भक्तपुर, १० बैशाख । भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतिमा भक्तपुरमा एकदिने हाट बजार सञ्चालन भएको छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि जुजु इभेण्टस्ले उक्त हाट बजारको आयोजना गरेको हो ।
भक्तपुर दरबार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा सञ्चालन भएको हाट बजारमा २५ वटा स्टलहरु रहेका छन् । जसमा खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लता कपडा आदिका स्टलहरु रहेका छन् ।
उक्त हाट बजारको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष्ँ राजेन्द्र मल्लले एक समारोहका बीच गरे । सो अवसरमा स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि भएको कार्यक्रमको विशेष महत्व भएको बताए । साथै आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनहरुलाई विशेष प्रथमिकतामा राखेर प्रवद्र्धन गर्नु पर्नेमा उनको जोड थियो ।
यसै गरी कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनहरुको विकासमा सहयोग पुग्ने बताए । साथै भक्तपुर चेम्बर अफ कमर्सले जिल्लाका विभिन्न स्थानहरुको यस प्रकृतिका हाटबजारहरु सञ्चालनका लागि प्रोत्साहन गर्दै जाने बताए ।
कार्यक्रममा आयोजक संस्था जुजु इभेण्टसका सुशान्त सुवालले सहभागीहरुलाई स्वागत गरेका थिए भने जुजु इभेण्टसका आसिम वेंजुले हाट बजारको उद्देश्यका बारेमा बोलेका थिए ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्य समिति सदस्यद्वय रोशन भोयद्यो र परशुराम दाहालले शुभकामना दिएका थिए ।