- सत्यराम कासिछ्वा
भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिकामा नेमकिपोका सम्पूर्ण उम्मेदवारहरु अत्यधिक बहुमतबाट विजय भएको उपलक्ष्यमा नगर परिक्रमा गरिएको छ ।
भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति २९२५२ मत र उप मेयरमा नेमकिपाकै उम्मेदवार रजनी जोशी २९२७५९ मतले विजयी भएका हुन् । नेमकिपाले १० वटै वडा प्यानलमा अत्यधिक बहुमत सहित विजय हासिल गरेका थिए ।
काठमाडौं उपत्यकामै सर्वप्रथम भक्तपुर नगरपालिकामा विजय र्याली भएको हो । निक्कै शान्त र सभ्य बाजागाजा सहितको धन्यवाद र्यालीमा लाखौं जनता तथा हजारौं मतदाताहरुले स्वागत र शुभकामनाको रुपमा सगुन दिएका थिए ।
विजय र्याली अघि नेमकिपाको केन्द्रीय सदस्य तथा सचिव एवं संघीय सांसद प्रेम सुवालले मादलमा जनताको छाप एमसीसीको सैन्य मोर्चा तथा विश्वमा अशान्ति फैलाउने नाटो सैन्य मोर्चाको विरुद्ध हो भनी सम्बोधन गरे ।
सम्बोधनकै क्रममा उनले ३ प्रतिशतको सीमा, निर्वाचनमा पैसा र सामान बाँडेर भोजभतेर गर्नेहरुको विरुद्ध घोषणपत्रहरुको लडाईको रुपमा निर्वाचनको प्रयोग गरेको बताएका थिए ।
उनले भारतीय विस्तारबादले बाटो बनाउने निहुँमा नेपालको कालापानी लिपुलेक लिम्पियाधुरा तथा बुद्ध जयन्तिको दिन बुद्धको ध्यान गर्ने बाहनामा अरुण ४ कब्जा गर्न नेपाल आएको आरोप लगाए ।
उनले महाकाली सन्धी, सन् १९५० को असमान सन्धी सम्झौता तथा पट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरुद्ध जनताले मत दिएको बताएका थिए ।
नव निर्वाचित मेयर सुनिल प्रजापतिले जनताको मत खेर जान नदिने बचन दिँदै जनताको आधारभूत जनजीविकालाई सहज पुर्याउन आवश्यक पूर्वाधार निर्माण गर्ने भनी मत दिएका मतदातालाई धन्यवाद दिएका थिए ।
धन्यवाद र्यालीमा नव निर्वाचित मेयर, उपमेयर तथा १० वटै वडाका नव निर्वाचित वडा अध्यक्ष लगायत सम्पूर्ण वडा सदस्यहरु मतदातालाई धन्यवाद दिन अघि सरेका छन् ।
विजयोत्सवमा सहभागीहरुले एमसिसी खारेजीको मागसहित अमेरिकी विस्तारवाद र भारतीय विस्तारवादविरुद्ध नारा समेत लगाएका थिए ।