सत्यराम कासिछ्वा
भक्तपुर, २९ जेठ । नेपालका योजनाहरु असफल भएकोमा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेले चिन्ता व्यक्त गरेका छन् ।
उनले नेपालमा भूगोल र राजनीति विषयको अध्ययनमा कमी भएकोले विदेशीहरुको बढ्दो राजनीतिक चहलपहल कारण आर्थिक विकासको योजना असफल भएकोमा चिन्ता जनाएका हुन् ।
भक्तपुरको ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा भएको सम्मेलनमा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्थापन गतिलो नहुँदा विना योजना कमैया मुक्तिको घोषणाले आज पुन: ती कमैयाहरु जमिनदारको दास बन्न बाध्य भएको बताए ।
उनले विश्व व्यापार संगठन तथा एमसीसीमा अमेरिकाको व्यक्तिगत स्वार्थले विश्वमा आर्थिक विकासको व्यवस्थापनमा नेतृत्व गर्न चाहेको बताउँदै सरकार आफ्नो मौलिक योजना ल्याउने भन्दा पनि विदेशीको योजनामा चलेको संकेत गरेका छन् ।
सो कार्यक्रममा बिजुक्छेले योजना आयोगको काम र निर्णयमा सरकारले हस्तक्षेप गर्न नसक्ने भएकोले विदेशीको आर्थिक योजनामा नेपाल लगानी बोर्ड स्थापना गरेको बताउँदै मौलिक योजनाबद्ध आर्थिक विकासले नै समाजवादको जग बसाल्न सक्ने बताए ।
सम्मेलनको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अध्ययन अध्यापनलाई बदलिँदो समय अनुसार अनुसन्धानमा प्राथमिकता दिनुपर्ने बताउँदै प्राकृतिक स्रोत सम्पदाको योजनाबद्ध प्रयोगले देशलाई समृद्ध बनाउन सकिने बताए ।
उनले सरकारले राम्रो विद्यार्थीको बौद्धिकतालाई सही योजना बनाएर काम गर्न नसक्दा आज राम्रा विद्यार्थी विदेशमा बेच्न बाध्य भएको आरोप लगाउँदै प्राध्यापकहरुलाई पनि देशको लागि आवश्यक योगदान दिन आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विचारलाई भन्दा बढी अर्थतन्त्रको व्यवस्थापनलाई प्राथमिकता दिँदा आज सम्पूर्ण क्षेत्रमा अस्तव्यस्त तथा लथालिङ्ग भएको बताउँदै सरकार कम लागतमा अधिकतम लाभ लिन नसकेको बताए।
उनले सरकारले फास्ट ट्रयाकको नाउँमा भारतीय पूँजी व्यवस्थापनलाई आँखा चिम्लेर विश्वास गरेको आरोप लगाए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख तथा ख्वप कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल, त्रिभूवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्राध्यापक डा.धूर्व कुमार गौतम, ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक, आयोजक ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ लगायतले आर्थिक विकासमा व्यवस्थापनको महत्व बारे चर्चा गरेका थिए ।
आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन उद्घाटन सहित २ वटा प्राविधिक सत्र हुने र दोश्रो दिन ४ वटा प्राविधिक सत्र र समापन कार्यक्रम हुने बताए ।
उक्त सम्मेलनमा प्रा.डा.पुष्कर बज्राचार्य, प्रा.डा.धूर्वकुमार गौतम, डा.रामकुमार फुयाल, डा. किशोर हाकुदुवाल, डा.योगेश रञ्जित, प्रा.डा आरन स्थापित, डा.जितेन्द्र डंगोल नरबहादुर थापा, डा. गोविन्द तामाङ र डा.बिनोद के श्रेष्ठले प्राविधिक सीपहरु प्रदान गर्ने कलेजले जनाए ।
सो कार्यक्रममा ४० जना भन्दा बढीको कार्यपत्र प्रस्तुत हुने आयोजक कलेजले जनाएको छ ।