भक्तपुर नगरपालिकाले विगत लामो समयदेखि बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विभिन्न ठाउँमा शिशुस्याहार तथा बालविकास केन्द्र सञ्चालन गरिरहेको छ । सीमित ठाउँ, सीमित बजेट भए पनि भोलिको भविष्यका रुपमा रहेका बालबालिकाहरुको सुन्दर भविष्यका लागि भक्तपुर नगरपालिकाले गरिरहेको प्रयास उदाहरणीय भएको सबैले भन्ने गरेको यथार्थ घामझैं छर्लङ्ग छ ।
हाल नगरका विभिन्न ठाउँ गरी आधा दर्जन ठाउँमा शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन गरिरहेको नगरपालिकाले छुट्टै बालविकास शाखा गठन गरेको छ । सो शाखा प्रमुखका रुपमा रहेका छन्, दिपेन्द्र प्रजापति ।
बालबालिकाको शिक्षा र बालबालिकालाई सिर्जनशील बनाउनका लागि समय दिइरहेका व्यक्ति प्रजापतिले सो शाखाको नेतृत्व लिएसँगै केन्द्रहरुमा उल्लेख्य सुधार आउन थालेको छ , जसकारण पछिल्लो समयमा केन्द्रमा बालबालिकाको आर्कषण बढेको छ । यही सेरोफेरोमा रहेर गरिएको कुराकानीः
शिशु स्याहार तथा बालविकास केन्द्र भनेको के हो?
बच्चाहरुको सर्वाङ्गिण विकासलाई ध्यान दिएर स्याहारसुसार गर्ने व्यवस्था नै शिशु स्याहार तथा बालविकास केन्द्र हो।
शिशु स्याहार तथा बालविकास केन्द्रमा कस्ता बच्चाहरु आउने गर्दछ ?
विशेष गरेर शिशु स्याहार तथा बालविकास केन्द्रहरुमा विभिन्न खेतीपाती अन्य काम र पेशामा व्यस्त भएकाहरुको कामलाई समेत निरन्तरता दिने सकोस् भन्ने हिसाबले साढे १ वर्ष र त्यसको हाराहारीमा पुगेपछि शिशुहरुलाई पुर्याउन आउनेलाई व्यवस्था गरेकाले विभिन्न पेशामा आवद्धका शिशुहरु आउने गर्दछ।
शिशु स्याहार तथा बालविकास केन्द्र कस्तो हैसियत भएको अभिभावकले शिशुहरु पठाउने गर्दछ?
सामान्यतया सबै प्रकारका अभिभावकलाई समेटेर भक्तपुर नगरपालिकाले नगरबासी अभिभावकको समस्यालाई मनन गरेर अभिभावकले पनि आआफ्नो जिम्मेवारीको कामलाई निरन्तरता दिने उद्देश्यले बिहान साढे ९ बजेदेखि दिउँसो ५ बजेसम्मको कार्यालय समयको जिम्मा लिने हिसाबले शिशु स्याहार तथा बालविकास केन्द्र संचालन गरेको हुनाले सबै वर्गका अभिभावक आएको हामी पाउँछौं।
शिशु स्याहार तथा बालविकास केन्द्रबाट शिशुले पाउनुपर्ने मातृत्वको अधिकार हनन भएको मान्नु हुन्छ कि हुन्न?
त्यति सम्म त नभनौं किनकी शिशु स्याहार तथा बालविकास केन्द्रहरुमा सकेसम्म बच्चाहरुलाई मायाको भावनाले व्यवहारिक रुपमा खेल खेलाउने अवसर दिँदै सबैको सहभागीमूलक हिसाबले स्याहार गर्ने भएकोले घरमा दिने माया र शिशु स्याहार केन्द्रमा दिने मायामा शिशुहरुले फरक पाउँदैनन्।
विश्वमा शिशु स्याहार तथा बालविकास केन्दको व्यवस्था कहाँकहाँ कस्तो अवस्थामा छ?
