भक्तपुर । भक्तपुरको झौखेलमा नियम विपरीत पक्की भौतिक संरचना निर्माणको काम भइरहेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा नगरपालिकाको नियमविपरीत भौतिक संरचना निर्माणको काम भइरहेको स्थानीयले जनाएका छन् ।
सो सम्बन्धमा स्थानीयले वडा कार्यालयमा लिखित निवेदन दिई आवश्यक कारबाही गर्न अनुरोध गर्दा पनि वडा कार्यालय मकदर्शक बनेको स्थानीयको गुनासो छ । ‘ हामीले यो विषयमा वडा कार्यालय र वडा अध्यक्षलाई पहिलै लिखित र मौखिक रुपमा जानकारी दिएका थियौं, तर अहिलेसम्म त्यस विषयको नै सम्बोधन भएको छैन । नियमित रुपमा पहिला जस्तै गरी निरन्तर कार्य गरिरहेको छ। अहिले त पिलर उठाइ सकेर पहिलो ढलानको लागि ठिक्क बनाई सकेको छ’, सुन्दरथलीका एक स्थानीयले भने ।
स्थानीयका अनुसार साविक झौखेलको वडा नं. ५ को मार्गाल भन्ने सार्वजनिक स्थानमा कुनै सूचनापाटी र जानकारी विना भवन निर्माणको काम भइरहेको छ ।
हाल छत्रपाल गणेश खानेपानी ट्यांकी रहेकै जमिनमा स्थानीय कसैलाई थाहा पतै नदिई महांकाल चोक, सुन्दरथली, माकजु टोल, वडा नंं ३ को वडा कार्यालय हुँदै भक्तपुर जाने मुल सडकमै जोडिएर स्थायी संरचना बनाउने काम भइरहेको छ । सो काम नगरपालिकाले सडक तथा भवन मापदण्ड विपरीत रहेको स्थानीयको भनाइ छ ।
नगरपालिकाले भवनसम्बन्धी बनाएको मापदण्डमा सडक पेटीबाट २ मिटर सेटब्याक छोड्नपर्ने उल्लेख छ तर सो स्थानमा बन्दै गरेको संरचनाले पनि उक्त मापदण्डलाई समेत पालना गरेको छैन । उक्त काम नगरपालिकाले बनाएको मापदण्ड विपरीत भएपछि स्थानीय सुन्दरथलीका स्थानीयले गत जेछ १६ गते नै वडा कार्यालयमा निवेदन दिएर ध्यानार्कषण गराएका थिए ।
लिखित निवेदन परेको २२ दिन बितिसक्दा पनि त्यसबारे वडा कार्यालयले कुनै सम्बोधन गरेको छैन । सो विषयमा सोही वडाका वडा अध्यक्ष श्यामसुन्दर धिमाल सम्पर्कमा आएका छैनन् ।