भक्तपुर , २९ जेठ ।जिल्ला समन्वय समिति भक्तपुरमा गाेला तानेर जिसस गठन गरिएको छ । गाेला तानेर गठन गरिएकाे समिति अध्यक्षमा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् ।
जिससका लागि भएकाे निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख, उपप्रमुख र सदस्यको छनौट गरिएको थियो ।
गोलाप्रथाबाट छनौट गर्दा जिसस प्रमुखमा एमालेका थापा र उप प्रमुखमा काँग्रेसकी सुजाता बाडे निर्वाचित भएकाे मुख्य निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु कार्की, विश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर निर्वाचित भए भने कांग्रेसबाट बिनु केसी चयन भइन् ।
भक्तपुरका चार नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख आठ जना मध्ये नेकपा एमालेका दुई प्रमुख र एक उपप्रमुखसहित तीन मत, नेपाली कांग्रेसको दुई प्रमुख सहित दुई मत, नेकपा माओवादी केन्द्रका एक उपप्रमुख सहित एक मत र नेपाल मजदुर किसान पार्टीको प्रमुख र उपप्रमुख सहित दुई मत गरि कूल आठ मत रहेको थियो ।
एमाले, काँग्रेस र नेमकिपा तीन वटै दलले आ–आफ्नो उम्मेदवारी उठाए पनि काँग्रेस र एमालेले अन्तिम समयसम्म पनि नेमकिपालाई प्रमुखसहित सदस्य दिएर बहुमत जुटाउन खोजे पनि नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै पनि साझेदारी नगर्ने अडान राख्दै आएको थियो । अन्तिममा एमाले र काँग्रेसबीच पनि मिलेर जाने प्रयास असफल भए पछि अन्तमा भएको मतदानमा एमालेका उम्मेदवारले तीन मत र काँग्रेस तथा माओवादी केन्द्रका उम्मेदवारले तीन मत गरि बराबर मत प्राप्त गरे पछि गोलाप्रथा गरिएको थियो ।