको दिनचर्याबारे उनी भन्छिन्, “पहिला कपडाको अर्डर नपाएर खाली बस्नुपर्थ्यो। पछि त अर्डर बढी आएर आफूले मात्र थेग्नै नसक्ने हुन थाल्यो। आफूले सिक्न बाँकी रहेका कामसँग सम्बन्धित अर्डर पनि लिएर तालिम दिने गुरुहरूको सहयोगमा पूरा गरेँ। त्यसले मलाई तालिमको सीमाभन्दा धेरै सीप सिक्ने अवसर दियो। पछि त सबै काम आफै गर्न सक्ने भएँ।”
मीनालाई कपडा सिलाउने सीप तालिमले सिकायो भने सफलताको सूत्र चाहिँ उनले आफ्नै जीवनबाट सिकिन्। सयौँलाई रोजगारीको सीप र हजारौँलाई सिलाइकटाइ सेवा दिएर अहिले गरिरहेको आकर्षक आम्दानीको श्रेय उनी आफ्नै धैर्य, मिहिनेत र लगावलाई दिन्छिन्। आफूकहाँ सिक्न आउने सबैलाई उनी यो ज्ञान बाँडिरहेकी छन्।
उनी आफ्ना प्रशिक्षार्थी बहिनीहरूलाई भनिरहेकी हुन्छिन्, “कठिन समयमा कहिल्यै आत्तिनु हुँदैन। धैर्य लिएर मिहिनेत गरिराखे मैले जस्तै दिनको ५ देखि ६ हजारसम्म आम्दानी गर्ने दिन अवश्य आउँछ।”
कालो बादल छिचोलेर सूर्यको उज्यालोतिर उचाइ लिएकी मीनासँग अब ठूला सपना छैनन्। भन्छिन्, “छोरा भिविड सात वर्षको भयो। आफूले अभावमै पढे पनि उसलाई स्तरीय कुलमा पढाएको छु। छोरी सानै छिन्। छोराछोरी दुवैलाई उनीहरूले चाहेमा ठूलो भएपछि मेडिकल साइन्स पढाउने इच्छा छ, जुन पहिले मेरो इच्छा थियो।”
आफ्ना छोराछोरीलाई मेडिकल साइन्स पढाउने मीनाको इच्छासँग उनको बाल्यकालदेखिको वेदना जोडिएको छ। उनी कक्षा आठमा पढ्दादेखि मुटुरोगले पीडित हुन पुगेकी आमा लक्ष्मीमाया अहिलेसम्म त्यसबाट ग्रसित छिन्। आमाको अवस्था सम्झेर आँखामा भरिएको आँशुले ओठसम्म बगेर चिसो डोब बनाउँदै गर्दा उनले मनको त्यस्तै डोबलाई शब्दमा उतारिन्, “मेरा छोराछोरीले मेडिकल पढेर मेरी आमाजस्ता असंख्य बिरामीको उपचार गर्दै जीवन बिताउन्। आजीवन बिरामी भएर ज्युनुपर्दाको पीडा कस्तो हुन्छ त्यो हाम्रो परिवारलाई थाहा छ।”
उनले १६० जनालाई आधारभूत तहको सिलाइ तालिम दिइसकेकी छन्। त्यसमध्ये कम्तीमा १५ जनालाई आफ्नै पसलबाट सिकाएकी हुन्। सीप सिकेका कतिपय दिदीबिहिनीलाई आफैसँग राखेर रोजगारी दिई व्यवसायमा पोख्त बनाएकी छन्। आफ्नो पसलको लेखाजोखा गर्दै उनी भन्छिन्, “मसँग अहिले आठ वटा ठूला मेशिन चलिरहेका छन्। ३० देखि ४० लाखको हाराहारी मूल्यका कपडाहरूले पसल भरिभराउ छ।”
दुःखका पहाडहरूलाई पैतालाले टेक्दै यहाँसम्म पुगेकी मीना आफ्नो सफलताको श्रेय दोस्रो तहको सिलाइ तालिमलाई दिन्छिन्, “यदि त्यो तालिम नपाएको भए म खाडी मुलुक पुगिसकेको हुन्थेँ। उता दुःखसँग केही वर्ष बिताएर फर्कंदा यता मसँग न हातमा सीप बाँकी रहन्थ्यो, न त शरीरमा शक्ति नै। अहिले त मसँग आफूलाई चाहिने खुशी र सन्तुष्टिको सर्वस्व नै छ।”
उकालो डटकममा लोकेन्द्र विश्वकर्माले लेखेको यो फिचर साभार गरिएको छ ।