भक्तपुर, २६ जेठ । भक्तपुरका खुला ठाउँमा भौतिक संरचना बनाउन नपाउने भएको छ ।
भक्तपुरमा बसेको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकको सो निर्णयलाई कार्यान्वयन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै नगरपालिकालाई परिपत्र गरिएको समेत बताइन् ।
बैठकमा उनले विपद व्यवस्थापनका लागि भक्तपुर नगरपालिकाभित्र ९ स्थानलाई खुला ठाउँका रुपमा राख्न जरुरी रहेको बताउँदै अन्य नगरपालिकाभित्रका सार्वजनिक खुल्ला ठाउँहरुको नाम पठान समेत निर्देशन दिइन् ।
बैठकमा सीडीओ शर्माले बिपदका लागि चाहिने सामानहरु सुरक्षा निकायले व्यवस्थित गरि राख्नुपर्नेमा जोड दिइन् ।
बैठकमा उपस्थित चारवटै नगरपालिकाका नगर प्रमुखहरुले आआफ्ना नगरपालिकामा बिपद ब्यवस्थापन पूर्वको लागि चाहिने सामान जनशक्तिहरु तयारी भईरहेको बारेमा जानकारी दिएका थिए ।
बैठकमा चारवटै नगरपालिकाले अव्यवस्थित प्लानिङ्ग र नदिजन्य बस्तु उत्खनन र जग्गा सम्याउने नाममा खानी सञ्चलन गरि नजिकै रहेको सम्पदा लगायत निजि बस्तीहरु समेत जोखिममा पारेकोले प्रहरी प्रशासनले निगरानीमा राखी आवश्यक कार्वाही गर्नुपर्नेमा जोड दिए ।