विश्वमा सबै देशले आआफ्नो तरिकाले शिशु स्याहार तथा बालविकास केन्द्रको व्यवस्था गरेको होला, तिनीहरुले आफनो ठाउँ र भौगोलिक बनावट स्वरुपले शिशु स्याहार तथा बालविकास केन्द्रको फरकता हुनु स्वभाविक नै हो । तर भक्तपुरको सन्दर्भमा विदेशको भन्दा फरक अवश्य हुन्छ । यहाँको किसान परिवारमा हुर्केका बच्चाहरु, विभिन्न पेशामा आवद्ध भएका परिवारका बच्चाहरु विश्व परिवेश भन्दा भिन्न तरिकाको वातावरणलाई समेट्दै हामी अगाडि बढिरहेका छौं।
शिशु स्याहार तथा बालविकास केन्द्र नेपालमा कहिले कहाँबाट सुरु भएको हो?
त्यसको इतिहास हामीले खोज्नैपर्छ । तर भक्तपुर नगरपालिकामा २०५६ सालदेखि जनप्रतिनिधिले शैक्षिक क्षेत्रमा नयाँ चासो, सोच र जाँगरका साथ ध्यान दिई प्रत्येक वडामा शिशु स्याहार केन्द्र खोल्ने योजनाको क्रममा ६ वटा वडामा निरन्तर रुपमा संचालन भएका छन्।
भक्तपुरमा शिशु स्याहार तथा बालविकास केन्द्र स्थापना हुनुमा कसको देन छ ?
विशेष रुपमा त भक्तपुर नगरपालिका कै हो । नगरपालिकाका जनप्रतिनिधिहरु नेपाल मजदुर किसान पार्टीको भएकोलले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भक्तपुर बासीलाई शिक्षित बनाउने उद्देश्यले शिशु हुर्केको अवस्था देखि विशेष ध्यान दिनुपर्छ भन्ने मान्यता र परिकल्पना नै नेमकिपा कै हो।
भक्तपुरको शिशु स्याहार तथा बालविकास केन्द्रमा नेपाल सरकारले कुनै खर्च व्यहोरेको छ कि छैन ?
भक्तपुरको शिशु स्याहार केन्द्र संचालनका लागि कुनै दातृसंघसंस्था रहेको छैन । शिशु स्याहार केन्द्रको संचालनमा भक्तपुर नगरपालिकाले पूर्ण स्वामित्वमा लगानी र खर्च गरिएको छ।
शिशु स्याहार तथा बालविकास केन्द्र संचालनको लागि भक्तपुर नगरपालिकाले कति बजेट विनियोजन गरेको छ?
बजेट भन्दा पनि नगर बच्चाहरु हुर्काउनका लागि दिनमा दुई पटक खाजा वा खानाको व्यवस्थाका लागि आवश्यक शिक्षिका जनशक्ति वा दिदीहरु, पर्याप्त खेलौना तथा भौतिक पूर्वाधार तयार गर्दा एक जना बच्चाको लागि महिनामा रु.४००० देखि ४५०० खर्च हुन्छ तर पनि हामी १००० रुपैयाँ लिइरहेका छौं । यसले केही घाटा भए तापनि नगरपालिका सेवामूलक संस्था भएकोले नगरबासीको हितलाई ध्यानमा राखेर काम गर्दा नाफा र घाटाको कुरा हुँदैन । नगरपालिकाको प्रमुख उद्देश्य नगरबासीलाई सहयोग र सचेटना प्रदान गर्ने, नगरबासीका छोराछोरीलाई हुर्काउने दायित्व भएकोले घाटामा पनि सफल रुपमा संचालन भईरहेको छ ।
विगत लामो समयदेखि संचालनमा रहेको शिशु स्याहार केन्द्रहरुको उपलब्धी के हो ?
