भक्तपुर । भक्तपुरको बाल शिक्षा सदन आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिसँगै विभिन्न अतिरिक्त क्रियाकलापका पुरस्कारले पुरस्कृत गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलको सल्लाघारीस्थित सो विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार वितरण गरिएको हो ।
विद्यालयका तीस जना छात्राहरुलाई नियमित छात्रवृत्ति सँगै शैक्षिक सत्र २०८० मा हालसम्म सम्पन्न विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार विद्यालयले हालसम्म अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, वाटर फिलिङ रेस, डोरी तान्ने प्रतियोगिता र विश्व वातावरण दिवसको अवसरमा लघुनाटक प्रतियोगिता गरेको थियो । ती स्पर्धामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई ५६ वटा मेडलसहित पुरस्कार स्वरुप पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक राजेश छुकांले बताए ।
उनीहरुलाई सूर्यविनायक ननगरपालिका १० का वडाध्यक्ष शिवराम राउत, विद्यालय अक्षय कोषका संरक्षक एवम् समाजसेवी अंगद खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयका सल्लाहकारहरु, सहयोगी तथा अभिभावकहरुको उपस्थिति सम्पन्न सो कार्यक्रमका वक्ताहरुले समुदायले नै सामुदायिक विद्यालय बनाउनुपर्नेमा जोड दिँदै बाल शिक्षा सदनमा पढाउँदा स्थानीय अभिभावकले विभिन्न तरिकाले लाभ लिन सक्ने उल्लेख गरे । उनीहरुले बाल शिक्षा सदनलाई निजी विद्यालय सरह बनाउनका लागि नयाँ टिमले नयाँ सोचका साथ काम गर्ने चर्चा गर्दै बाल शिक्षा सदनलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सकिनेमा जोड दिए ।
सो कार्यक्रम संचालन विद्यार्थीहरु सुमिना तामाङ र अक्शना थापाले गरेकी थिइन् । उनीहरुले अंग्रेजी भाषाबाट कार्यक्रम सञ्चालन गर्दा उपस्थिति अतिथिमात्र नभएर अभिभावकसमेत दङ्ग परेका थिए ।
विद्यालयले हरेक शुक्रबार बुक फ्रि डे गरि १० देखि १ बजेसम्म अंग्रेजी भाषा शिक्षण गरिरहेको छ भने १ बजेपछि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
सोही कार्यक्रममा सूर्यविनायकको श्री कुलमाया भगवती माध्यमिकविद्यालयबाट सरुवा भए आएकी शिक्षक पुण्यश्वरी सुलूलाई पनि स्वागत गरिएको थियो ।