भक्तपुर, १३ जेठ । भक्तपुर नगरपालिका घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने पहिलो नगरपालिका भएको छ ।
सो कुराको दाबी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका हुन् । वीर अस्पताल नर्सिङ क्याम्पसका बी.एम.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजना भएको कार्यक्रममा उनले घरदैलो नर्सिङ सेवा सुरु गरी जनताको सेवा गर्ने पहिलो नगरपालिका रहेको बताए ।
उनले भक्तपुर नपा अहिले घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेको बताएका थिए ।
मातृत्व र प्रजनन् स्वास्थ्य विषयमा भएको घरदैलो नर्सिङ कार्यक्रमअन्तर्गतको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
ख्वप अस्पताल सञ्चालनमा ल्याएको नपाले वडा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्देश्य रहेको उनको भनाइ थियो । उनले सरसफाईलाई व्यवस्थित गर्न कुहिने र नकुहिने फोहर अलग अलग संकलन गरी व्यवस्थापन गर्दै आएको जानकारी दिँदै भक्तपुरका हरेक काममा जनताको अपनत्व र साथ भएकै कारण भक्तपुर आज देशकै नमूना र उदाहरणीय नगरको रुपमा रहन सफल भएको बताए ।
कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख वन्दना थापाले वीर अस्पतालले ख्वप अस्पतालसँग समन्वय गरी काम गर्न पाएकोमा निकै खुशी भएको बताइन् । आगामी दिनहरुमा पनि भक्तपुर नपाको काम पारदर्शी र जनमुखी हुने अपेक्षा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा वीर अस्पताल नर्सिङ क्याम्पसका शिक्षिका पूर्णदेवी महर्जन, विद्यार्थीहरु पूजा अैडी, करुणा थापामगरलगायतले कार्यक्रमको मुख्य उद्देश्यबारे प्रष्ट पार्दै आगामी दिनमा यस्तो साथ र सहयोगको अपेक्षा रहेको बताएका थिए ।