भक्तपुर । चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । चाँगुनारायण नगरपालिकाले सञ्चालन गरिरहेको चाँगुनारायण नगर अस्पताल र मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालबीच भएको सहमतिसँगै चाँगुनारायणमा पनि विशेषज्ञ सेवा सुरु भएको हो । विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य गरी सेवा पु¥याउनको लागि सहमति पत्रमा दुबै पक्षबीच हस्ताक्षर गरिएको छ ।
सोही अवसरमा अस्पतालले बृहत विशेषज्ञ स्वास्थ्य शिविर संचालन समेत गरेको छ । भएकोछ । चाँगुनारायण नगर अस्पतालको प्राङ्गणमा आयोजित बृहत विशेषज्ञ स्वास्थ्य शिविर उद्घाटन समारोहमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए ।
सो सम्झौतासँगै दैनिक ओपिडी सेवा दिँदै आएको नगर अस्पतालले अबदेखि साप्ताहिक रुपमा हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञलागायतको सेवा प्रदान गर्ने अस्पतालका मेडिकल अधिकृत शैलेस त्वानाबासुले बताए ।
कार्यक्रमका मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकासंग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाँउदा खुशी लागेको बताउँदै स्थानीय निकायहरुबीच सहकार्य गरी सेवा तथा प्रविधि आदानप्रदान गर्न सकेमा नगरबासीहरु लाभान्वित हुने चर्चा गरे ।
फोहोरमैला व्यवस्थापनमा पनि मध्यपुर थिमी नगरपालिकाले चाँगुनारायण नगरपालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्न तत्पर रहेको उनको भनाइ छ ।
कार्यक्रमका चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्वास्थ्य बीमा, निःशुल्क उपचार, आधारभूत स्वास्थ्य, जनताको अधिकार नाराका साथ आफ्नै स्वास्थ्य नीति तयार गरी नगरबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि आफ्ना मातहतका ८ वटै स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालबाट नियमित रुपमा स्वास्थ्य सेवाहरु उपलब्ध गराउदै आएको बताए। उनले अक्सिजन प्लान्ट नगर अस्पतालमै निर्माण गरएिकोले अक्सिजन आवश्यक विरामीहरुलाई निःशुल्क उपलब्ध गराइने बताए ।
अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं दैनिक कार्यसंचालन समितिका संयोजक मनोजकुमार थापाले २०३९ सालमा स्वास्थ्य चौकी, २०५८ मा प्राथमिक स्वास्थ्य केन्द्र हुदै २०७७ मंसिर २८ गतेबाट चाँगुनारायाण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।