भक्तपुर, २६ वैशाख। नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष सुरेन्द्रराज गोसाइँले एमाले नेतृत्वको सूर्यविनायक नगरपालिका बद्नामी कमाएको पालिका भएको बताएका छन् ।
भक्तपुरमा आयोजित चुनावी सभामा अध्यक्ष गोसाइँले गएको पाँच वर्षमा एमालेले नेतृत्व गरेको सूर्यविनायक नगरपालिकामा अनगिन्ती जनविरोधी काम भएको बताउँदै भ्रष्टाचारको निम्ति, अनियमितताको निम्ति र अनेकौं काण्डैकाण्डका कारण सूर्यविनायक नगरपालिकाले बद्नामी कमाएको बताए ।
उनले एमालेलाई धुन्धुकारी, ध्वंसकारीको संज्ञा दिँदै तिनीहरुलाई अलग्याउनु पर्ने समे बताए ।
कार्यक्रममा उनले नगरपालिकाकै मेयर, उपमेयरहरुको संरक्षणमा सूर्यविनायकका थुप्रै सार्वजनिक ठाउँहरु म्हासिएको र व्यक्तिको अतिक्रमणमा परेको चर्चा गर्दै त्यस्ता काम गर्ने एमालेलाई भोट दिन नहुनेमा जोड दिए ।
सोही कार्यक्रममा उनले सूर्यविनायकका मिरदेखि मेयर, वडाध्यक्ष र वडासदस्य समेत खराब हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले एमालेको अत्याचारको अन्त्यका लागि नेमकिपा विकल्प रहेको जनाए ।