शिशु स्याहार केन्द्रमा शिशुहरु विद्यालय जानुपर्वको आधारभूत ज्ञानको रुपमा आफ्नो सामान चिन्ने, वस्तुको नाम भन्ने तथा शब्दहरु बोल्न जान्ने हामीले पाईरहेका छौं । अभिभावकले आफ्नो कामलाई निरन्तरता दिन सक्नु नै शिशु स्याहार केन्द्रहरुको उपलब्धी हो ।
शिशु स्याहार तथा बालविकास केन्द्र संचालन गर्न अभिभावकबाट कस्तो सहयोग पाउनु भएको छ ?
सामान्यतया अहिले अभिभावककै सहयोगमा नै शिशु स्याहार तथा बालविकास केन्द्र संचालन भइरहेकै हो । किनकी अभिभावकले नगरपालिका प्रति गरेको विश्वास तथा नगरपालिकाको अभिभावक प्रतिको विश्वासको कारणले गर्दा अहिले क्रमबद्ध संचालनको आधार एक आपसको विश्वास र शिशु स्याहार तथा बालविकास केन्द्रले गरेको काम प्रति अभिभावकको सन्तुष्टि पनि हो । २०५६ सालदेखि निरन्तर रुपमा स्थायीत्वका साथ संचालन भइरहेको कारण पनि अभिभावकको सहयोग नै हो ।
भक्तपुरको कुनकुन शिशु स्याहार तथा बालविकास केन्द्रमा कति संख्यामा शिशु तथा सहजकर्ताहरु रहेका छन्?
सामान्यतया भक्तपुर नगरपालिकाले स्थापना कालदेखि शिशु स्याहार तथा बालविकास केन्द्र संचालन गर्दा बाल मनोविज्ञान अनुसार एक जनाले १० जना हेर्न सक्ने मान्यताले प्रत्येक केन्द्रमा ४० जना बालबच्चा हेर्न २ जना सहजकर्ता शिक्षिका र २ जना आयादिदीको व्यवस्था गरी ४ जनाले ४० जना बच्चालाई समान रुपमा हेरविचार गरिरहेका छौं । बढीमा ४० जना राख्ने क्रममा कुनैमा २८ कुनैमा ३० तथा कुनैमा ३५ जना सम्म राख्दा अनुपातमा ३५ जना सम्म शिशुहरु शिशु स्याहार तथा बालविकास केन्द्रमा रहेका छन् ।
शिशु स्याहार तथा बालविकास केन्द्र विस्तारको क्रममा विद्यार्थी संख्या कम भएको स्थानीय सामुदायिक विद्यालयको प्रयोग गर्ने योजना छ कि छैन ?
हुन त शिशु स्याहार तथा बालविकास केन्द्रले नगरबासी छोराछोरीको सेवा गर्ने नै हो, यो नै भक्तपुरमा बच्चाहरुको स्याहारसुसार गर्ने पहिलो संस्था हो । २०५६ सालमा नयाँ सोचका साथ शिशु स्याहार तथा बालविकास केन्द्र स्थापना हुँदा अरु कुनैपनि शिशु स्याहार तथा बालविकास केन्द्र थिएन । त्यसपछि विस्तारै निजी विद्यालय पनि शिशु स्याहार तथा बालविकास केन्द्र खोल्न थाल्दा धेरै महंगो भएको कारण पढाउन मै ठूलो समस्या थियो । तर सरकारी विद्यालयमा अभिभावकको विश्वास कम हुँदै जाँदा धेरै भन्दा धेरै अभिभावकले निजी विद्यालयको शिशु स्याहार तथा बालविकास केन्द्रको आकर्षणमा बाध्य भएर त्यहाँ पठाएका हुन् । त्यसको विकल्पको रुपमा स्तरीय स्याहारसुसार र कम शुल्कमा रहेको छ । विद्यार्थी संख्या कम भएको स्थानीय सामुदायिक विद्यालयको प्रयोगको लागि छलफल तथा ती विद्यालयको स्तर उन्नतिको लागि सरकारी विद्यालयका शिक्षकलाई केन्द्रित गरेर आवश्यक तालिम संचालन समेत गरेका छौं । नगरपालिकाले संचालन गरेको शिशु स्याहार तथा बालविकास केन्द्रहरुसँगै नगरका सम्पूर्ण शिशु स्याहार तथा बालविकास केन्द्रहरु माथि उठाउने प्रयास भएको छ ।
शिशु स्याहार तथा बालविकास केन्द्रहरु कसरी कुनकुन ठाउँमा विस्तार गर्ने योजना रहेको छ ?
