भक्तपुर, ९ असार । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरपालिकामा जग्गा प्लटिङ गर्न निषेध गरेको छ ।
नगरपालिकाका विभिन्न वडामा मनपरी तरिकाले भइरहेको जग्गा प्लटिङ कार्य रोक्न र नयाँ ठाउँमा जग्गा प्लटिङ गर्न निषेध गरेको हो ।
बुधबारबाट सुरु भएको नगरपालिकाको ११ औं नगर सभाले भवन तथा बस्ती विकास अन्तर्गत प्लटिङ गर्न निषेध गर्ने नीति बनाएको छ ।
नगरपालिकाले बनाएको नीतिमा भनिएको छ : नगरपालिकाको पूर्वस्विकृति विना नगर क्षेत्रमा जग्गा सम्याउने, भूसंरचना बिगार्ने तथा जग्गा खण्डिकरण गर्ने कार्य निषेध गरिनेछ ।’ सो नीति कार्यान्वयनका लागि नगरपालिकाले आर्थिक विधेयक २०७९ पनि जारी गरेको छ ।
नगर सभाले सो नीति लागू गरे पनि त्यसको प्रभावकारी अनुगमन भएको छैन । ‘नगरपालिकाले नीति बनाउँछ, तर कार्यान्वयन गर्न सक्तैन’, नीति तथा कार्यक्रममा सहभागी एक जनप्रतिनीधिले नाम नबताउने सर्तमा भने ।
उनले नगरपालिकाका विभिन्न ठाउँमा अन्धाधन्ध रुपमा भइरहेका जग्गा प्लटिङले खानेपानी, वन, वातावरणदेखि सामाजिक जीवनमा समेत अप्ठ्यारो पार्दा पनि नगरपालिकाले त्यसको कार्यान्वयन गर्न नसकेको बताए ।
उनले नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि पनि सो नीति बनाए पनि त्यसको कार्यान्वयन नहुने ठोकुवा गरे ।