भक्तपुर । भक्तपुरको सुडालको नाउबारीस्थित ठूली ब्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक हरि राउतलाई एक समारोहबीच बिदाइ गरिएको छ । टिका, माला, खादा, दोसल्ला र सम्मान पत्रका साथ सम्मानित भइसकेपछि प्रधानाध्यापक राउतले फेसबुकमा ‘म मरे पनि मेरो मेरो देश बाँचिरहोस्’, शैलीमा कवितात्मक स्टाटस लेखे ।
जुन यस्तो थियो :
म नरहे पनि मेरो विद्यालय रहि रहोस्
हामी नभऐ पनि हाम्रो विद्यालय भइ रहोस् ।।
हाम्रो परिश्रम अटल रहिरहोस्
हाम्रो मन मष्तिष्कमा विद्यालय अमर रहिरहोस्।।
सबैजनमा शिक्षाको ज्योति फैलिरहोस् ।
विद्यालय प्रति सबै जनमा सद्भाव रहिरहोस्।।
विद्यालय सबै जनमा आकर्षणको केन्द्र बनिरहोस्
ठूली बह्ममायणी भनि सबै ठाउँमा कृति छाइरहोस्।।
उमेर हदका कारण अनिवार्य अवकास पाए पनि विद्यालयप्रतिको उनको सद्भाव, प्रेम, स्नेह, लगाव उत्तिक्कै रहेको उनको गीतको भावजस्तै बलियो छ । बलियो नहोस् पनि कसरी?
विं.सं. २०६८ साउनमा सो विद्यालयमा सरुवा हुँदा विद्यालयको अवस्था त्यति राम्रो थिएन, भवन राम्रो थिएन, विद्यार्थी संख्या पनि गतिलो थिएन । पछि, अर्थात् दुई वर्षपछि २०७० फागुनबाट उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले, त्यसपछि भने शैक्षिक योजना बनाएर २०४८ सालमा स्थापना भएको विद्यालयलाई राम्रो बनाउनु् पर्छ भन्ने अडान कसे । सोही अनुसार उनले योजना बनाए, टिममा काम गर्ने वातावरण बनाए ।
आफू प्रधानाध्यापक भएको द्ई वर्षमै विनासकारी भूकम्पले स्कुल पनि नराम्ररी प्रभावित बनायो । भएको एउटा भवन पनि चिराचिरा भयो, क्षतविक्षत भयो । काम गर्छु भन्ने सोचमा चुनौति थपियो । त्यही चुनौतिलाई उनले अवसरका रुपमा स्वीकारे, अनि लागे शैक्षिक योजना पूरा गर्ने मार्गमा । त्यसका लागि उनले भूकम्पपछिका सुरुवाती समय भौतिक पूर्वाधार विकासका लागि लगाए, भवन बनाउनका लागि दाता(राष्ट्रिय पूनर्निर्माण प्राधिकरणदेखि विभिन्न गैरसरकारी संस्था) कोमा पुगे ।
लगातार लाग्दै गएपछि भवन बनाउनका लागि आवश्यक स्रोत जु्टाउन उनी सफल भए, नभन्दै पहिलो ४ कोठामा सीमित आधारभूत विद्यालय अहिले २ वटा भवन सहितका दर्जन कोठामा फैलिएको छ ।
त्यसबीचमा विद्यार्थी संख्या वृद्धि गर्नका लागि विद्यार्थी अभियानलाई निरन्तर रुपमा चलाए । सोही कारण विद्यार्थी सख्ंयामा पनि उल्लेख्य सुधार भएको छ । विद्यालय भवन बनाउनका लागि स्कुलको लागि आवश्यक जग्गाको प्रबन्धका लागि छुट्टै अभ्यास गरेर उनले स्थानीयको मन जिते । उनकै पहलमा विद्यालयको भवन बनाउन स्थानीयले जग्गा दान गरे । छोटो समयमै नाउबारीको ठूली ब्रम्हायणी आधारभूत विद्यालयको भौतिक प्रगति, शैक्षिक प्रगति भयो । सीमित क्षेत्रमा फैलिएको ठूली ब्रम्हायणी स्कूल साँच्चिकै ठूलो क्षेत्रमा फैलियो ।
यसरी विद्यालयलाई आकारसँगै शैक्षिक क्रियाकलाप र उपलब्धिमा समेत ‘ठूलो’ बनाउन भूमिका निर्वाह गरेका प्रधानाध्यापक राउतको उमेर हदका कारण सम्मान सहित बिदाइ गरिएसँगै धेरैले उनको योगदानको स्मरण गरेका छन् ।
‘मेरो शिक्षण पेसाको थालनी भएको र मेरो सामाजिक कार्यको सबैभन्दा महत्वपूर्ण कार्यको रूपमा श्री ठुली ब्रम्हायणी आधारभूत विद्यालयमा संस्थापक प्रअ भई काम गरेको विद्यालय भौतिक र शैक्षिक पक्ष आजको अवस्थामा ल्याई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निवर्तमान प्रधानाध्यापक हरिकृष्ण राउतको अनिवार्य अवकास पश्चात भव्य रूपमा विदाई कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी पनि लागेको छ र दुःख यस मानेमा लागेको छ कि विद्यालयको एक सपुत व्यक्तित्वलाई बिदाई गर्दा मन दुखित पनि भाको छ,’ उनको बिदाइपछि सोही विद्यालयका संस्थापक प्रधाध्यापक सहदेव साखकर्मीले सामाजिक सञ्जालमै भनेका छन् ।
उनको बिदाइसँगै सम्मानमा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालय सुधारका लागि अभिभावक र शिक्षक जिम्मेवार हुने बताउँदै सामुदायिक स्कुल सुध्रिए निजी विद्यालय बन्द हुने अवस्था आउने उल्लेख गर्दै शिक्षा सुधारका लागि हरि राउतजस्ता भावना भएका शिक्षकको जरुरी रहेको बताए ।
उनले भने, ‘जिम्मेवारीपूर्वक विद्यालय र विद्यार्थीको भविष्य हाम्रो हातमा छ भन्ने भान शिक्षक शिक्षिकामा हुने हो भने विद्यालय सुधार हुन्छ, यसमा होस्ते र हैँसे भने समुदाय र विद्यालय व्यवस्थापनले गर्नुपर्छ ।’