भक्तपुरको ६ वटा ठाउँमा शिशु स्याहार तथा बालविकास केन्द्रहरु भार्वाचो, मंगलतीर्थ, गोल्मढी, भोलाछेँ, खँचा इनाचो तथा लिवालीमा संचालन भएका छन् । अहिले विस्तार गर्ने क्रममा अभिभावकको माग बमोजिम वडावडामै संचालन र थप विस्तार गर्ने क्रममा बालमन्दिरमा संचालन गर्ने निर्णय भएको छ । स्तरोन्तिको रुपमा भावार्चालाई नयाँ ठाउँमा मर्मत र व्यस्थापन गरि नमुना शिशु स्याहार तथा बालविकास केन्द्र बनाउन लागिपरेका छौं । अभिभावक र शिशुहरुको लागि सहजता दिन सवारी साधनको रुपमा भ्यानको व्यवस्था गर्ने सोच, कमल विनायकको पोखरीको पूर्वतिर कागजको पूर्णप्रयोग गरिने ठाउँ खाली रहेकोले त्यहाँ स्तरीय शिशु स्याहार तथा बालविकास केन्द्र संचालन गर्ने सोच रहेको छ ।
शिशु स्याहार तथा बालविकास केन्द्रमा स्थानीय शिशुहरुको बाहुल्यता छ कि अन्यको ?
पहिले १५ वर्ष जनप्रतिनिधि नभएको बेला शिशु स्याहार तथा बालविकास केन्द्र प्रति आकर्षण घटेको थियो । त्यो बेला बाहिरी जिल्लाका बालबच्चाहरु धेरै थियो । अहिले शिशु स्याहार तथा बालविकास केन्द्रहरुको आकर्षण बढेसँगै प्रायजसो भक्तपुर नगरकै अभिभावकका बालबच्चाहरु रहेका छन् ।
शिशु स्याहार तथा बालविकास केन्द्रका बालबालिकाको शारीरिक, मानसिक लगायत चौतर्फी विकास भएको छ त ?
कतिपयले शिशु स्याहार तथा बालविकास केन्द्रमा बालबच्चाहरु फकाउने ठाउँको रुपमा लिएका छन् । अहिले हामीले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक लगायत चौतर्फी रुपमा सर्वाङ्गिण विकासमा ध्यान दिएका छौं । बिहान साढे ९ बजे बालबच्चाहरु पुर्याउँदादेखि बेलुकी ५ बजेसम्मको हाम्रो दैनिक पाठयोजना तयार हुन्छ । त्यसमा बालबच्चाहरुलाई कुन बेला लिने, खेलाउने, शब्द उच्चारण सिकाउने, टिभी देखाउने टिभीमा व्यवहारिक कुरा देखाउने, छलफलमा खेलाउने, गीत गाउन लगाउने यी समग्र पक्षलाई हामीले ध्यान दिएका छौं । यसले समूहमा खेल्न सिक्ने, आफ्नो सामान चिन्न सक्ने जस्ता परिवर्तन अभिभावकले महसुस गरेका छन् ।
अहिले निजी र सामुदायिक विद्यालयमा पनि शिशु स्याहारको बन्दोबस्त भएको बेला भक्तपुर नगरपालिकाको शिशु स्याहार केन्द्र नै किन रोज्ने ?
