भक्तपुर, २६ वैशाख । वडाध्यक्षका उम्मेदवार पाण्डव सुवालले एमालेले सूर्यविनायक नगरपालिकामा भइरहेका प्लटिङबाट कमिशन खाएको बताएका छन् ।
नेपाल मजदुर किसान पार्टीका तर्फबाट सूर्यविनायक नगरपालिका वडा नं. १० को वडाध्यक्ष पदमा उम्मेदवार बनेका सुवालले एमालेका तर्फबाट मेयर, उपमेयर र वडाध्यक्ष बनेका जनप्रतिनीधिहरुले प्लटिङकर्ताबाट कमिशन खाएको बताएका हुन् ।
सूर्यविनायक चोकमा गरेको चुनावी सभामा उम्मेदवार सुवालले सूर्यविनायक नगरपालिकामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने नाममा जनतालाई झुक्याएर प्लटिङ गरेको बताउँदै तिनै प्लटिङकर्ताबाट नगरपालिकाको नेतृत्व गरेका व्यक्तिहरुले कमिशन खाएको बताए ।
उनले सूर्यविनायक नगरपालिकामा एमाले नेतृत्वको कारण भ्रष्टाचार मौलाएको उल्लेख गर्दै जनतालाई दुःख दिने कामा गरेको बताए । उनले आउँदो निर्वाचनमा एमाले, काँग्रेस र माओवादीलाई पराजित गरी नेमकिपालाई जिताउनु जरुरी रहेको उल्लेख गरे ।
उनले नेमकिपाले जनताको पक्षमा काम गरिरहेको बताउँदै पार्टी अािर्थक अनुशासनमा प्रतिवद्ध रहेको समेत बताए ।