BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
विचार शिक्षा समाचार

एसइई उत्तीर्ण विद्यार्थी र अभिभावकका नाममा…

सर्बप्रथम माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) (एसइई)मा सफलता हासिल गर्ने सबै विद्यार्थीहरुलाई हार्दिक बधाईका साथ आगामी दिनमा सामना गर्ने हरेक परीक्षाहरुमा सफल रहनका लागि पनि शुभकामना । हुन त एसइईसम्म आइपुग्दा विद्यार्थीहरुले धेरै परीक्षाहरुमा सरिक भइ सफलता प्राप्त गरिसकेर पनि लामो समयदेखि पृर्ववत एसएलसी फलामे ढोकाको रुपमा विद्यालय तह पूरा हुने कक्षा मानिएकोले पनि आम जनजिब्रोमा रहिरहेकाले सन्दर्भ परिबेश परिवर्तन हुँदा पनि एसइईको चर्चा कायमै छ । चर्चा ज्यादा हुँदा विद्यार्थीमा परेको मनोबैज्ञानिक त्रासले एकातिर नतिजामा केही मात्रामा मात्रै भए पनि सुधार भएको तर्क छ भने अर्कोतर्फ अनावश्यक डर पैदा गराइयो भन्ने कुरा पनि छ । तर जे होस्, यसले विद्यार्थीहरुमा केही त्रास भएता पनि नतिजा सुधारमा सहयोग चाहिँ पक्कै मिलेको छ । हाम्रा हरेक परीक्षाहरु पार लगाइ सकेकालाई सामान्य लाग्छ र जसलाई सहभागी हुनुछ र सफल हुनुपर्नेछ उसलाइ जटिल नै हुन्छ, यो प्राकृतिक पनि हो, यस अर्थमा एसइईमा सफल विद्यार्थीहरुलाई बधाई शुभकामना हौसला दिन कन्जुस्याइँ गर्नुपर्ने कारण छैन । पुनः बधाई छ, सबैलाई ।

बधाईपछि मूल बिषय चाहिँ अबको बाटो के भन्ने हो । एसइईको सफलतापछि विद्यार्थीहरुमा खुसी सँगसँगै अबको बाटो के होला? कसरी अगाडि बढ्ने होला? भन्नेमा कौतुलता र उत्सुकता आउनु स्वभाविकै पनि हो ।

अझै एसइईमा बधाई शुभकामना थाप्दै गर्दा अब साइन्स पढ्नुपर्छ, डाक्टर इन्जिनियर बन्नुपर्छ, अब म्यानेजम्यान्ट पढ्नुपर्छ, सिए मेनेजर बन्नुपर्छ, मानबिकीमा अंग्रेजी, गणित पढ्नुपर्छ, एजुकेशन पढ्नुपर्छ, प्राबिधिक बिषयहरु नर्सिङ, ल्याब असिस्टेन्ट, रेडियोग्राफी, फार्मेसी पढ्नुपर्छ अनि यो, त्यो आदि इत्यादि बन्नुपर्छ, भन्नेले मन मष्तिक रुमलिएको अनुभव अधिकांश विद्यार्थीसँग अहिले ताजै छ । पहिलो कुरा त हामी विद्यालय शिक्षामामै छौं, एसइई कक्षा १० उत्तीर्ण तह मात्रै हो र आगामी दुई वर्ष विद्यालय तहका कक्षा ११ र १२ पढ्नुपर्छ चलनचल्तीका भाषामा कलेज जाने पढ्ने जे भने पनि । अर्कोतर्फ, फेरि हाम्रो शिक्षा प्रणालीले विश्वविद्यालय शिक्षा तयारीका लागि आधार तयार हुने गरि बिषयगत सीमा पनि तय गरेको छ, जसले गर्दा एसइईपछि नै भनौं भविष्यमा आफूले पढ्ने विषय वा आफ्नो लक्ष्य अनुसारको विषयसँग मिल्ने विषय समूह छनौट गर्नुपर्ने परिस्थिति पनि छ ।

विज्ञान विषय पढेर डाक्टर, इन्जिनियर, बन्दा होस् वा व्यवस्थापन पढेर सिए, मेनेजर, सिइओ बन्दा वा मानविकी पढेर अंग्रेजी, नेपाली गणित विषयगत विज्ञ सामाजिक ज्ञाता बन्दा वा शिक्षा विषय पढेर विषयगत विज्ञ शिक्षक बन्दा वा प्राविधिक धारका विषय पढेर बाली विज्ञ, पशु विज्ञ, नर्स, फार्मेसिष्ट, एचए, टेक्नेशियन बन्दा होस् कहि कुनै पेशा व्यवसायमा उच–निच, ठूलो–सानो, राम्रो– नराम्रो भन्ने हुँदैन । यी उल्लेखित र अरु सबै पेशा सम्मानित र उत्तिकै महत्वपूर्ण छन् र सदैब हुन्छन् । यी सबै आफैमा बिशिष्ट छन् । कसैको कसैसँग तुलना हुदँैन र कदापि गर्ने भुल पनि कसैले गरेर बिभेद सृजना गर्नु अपराध हो ।

