भक्तपुर, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरोकाटमा विजय हासिल गरेको छ ।
विजय हासिल गर्नका लागि नेपाली काँग्रेस र राप्रपाको तर्फबाट साझा उम्मेदवार बनेका धनबहादुर लामाले एक हजार ४ सय ११ मत हासिल गरे ।
उनीसँगै सो वडामा अन्य सबै सदस्यले पनि जीत हासिल गरे । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, आरती लामा, हरिप्रसाद लामिछाने र सोनु विक रहेका छन् ।
सो वडामा राप्रपाको टीमले विजय हासिलमात्र गरेन, एमालेका उम्मेदवार विष्णु लामालाई एक हजार २०३ मतमा सीमित गरेर ‘कम्युनिष्टको किल्ला’ को रुपमा रहेको नगरकोटमा २५ वर्षपछि पुनः राप्रपाले आफ्नो झण्डा गाडे ।
त्यसका लागि नगरकोटवासी सबै एकजुट भएर लागेको राप्रपाका केन्द्रीय सदस्य एवं सहमहामन्त्री रविन्द्रप्रताप शाहले बताए । चाँगुनारायण नगरपालिकाको मेयरका उम्मेदवार समेत रहेका शाहले नगरकोटमा राप्रपा विजयी गराउनका लागि नगरकोटवासी एक भएर लागेको र पार्टीका लागि मिहिनेत गरेको बताए ।
उनले नगरकोटमा विगत लामो समयदेखि कम्युनिष्टको नाममा एमालेले गरेको विभेदपूर्ण कामको बदला लिएको समेत बताए । उनले भने, ‘नगरकोटबासीले राप्रपालाई जिताएर स्व. सुरेन्द्रप्रताप शाहलाई साँचो अर्थमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।’
यसअघि अर्थात् २०७४ सालमा पनि राप्रपाले जितका लागि प्रयास नगरेको हैन । त्यो बेलामा पनि राप्रपाकै तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका ३९ वर्ष(पाँच वर्षअघि)का धनबहादुर लामाले ९२६ मत ल्याएका थिए । योपटक भने भोट संख्या समेत बढाएर उनले जीत हासिल गरेका छन् ।
उनको जीतमा सारा नगरकोटवासी खुसी भएका छन् ।
सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदवार थिए । तर, उनलाई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए । पाँच वर्षअघि एमालेबाट हराइएको उनले योपटक एमालेलाई हराएका छन् ।
आफ्नो जीतपछि उनले जनताको चाहनाअनुसार नै राप्रपा र नेपाली काँग्रेसबीच गठबन्धन गरेको उल्लेख गर्दै घुमाउरो पारामा नगरकोटवासी एमालेको चु्रीफुरीबाट दिक्क भएको समेत जनाए ।
उनले जीतपछि भने, ‘यो धनबहादुरको मात्र विजय हैन, नगरकोटवासीको विजय हो, म नगरकोटवासीको शिर झुक्ने गरी काम गर्दिनँ, सबैसँग समन्वय गरी अघि बढ्छु ।’
सो वडा अर्थात् साविक नगरकोट गाविसमा २०५४ देखि एमालेले जीत हासिल गर्दै आइरहेको थियो ।