भक्तपुर, २६ जेठ । भक्तपुरका उद्योगी र व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । भक्तपुरको विकासका लागि लागि भन्दै भक्तपुरका व्यवसायीहरु प्रधानमन्त्री देउवा भेट्न गएका हुन् ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले भक्तपुरको विकासका लागि विभिन्न विषयबारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका थिए ।
उनीहरुले भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रे गर्न, सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यान केन्द्रको अविलम्ब निर्माण सम्पन्न गरी संचालन गर्नमात्र नभई विभिन्न राजनीतिक दलहरुले वर्षौंदेखि उठाइ रहेको विषयलाई समेत प्रधानमन्त्री सामु अगाडि सारे ।
उनीहरुले भक्तपुरका विभिन्न विषय समेटेर ११ वटा वुंदाहरुबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
उनीहरुले भक्तपुर जिल्लामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र सभाहल निर्माण गरिनुपर्ने, भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृत दिनुपर्ने, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउन तारे होटलहरु निर्माणको प्रवन्ध गरिनुपर्ने, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रुपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथासिघ्र उचित स्थानमा स्थानान्तरण गरिनु पर्ने वुंदा पनि समेटेका छन् ।
ती वुंदाहरुमध्ये अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र सभाहल निर्माणलाई एमालेको मुद्धा र ख्वप विश्वविद्यालय सञ्चालनको विषयलाई नेमकिपाको मुद्धाका रुपमा हेरिने गरेको छ ।
यसैगरी उनीहरुले व्यवसायीक कृषि खेती गर्नको लागि नेपालमै मल कारखाना खोल्नुपर्ने, जिल्ला भित्र उत्पादित कृषि उपजकोे बजारिकरण लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिनु पर्ने, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधारगरी श्रम लागत छिमेकी मुलुक सरह बनाइनु पर्ने, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै ८ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिनु पर्ने, विद्युतीय सवारी साधानमा करका दरमा गरिएको वृद्धिबारे पुर्नविचार गरिनु पर्ने र ।युवाहरुलाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्सान मिल्ने कार्यक्रमहरु ल्याउनु पर्ने विषय पनि अगाडि सारेका छन् ।
प्रधानमन्त्री देउवाको ध्यानाकर्षणको क्रममा संघका अध्यक्ष मानन्धरले नीजि क्षेत्र पनि राजनैतिक स्थायित्व र आर्थिक समृद्धिप्रति उत्साहित बन्न पुगेको बताए । उनले संघ स्थापना भएदेखि आरोह अवरोहले जिल्लाका निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाका रुपमा दरिलो उपस्थिति कायम गर्न सफल भएको जानकारी दिँदै संघ जिल्लाका उद्योगी÷व्यवसायीहरूको संरक्षण प्रवर्द्धनसहित व्यवसायिक वातावरण सिर्जनाका माध्यमबाट आर्थिक सामाजिक विकासमा योगदान दिन तयार रहेको उल्लेख गरे ।