धेरै प्राविधिक विषयका कृषि, सिभिल इन्जिनियरिङ लगायतका कुरा कक्षा नौदेखि नै शुरु भएको पनि छ तर त्यसले अपेक्षाकृत नतिजा दिएको स्थिति अझै छैन । कति प्राविधिक विषय पढेका विद्यार्थीहरु पुनः साधारण समूहमै फर्केका उदाहरण पनि छन् । कुन बिषय लिएर पढी भविष्यमा के बन्ने भन्दा पनि पाठ्यक्रम विकास केन्द्रले सामान्यतया १.६ जिपिए ल्याउनेको हकमा बिषयगत बन्देज नराखे पनि विद्यालय कलेज अनुसार विषय छनौट एसइईका नतिजा र विद्यार्थी छनोट प्रवेश परीक्षा आदिका आधारमा रोजेको संस्थामा चाहेकै विषय पढ्न पाउने नपाउने तय हुन्छ । विषय छनोटमा एसइईका विषयगत नतिजा र औषत जिपिएले प्रत्यक्ष प्रभाब पार्दछ ।

दोस्रो विषय, अब विद्यार्थीहरुले कुन विषय समूह पढ्ने र किन पढ्ने ? हुन त कक्षा नौमा नै विद्यार्थीहरुले साधारणतर्फ गत वर्षसम्म छ र यस वर्षदेखि पाँच अनिवार्य बिषय बाहेक दुई ऐच्छिक बिषय पढ्न रोज्न पाउने व्यबस्था गरेको छ । कतिपयमा विद्यार्थीका रोजाइमा र कतिपयमा विद्यालयका अनुकुलमा विषयको व्यवस्था गरेको पाइन्छ । विद्यार्थी अनुसार विषय छनोट फरक पर्ने र एउटै कक्षामा थोरै विद्यार्थीहरुमा पनि धेरै विषय आवश्यक पर्ने भएकाले विद्यालय क्षमता र विद्यार्थी संख्या आदिले ऐच्छिक विषयको उपलब्धतामा समस्या छन् । अनि यो उमेर समूहका विद्यार्थीहरुले न दीर्घकालको लक्ष्य तय गरेर विषय रोज्न सक्छ, न अभिभावकले सहजीकरण गर्न सक्छ, न विद्यालयले प्रत्येक विद्यार्थीका रुचि अनुकुल विषय अध्यापन गराउन सक्छ, न त विद्यार्थी अभिभावकले नै यो विषय छ कि छैन भनि विद्यालय रोज्छ । त्यसैले कक्षा नौमा ऐच्छिक विषय रोज्ने र भविष्यसँग जोड्ने कुरा प्रायः कर्मकाण्डी मात्रै हुन्छन् ।

विद्यार्थी र विद्यालयको ध्यान धेरै जसो कसरी बढी प्रयोगात्मक अंक ल्याउने विषय राख्ने र कसरी बढीभन्दा बढी जिपिए ल्याउने भन्नेमा हुन्छ, यो यथार्थ हो । यी र यस्ता यावत अवस्थाबीच फेरि बिषय समूह रोज्नु छ । हाम्रो प्रचलनै बनिसक्यो, पहिले पहिले प्रथम श्रेणी आउनेले, त्यसपछि डिस्टिङसन आउनेले, आजभोलि ३.६ जिपिए आउनेले विज्ञान समूहका विषय नै बढीका रोजाइमा पर्ने । अनि त्यस भन्दा तलको नतिजा आउँदा व्यवस्थापन समूहका विषय अझै कम नतिजा भए मानविकी र शिक्षा समूह रोजाइमा पर्ने ।

उच्च जिपिए प्राप्त गरेका विद्यार्थीले मानविकी वा शिक्षा वा प्राविधिक विषय समूह पढ्न, रोज्न घरपरिवार साथीभाइ इष्टमित्रसँग ठूलै लडाइँ गर्नुपर्ने अवस्था छ । औषतभन्दा कम जिपिए ल्याउँदा विद्यार्थीका मनोबल नै कमजोर हुने गरी निराशा सृजना गराउने खालका गतिविधि गरेका उदाहरण हाम्रा समाजमा छँदैछ । हामी विद्यार्थीका क्षमता मेहनत रुचि विशिष्टता आदिका आधारमा पूर्वतयारी र कारण निवारण सहजीकरणमा समयमै ध्यान पुर्याउँदैनौ केवल परिणाम मात्रै खोज्छौं । सबैमा उस्तै क्षमता नहुनु प्राकृतिक हो भन्ने जानेर नजरअन्दाज गर्नु र नजान्नु दुबै दोषी देखिन्छन् यो मामिलामा र त्यसको शिकार बालबालिका भइरहन्छन् ।

