सत्यराम कासिछ्वा
भक्तपुर, १५ जेठ । बस्ती विस्तारसँगै आवश्यक ढल निकासको समस्यालाई ‘निकास’ दिन विनियोजित बजेटले भक्तपुरको सिर्जनानगवासीले दुःख पाएका छन् ।
भक्तपुर नगरपालिकाको सृजनानगरमा बढ्दो ढल निकासको समस्या समाधानका लागि गरेको काममा ढिलाइ हुँदा सो क्षेत्रका स्थानीयले दुःख पाएका हुन् ।
सो क्षेत्रमा पुरानो र नयाँ बस्तीमा राखिएको पुरानो ढल झिकेर नयाँ ढलको कामका लागि ढल महाशाखाले १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
सोही १५ लाखको कामले अहिले भक्तपुरको सो क्षेत्रका स्थानीयले दुःख पाइरहेका छन् । सो कामको ठेक्का लिने व्यवसायीले समयमै काम नगर्दा स्थानीयको दैनिकी असहज बनेको छ ।
हिउँदमै गर्नुपर्ने काम वर्षा लागेपछि थाल्दा अहिले समस्या भएको स्थानीयको गुनासो छ ।
ढल राख्नका लागि खाल्डो खनेर बिग्रिएको बाटो र सुरु भएको वर्षाले निकासको काम रोकिएपछि सिर्जनानगरवासीको दैनिकीमा समस्या भएको हो ।
‘बाटोमा पानी जम्ने र हिलो हुन थालेको छ’, एक स्थानीयले भने, ‘बस्ती विस्तारसँगै ठूलो ढल निकास राख्दा स्कूलका बालबालिकामात्र हैन, सबै जना हिलो टेकेर हिड्न बाध्य भएका छन् ।’
‘समयमै काम नहुँदा कोही लड्ने गरेका छन्, कोही चिप्लिने गरेका छन् । सवारी साधन गाडिने र फस्ने गरेका छन्,’ अर्का पीडित स्थानीयले गुनासो गरिन् ।
उनीहरुले सो समस्या छिटो समाधान गरिदिन आग्रह समेत गरेका छन् । सो समस्या बुझ्नका लागि भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीको टोलीले गत जेठ ७ गते सो स्थानको निरीक्षण गरेका थिए । तर समस्या भने ज्युँका त्युँ नै छ ।
स्थानीय ललित घिमिरेले नगरपालिकाले उपभोक्ता समिति मार्फत सोही काम गर्न खोजे पनि गर्न नसकेको बताए । नगरपालिकाको उपभोक्ता समितिले सो काम गर्न नसकेपछि ढल महाशाखाले टेण्डर आह्वान गरी काम हात पारेको थियो । निर्माढा व्यवसायीले सो काममा ढिलाई गर्दा स्थानीयले सास्ती खेपेको उनको भनाइ छ ।
सृजनानगरको ढल निकास कार्य सपना कन्ष्ट्रक्शन प्रालिका संचालक जीत बहादुर राउतले गत जेठ २ गतेदेखि गरिरहेको र मौसमले साथ दिए त्यो कार्य २० गतेसम्म सकाउने लक्ष्य रहेको बताए ।
अहिले सो बाटोको कारण खेप्नु परेको बिजोगलाई लिएर सामाजिक सञ्जालमा भिडियो र फोटो आउने क्रम जारी रहेको छ ।