भक्तपुर, १२ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले शिक्षक प्रोत्साहन कार्यक्रम ल्याउने भएको छ ।
नगर क्षेत्रभित्र रहेका विद्यालयहरुका प्रधानाध्याक तथा प्रिन्सिपलहरुका लागि आयोजित कार्यशालामा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले शिक्षकको हित तथा दक्षता र क्षमता अभिवृद्धिका लािग शिक्षक प्रोत्साहन कार्यक्रम ल्याइने बताएका हुन् ।
‘शैक्षिक सुशासन, गुणस्तरीय शिक्षाको छ रहर ः शिक्षाको ज्योतिले जगमागाउँ चाँगु नगर’ भन्ने नारा तय गरी शिक्षामा अघि बढिरहेको चाँगुनारायणलाई शैक्षिक क्षेत्रको नमूना नगरपालिका बनाउनका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै नगर प्रमुख खत्रीले समाज परिवर्तका संवाहक शिक्षकको सम्मान जरुरी रहेकोमा जोड दिए ।
कार्यशालामा उनले शिक्षण कार्यमा शिक्षकहरुले इमान्दारिता प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षाका लागि शिक्षकले मिहिनेत गर्नुपर्ने र मिहिनेती शिक्षकलाई नगरपालिकाले उचित कदर गरिने समेत बताए ।
कार्यक्रममा उनले नगर क्षेत्रका विद्यालयहरुको स्तरोन्नतिको आवश्यकता औंल्याउँदै अभिभावकको मन जित्ने वातावरण बनाएर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।
सोही कार्यक्रममा उप नगरप्रमुख रमेश बुढाथोकीले शिक्षालाई गुणस्तरीय बनाएर मात्र समृद्ध समाजको परिकल्पना गर्न सकिने भएकाले शिक्षकहरुलाई सोही अनुसार तयार रहन र तयारी साथ पठनपाठन गर्न सुझाव दिए ।
शिक्षकहरुको क्षमता अभिृवृद्धि गर्न तथा शैक्षिक सत्रको तयारी अन्तर्गत विद्यालयले गर्नुपर्ने कामहरुबारे जानकारी दिन एकदिने कार्यशाला गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले बताए ।
उनले नगरपालिकामा शतप्रतिशत बालबालिका विद्यालयको पहुँचभित्र रहेको उल्लेख गर्दै सो कार्यलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।
शिक्षा शाखा प्रमुख खड्काले चाँगुनारायण नगरपालिकामा रहेका विद्यालयहरुले गुणस्तर कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
कार्यक्रममा नगर शिक्षा समितिका पदाधिकारीहरुले नवनिर्वाचित मेयर र उपमेयरलाई स्वागत गरेका थिए ।
चार वटा समूह विभाजन गरी आयोजना गरिएको कार्यशालामा सहभागी शिक्षक तथा प्रधानाध्यापकहरुले अनुभव सहित विभिन्न योजनाहरु पेश गरेका थिए ।
सोही कार्यक्रममा शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, रञ्जना सापकोटालगायतले शैक्षिक क्षेत्रमा गर्नुपर्ने कामहरुबारे चर्चा गरेका थिए ।