कुन विषय समूह संकायमा जाने ? विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा प्राविधिक विषयहरु नर्सिङ, ल्याव टेक्निसियन, रेडियोलोजी, एचए, सिभिल इन्जिनियरिङ, फार्मेसी आदि ती विद्यार्थीहरुका छनोटका आधारमा हुनु पर्छ, त्यसमा हामीले केवल सहजीकरण गर्नुपर्दछ । हामीले प्रत्येक विषयका बिशेषता के हुन,् त्यो बिषयमा उच्च शिक्षा हासिल गरे पछिका अवसर के हुन्, त्यो विषयका चुनौति कस्ता छन् ? विद्यार्थीका हालसम्मका लगाव मेहनतका आधारमा त्यो विषयमा सहजै वा मेहनत थप्दा राम्रो परिणाम निकाल्न सकिन्छ कि सकिदैन? आदि प्रश्नहरुको जवाफसहितको सहजीकरण आवश्यक छ । कुनै अमुक विषय ठूलो, कुनै सानो र कमजोर भन्ने हँुदैन । हामी आफै उपबुज्रुक बन्छौ र उपमा दिन्छौं, विज्ञान बिषय ठूलो, शिक्षा कामै नलाग्ने । यो सब हामीले जबरजस्त स्थापित गरेको मिथ्या कुरा हो । विज्ञान विषय पढ्दैमा सफल जीवन हुने होइन न कि शिक्षा वा कुनै प्राविधिक विषय पढ्दैमा असफल र अयोग्य । मूल कुरा विषयगत बिशिष्ट नतिजा र त्यस अनुकूल परिवर्तन अनि घरपरिवार समाज राष्ट्रले प्राप्त गर्ने लाभ हो । हरेक विषयको अध्ययनपछि हामीले यो लाभ सृजना गर्न सक्छौं कि सक्दैनौ ? प्रत्येक विषयको गरिमा र महत्व हामीले गरेको मिहिनेत, परिश्रम र परिणामले त्यसलाईस्थापित गर्ने हो न कि विज्ञान, व्यवस्थापन वा कुनैले । विज्ञान विषय पढेर डाक्टर, इन्जिनियर, बन्दा होस् वा व्यवस्थापन पढेर सिए, मेनेजर, सिइओ बन्दा वा मानविकी पढेर अंग्रेजी, नेपाली गणित विषयगत विज्ञ सामाजिक ज्ञाता बन्दा वा शिक्षा विषय पढेर विषयगत विज्ञ शिक्षक बन्दा वा प्राविधिक धारका विषय पढेर बाली विज्ञ, पशु विज्ञ, नर्स, फार्मेसिष्ट, एचए, टेक्नेशियन बन्दा होस् कहि कुनै पेशा व्यवसायमा उच–निच, ठूलो–सानो, राम्रो– नराम्रो भन्ने हुँदैन । यी उल्लेखित र अरु सबै पेशा सम्मानित र उत्तिकै महत्वपूर्ण छन् र सदैब हुन्छन् । यी सबै आफैमा बिशिष्ट छन् । कसैको कसैसँग तुलना हुदँैन र कदापि गर्ने भुल पनि कसैले गरेर बिभेद सृजना गर्नु अपराध हो ।

अन्तमा, कुन बिषय पढ्ने ? भन्ने विद्यार्थीका रुचिमा आधारित हुनु पर्दछ । जुन विषयको अध्ययनमा विद्यार्थी खुसी हुन्छ, त्यही विषय छनौटको अधिकार उसैमा निहित हुनु पर्दछ । जुन बिषय उसको रोजाइ हुन्छ, स्वभाविक रुपमा उसले त्यसमा भरपुर मेहनत गर्छ र उत्कृट नतिजा प्राप्त गर्न प्रयत्नशी पनि । अभिभावकको इच्छाले विद्यार्थी डोर्याउने होइन, आपसी छलफल सरसल्लाहका आधारमा विद्यार्थीका क्षमता रुचिअनुसार विषय छनौट र अध्ययन वातावरण व्यवस्थापनमा अभिभावक लाग्नु पर्दछ । जुनसुकै बिषय लिँदा पनि सफलता प्राप्त गर्न निरन्तर मेहनत नगरी हुन्न । सबै क्षेत्रमा उच्च प्रतिस्पर्धा छ, औषत मानिस भिडमा हराउने सम्भावना हुन्छ, त्यसैले विषय जुन होस्, त्यसमा अब्बल नतिजा निकाल्ने र सदैव अग्रस्थानमा रहन सक्नु पर्दछ । इमान्दार राष्ट्र प्रेमभाव सहितको असल विद्यार्थी नै भोलिको कर्मठ नेपाली नागरिक बन्नेछ न कि कुनै विषय बिशेषले ।

श्रीकृष्ण के. सी. चाँगुनारायण ३, झौखेल

थप ख़बर

पिँडालु खानुलाई राक्षसको निर्मूल गरेको सरह मानिने पर्व : सकिमना पुर्णिमा

भक्तपुर टाइम्स

उत्कृष्ट भो भक्तपुर नगर

भक्तपुर टाइम्स

हेलिप्याड निर्माण भन्दै डाेजर लगाउँदा दुईसय परिवारले उपभाेग गरेकाे खानेपानीमा क्षति

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy