भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डूको जंगलमा एक शव फेला परेको छ । सो शव महिलाको रहेको खुलेको छ । शव सोहि वडा निवासी ३७ वर्षीया मायाँ नगरकोटीको रहेको प्रहरीले जनाएको छ ।
ति महिला गत आषाढ १३ गते बुधबार बिहान साढे ८ बजेदेखि हराएकी थिइन् । सो समयदेखि हराएकी उनको शव जंगलमा भेटिएको गुण्डू अस्थायी प्रहरी पोष्टले जनाएको छ ।
पोष्टका सहायक निरीक्षक रामबहादुर मगरले हराएकी नगरकोटीको खोजीको क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानी ट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएको जनाउँदै सोही आधारमा उनको खोजी गरिएको जनाए ।
घटनास्थल सुरक्षित साथ राखी उक्त स्थानमा प्रहरी वृत्त जगातीबाट घटनास्थल मुचुल्कालगायत अनुसन्धानका लागि प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा १० जनाको टोली खटि गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसअघि खोजतलासको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयवासी लगायत ४ वटा कुकुरसहितको टोलीले केहिदिन अघिदेखि खोजी कार्य गरेको थियो ।