भक्तपुर, १२ बैशाख । नेकपा एमाले भक्तपुरले नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ।
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारी टुंग्याएको हो ।
सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुख र उपप्रमुखमा आकांक्षीहरु बढी देखिएपछि उम्मेदवारी टुंग्याउन मुश्किल परेको थियो ।
बढी आकांक्षीहरुका बीच सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा एमालेले साविककै नगर प्रमुखलाई दोहोर्याउने गरी उम्मेदवारी दिने भएको छ । सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र बालकोट निवासी सरिता भट्टराईलाई उम्मेदार बनाउने पार्टीले निर्णय गरेको छ ।
त्यसैगरि मध्यपुर थिमिमा पनि एमालेबाट मदनसुन्दर श्रेष्ठलाई पुनः नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ । सो नगरपालिकामा उत्तरा नेपाललाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ।
यता चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हालेकी बिना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने भएको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने भएको निर्णय गरेको छ । बुढाथोकी मेयरका आकांक्षी थिए ।
भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रबिन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाई, खर्बुजालाई उम्मेदवार बनाउने भएको छ ।