भक्तपुर, ५ असार । लामो समयदेखि अड्किएको २ बो(उड्ने) सिंह स्थानान्तरणसँगै शिलु महाद्य(महादेव) मन्दिरको पुन: निर्माण चाँडै सम्पन्न हुने भएको छ ।
२०७२ को विनाशकारी भूकम्पले फसिदेग अर्थात् शिलु महाद्य गुम्बज शैलीको संरचना ध्वस्त भएपछि स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको पहलमा शिखर शैलीमा पुन: निर्माण भएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिले गोल्मढीमा पुरानो एक जोडी बो सिंह झिकेर नयाँ जोडी सिहं पदस्थापन समेत गरेको छ ।
उक्त मन्दिरको शिखर शैलीको पुन: निर्माणको अन्तिम चरणमा आईपुगेको बेला राख्नुपर्ने ४ बो सिहं मध्ये २ बो सिंह निर्माण कै क्रममा स्थापित भैसकेको र बाँकी २ बो सिंह गोल्मढी ७ को गहिटीबाट निकालेर उक्त मन्दिरमै स्थापना गर्न स्थानीय जनतासँग धेरै पल्ट छलफल भएको नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।
उनले नै छलफलमा सहभागी नभएका केही व्यक्तिले ब्यवधानको प्रयास सिर्जना गरेको बताए ।
भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल एवं स्थानीय जनताको बाजागाजा सहितको सहभागितामा उक्त बो सिंहहरु पुरानै ठाउँमा स्थानान्तरण गर्न वडा नं.७ का अध्यक्ष उकेश कवांको टोली लगायत स्थानीयले समन्वय गरेका थिए ।
भक्तपुर नगरपालिका वडा नं.५ का अध्यक्ष योगन्द्रमान बिजुक्छेले विदेशबाट चोरिएको मुर्ति फिर्ता भएर सोही ठाउँमा स्थापना गर्न सकिने सम्पदाको अन्तर्राष्ट्रिय नीति भएकोले शिलु महाद्य मन्दिरको सम्पति त्यही स्थापना गर्नु पनि आफ्नै हो भन्ने अपनत्वले अहिले शिलु महाद्यको मन्दिरले आफ्नो मौलिक मल्लकालकै शिखर शैलीको स्वरुप पाउन सफल भएको बताए ।
शिलु महाद्य मन्दिरका लागि उक्त २ बो सिंह भक्तपुरको गोल्मढीमा क्रेनबाट झिकेका थिए ।
उक्त क्षेत्रको सम्पदा सौन्दर्यलाई कायम राख्न स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको पहलमा पुरातत्व विभागको रु.६ लाखको लगानीमा एक जोडी नयाँ सिंह पनि स्थापना हुने स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाकी अरुणा नकर्मीले बताइन् ।