भक्तपुर – बाजागाजासहितको लस्कर । कोही बाजा बजाउन व्यस्त त कोही बाजाको तालसँगै आफूलाई ढाल्ने कोसिस गर्दै नाच्दै थिए । लाइनमा महिलाहरू नेवारी पोसाकमा सजिएका । पुरुषहरू स्वयंसेवकको रूपमा व्यस्त थिए । कुनै हातभरि पूजा सामग्री लिएर मन्दिरमन्दिर चहार्दै थिए ।
यो दृश्य भक्तपुरको हो । ८ दिन ९ रातसम्म चल्ने यहाँको बिस्का जात्राको एक महत्त्वपूर्ण दिन थियो । यो दिन नगरभित्रका टोलटोलका देवालयहरूमा गई पूजाआजा गर्ने गरिन्छ । यसलाई नेवारी भाषामा द्यो स्वगं वियगु जात्रा अर्थात् देवतालाई सगुन चढाउने जात्रा भनिन्छ । प्रत्येक वर्षको बिस्का जात्रामा ४ वैशाखमा यो जात्रा हुने गर्दछ । जात्रामा बाजागाजाको लस्करसहित नगरभित्रका देवलायहरूको परिक्रमा गर्ने गरिन्छ ।
जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवतालाई सगुन चढाइने अनुभव स्थानीयको छ । नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका ८ सहित भैरव, गणेशलगायतका ३३ स्थानका देवतालाई सगुन चढाइने परम्परा छ ।
सगुन यात्रा सूर्यमढीबाट दत्तात्रय, गोल्मढी, सुकुलढोका, टौमढी पुगेको थियो । त्यस्तै, गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै दरबार क्षेत्र हुँदै तलेजु, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको थियो । सगुन चढाउने देवताहरूलाई पहिला नै देवघरबाट निकालेर नजिकैका चोक–चोकमा राखिएको हुन्छ । ३३ देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्केट जात्राको पहिलो दिन २७ चैतमै देवघरबाट निकाली रथमा राखिएको थियो ।
जात्रापछि यी देवतालाई पुनः देवताघरमा फर्काइनेछ । यीमध्ये भैरव र भद्रकालीलाई भने ५ वैशाखमा जात्रा सकिएपछि मात्रै देवघर फिर्ता लगिन्छ ।जात्रामा सहभागी भएकाले देवतालाई चढाउन खाद्य सामग्रीसमेत बोक्दै हिँड्ने गर्दछ । देवतास्थल पुगेपछि आफूले बोकेको खाद्यसामग्री उनीहरू चढाउँछन् । रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीमध्ये कुनै एक खाद्यसामग्री चढाउने गरिन्छ ।