भक्तपुर, ७ जेठ । विनायक शिक्षा निकेतन इग्लिस सेकेण्डरी स्कुलले विद्यार्थीलाई जीवन शिक्षासम्बन्धी तालिम दिएको छ ।
ज्ञान, विज्ञान र अतिरिक्त क्रियाकलापको क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल मध्यपुरथिमिस्थित सो स्कुलले विद्यार्थीलाई जीवन शिक्षासम्बन्धी तालिम दिएको हो ।
‘शिक्षा ज्ञान हो, चेतना हो, सर्वाङ्गीण विकासको एउटा आधार हो । जीवन शिक्षा जीवन जिउने एउटा कला हो । हरेक व्यक्तिले आफ्नो जीवन सफल, सार्थक एवम् प्रभावकारी बनाउँदै आफूले आफैँलाई चिनेर अगाडि बढाउनु पर्दछ’, सो कुरालाई व्यवहारमा उतार्न सहज बनाउनका लागि तालिम दिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताए ।
प्रिन्सिपल प्रजापतिले अबका पुस्तालाई कितावी ज्ञान र सीपले मात्र जीवन पूर्ण नहुने र सभ्यता, संस्कार, जीवनोपयोगी र व्यवहारयोगी कार्यक्रम मार्फत शिक्षा प्रदान गर्नुपर्ने कुरालाई मनन गरी विद्यालयले नैतिक चरित्र र जीवन शिक्षा प्रदान गरिरहेको कुरामा जोड दिए ।
उनले असार ३ र ४ गते ललितपुको ठेचोस्थित धार्मिक तथा सामाजिक विकास संस्थासँग सहकार्य गरी दुई दिन–एक रातको आवासीय तालिमको आयोजना गरेको जानकारी दिए ।
‘विद्यार्थीलाई नैतिकवान, चरित्रवान, सभ्य सुसंस्कृत र कर्तव्य परायण बनाउन सहयोग पुग्ने भएकाले उक्त कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला बताए । सहायक प्रिन्सिपल निरौलाकै संयोजकत्वमा कक्षा १० का ६३ जना विद्यार्थीलाई सो तालिममा सहभागी गराइएको थियो ।
विभिन्न आठ ओटा भागमा विभाजित उक्त तालिममा ताइवानी गुरु तथा नेपाली प्रशिक्षकहरुले जीवन सत्य, सदाचार, हाम्रा भूल र त्यसबाट बच्ने उपायहरु, आमा –बुवा र गुरुहरु प्रतिको हाम्रो कर्तव्य साँसारिक जीवन सत्य र जीवन जीउने मार्ग र साकाहारिता र जीवनमा बुद्धको प्रभाव अनि सफल र प्रभावकारी जीवन जिउने कलालाई सैद्धान्तिक र व्यवहारिक रुपमा प्रस्तुत गरेका थिए ।
तालिममा धार्मिक तथा सामाजिक विकास संस्था ठेचोका संयोजक तथा व्यवस्थापक सानुकाजी डङ्गोल तथा अन्य वक्ताहरुको व्यवस्थापन र आयोजनामा सो कार्यक्रम भएको थियो ।