भक्तपुर, १२ बैशाख । चाँगुनारायण नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सिनाले आफ्नो उम्मेदवारी चाँगुनारायण नगरपालिकामा बढेको विकृति र विसंगतिविरुद्ध रहेको बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले विगत पाँच वर्षमा मेयर, उपमेयर बनेका दलहरुको शासनले जनता आजित भएको बताउँदै ती जनतालाई राहत दिनका लागि आफूले उम्मेदवारी दिएको बताए ।
उनले नगरपालिकामा जितेर गएकाहरुले आफूहरुलाई नवसम्राट सम्झेर जनतामाथि हुकुमी शासन चलाएको बताउँदै त्यो खाले हुकुमी शासनको अन्त्यका लागि पनि उम्मेदवारी दिएको बताउँदै देशघाती एमसीसी सम्झौताविरुद्ध र देशको स्वाधिनताको लागि पनि भएको बताए ।
तत्कालिन सुडाल गाविसमा २०३९ सालमा गाविस अध्यक्ष तथा २०५४ सालमा जिल्ला विकास समितिको सदस्य समेत भइसकेका उनले आफूलाई पार्टीको ऐजेण्डा पूरा गराउनका लागि उम्मेदवारी दिलाएको बताए ।
उनले चाँगुनारायणमा आफूले जितेको खण्डमा चाँगुनारायणलाई देशकै नमूना नगरपालिका बनाउने योजना समेत रहेको बताए ।