हुन त तिनीहरुले पनि शिशु स्याहार केन्द्र संचालन गरेकोलाई पनि राम्रै मान्नै पर्छ । तर तिनीहरुले आफ्ना विद्यालयमा विद्यार्थीको संख्या बढाउन र केही नाफाको उद्देश्यले एउटा छुट्टै कुनामा सीमित गरेको छ । जहाँ शिशुहरुको लागि पर्याप्त खेलको लागि आवश्यक ठाउँ र शैक्षिक सामग्रीको व्यवस्था हुँदैन । तर भक्तपुर नगरपालिकाले शिशु स्याहार तथा बालविकास केन्द्रमा शिशुहरुको आवश्यकता अनुसार खेल तथा शैक्षिक सामग्रीको व्यवस्था गर्दै नियमित स्वास्थ्य परीक्षण पनि गर्दै आएका छौ । आवश्यकता अनुसार शिशुहरुलाई बाहिरी वातावरणको अवलोकन पनि गराईरहेका छौं ।
नगरपालिकाले संचालन गरेको शिशु स्याहार केन्द्रमा ठाउँको अभाव छ, बालमैत्री, शिशुमैत्री वातावरण नभएको गुनासोलाई के भन्नुहुन्छ ?
हो, गुनासोलाई नै हामीले मार्ग निर्देशको रुपमा लिएर सुधार गर्दै आइरहेका छौं । भार्वाचोको शिशु स्याहार तथा बालविकास केन्द्रलाई थप व्यवस्थापन र सुधार गर्दै गुणस्तरीय र नमुना बनाउन लागिपरेका छौं । गोल्मढी, लिवालीको शिशु स्याहार तथा बालविकास केन्द्रलाई अझ सुधार गर्दैछौं । नव निर्वाचित मेयर ज्यूले पनि २/३ रोपनीमा फैलिएको व्यवस्थित शिशु स्याहार तथा बालविकास केन्द्र संचालनका लागि घचेटिरहेको छ ।
संचालन भएको शिशु स्याहार तथा बालविकास केन्द्रलाई स्तर उन्नति गरेर पूर्व प्राथमिक तहको विद्यालयको रुपमा संचालन गर्ने योजना छ त ?
हुन त शिशु स्याहार तथा बालविकास केन्द्रमा अभिभावक बैठक बस्दा कक्षा १ सम्म संचालन गर्न माग गरेका छन्, तर संचालन नगर्ने अवस्था भने नरहेको होइन । यी शिशु स्याहार तथा बालविकास केन्द्रलाई नै अझ राम्रो रुपमा संचालन गर्दै सोचे अनुरुप स्तरीय भएपछि अभिभावकको मागको आधारमा विज्ञहरुसँग सल्लाह छलफल गर्दै शिशु स्याहार भन्दा माथि किण्डर गार्डेन सहित प्राथमिक तहका कक्षा संचालन गर्ने अवस्था पनि रहन्छ ।
अन्त्यमा भन्नैपर्ने केही छ कि ?
भक्तपुर नगरपालिकाले संचालन गरेको यो पहिलो शिशु स्याहार तथा बालविकास केन्द्र होला । नगरपालिकाले शिक्षा क्षेत्रमा कलेजहरुको स्थापना गरेर हजारौंलाई शिक्षा दियो । जब सम्म ती कलेजमा जाने शिशुहरुको लागि राम्रो स्याहासुसार हुने, हुर्कने अवसर वातावरण हुँदैन तबसम्म त्यो बच्चा भोलि राम्रो विकास हुँदैन । किनकी बीउ राख्ने बेला हेरबिचार गर्न सकिएन भने भोलि धेरै मेहनत गरेर पनि अर्थहिन हुने भएकोले बच्चाहरुको हेरविचार शिशु अवस्थामा नै गर्नुपर्छ ।
प्रस्तुति : सत्यराम कासिछ्वा