भक्तपुर, २५ जेठ । नयाँ र पुरानोको संगमले बस्ती विस्तारसँगै सडकको पनि विस्तार हुनु अनिवार्य छ ।
आर्थिक वर्ष २०७८/७९मा संघीय सरकारद्वारा विनियोजित रु ३ करोडको लागतमा घ्याम्पे डाँडाको सडक खण्ड सिलान्यास भएको छ ।
उक्त कार्यक्रममा संघीय सांसद महेश बस्नेतले २२५ हेक्टर जमिनमा पर्यटकीय गन्तव्यको रुपमा रहेको प्राणी उद्यान बन्दै गरेको बताउँदै गणेशस्थानबाट घ्याम्पे डाँडा पुग्ने दुई विकल्प सडकको रुपमा आदर्श चोकको सडक र गुण्डु सिमालय सडक रहेको बताए ।
उनले अहिलेको सरकारका मन्त्रीको गृह जिल्लामा मात्रै बजेट छुट्याएको बताउँदै भक्तपुरको विकास निर्माणलाई यथास्थानमा राखेर आर्थिक वर्षको अन्तमा चुनावमुखी बजेट ल्याएको आरोप लगाए ।
उनले बजेटको तीन गुणा बढीको टेण्डर आह्वान गर्न सकिने बताउँदै जनताले सडकका लागि आफ्नो जग्गा र कम्पाण्ड समेत छोडेको बताए ।
सूर्य विनायक नगरपालिका वडा नं ८ सिपाडोलको आदर्श चोक देखि वडा कार्यालय हुँदै घ्याम्पे डाँडा जाने सडक खण्डको बाटो कालोपत्रे गर्न सिलान्यास भएको हो ।
सो कार्यक्रममा सूर्य विनायक नगरपालिका नगर प्रमुख बासुदेव थापा र वडा नं ८ का वडा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।