हरिसुन्दर छुकां/ भक्तपुर, ९ बैशाख । छालिङमा खोला पुरेर प्लटिङ गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको चाकतु टोलसँगैको खोला छेउमा जग्गा व्यवसायीहरुले खोला नै पुरेर प्लटिङ गरेका हुन् ।
जग्गा व्यवसायीहरुले जग्गा सम्याउनका लागि अनुमति नै नलिइकन छालिङको १० फिटे खहरे खोला पुरेका छन् । उनीहरुले खोला नै पुगेर सडक निर्माण गरेको छ । त्यसरी निर्माण गरिएको सडकमाथि ह्युम पाइप ओछ्याएका छन् ।
सो कार्यप्रति स्थानीयले आपत्ति जनाएका छन् । ‘भएको खोला नै पुरेर यहाँ प्लानिङ गरिएको छ, प्लानिङका लागि बाटो चाहियो भनेर खोलमा ह्युम पाइप बिच्छ्याएका छन्’ स्थानीय कृष्णमाया चाकतुले भनिन् । ‘प्लानिङ गर्नेले मनपरी गर्दा हाम्रो खेतबारी सबै डुब्ने भएको छ ।’
सो प्लानिङका लािग काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ स्वीकृति समेत दिएको छैन । ‘खोलाकै कारण बस्ती र खेत जोखिममा परेको छ’, स्थानीय कृष्णमाया चाकतुले थपिन् । उनले खोला जस्ताको तस्तै चाहिने बताइन् ।
अर्का स्थानीय श्रीभक्त चाकतुले साँध सिमाना नछुट्याइन प्लटिङकर्ताले जर्बजस्ती काम गरेको बताए । खहरे खोला नै पुरेर गरिएको गरेको प्लटिङले सिञ्चाइमा समेत समस्या भएको उनको भनाइ छ ।
व्यक्तिको फाइदाको लागि गरिएको प्लटिङको मारमा सो क्षेत्रका स्थानीय रहेको बताउँदै उनीहरुले सो काम तत्काल रोक्नुपर्ने माग गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नंं ५ का वडा सचिव राकेश बासुकलाले वडा कार्यालयको २०७८ जेठ २८ गते बसेको बैठकले बस्ती विकासको लागि भन्दै ३० लाख रुपैयाँ छुट्याएको जानकारी दिए ।
वडा सचिव बासुकलाले चाँगु सडकदेखि दिप सरस्वती स्कुल हुँदै खोल्सासम्म पुग्ने सडक खोल्नका लागि बजेट विनियोजन गरिएको बताए । उनले सो खोलादेखि गोरेटो हुँदै चाकतु टोल जाने सडकका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिए । उनले सो ठाउँमा बस्ती विकासका लागि जनप्रतिनीधिले नै बजेट छुट्याएको बताए ।
उनले ती दुई सडकका लागि भनी १५/१५ लाख रुपैयाँ गरी ३० लाखको बजेट विनियोजन गरिएको बताए ।
उनले सो ह्युम राख्ने काम नै उपभोक्ता समितिमार्फत भइरहेको बताए ।
वडा सचिव बासुकलाले चाँगुनारायण नगरपालिकाका इन्जिनियरले तयार पारेको डिजाइनका आधारमा खोलामा ह्युम पाइप राख्ने काम सुरु गरिएको जानकारी दिए ।
जनप्रतिनीधिकै मिलेमतोमा प्लटिङ
सो काममा मनपरी काम भइरहेपछि आक्रोशित स्थानीयले जनप्रतिनीधि र वडा कार्यालयका कर्मचारीकै मिलेमतोमा प्लटिङ गर्न दिएको आरोप लगाए ।
‘यसरी जथाभावी काम भइरहेको छ, बर्षौं पुरानो खोला समेत मिचेर डोजर चलाएको छ, यो जनप्रतिनीधिले नदेखेका हुन र ? यसमा जनप्रतिनीधिकै हात छ’, एक स्थानीयले आरोप लगाए । उनले जनप्रतिनीधिले प्लटिङकर्तासँग रकम खाएको आधारमा काम हुँदा स्थानीयले सास्ती व्यहोरेको समेत बताए ।
वडा अध्यक्ष जयन्द्र खड्कासँग सो बारेमा थप बुझ्न र उनीमाथि लागेको आरोपबारे बुझ्न सम्पर्क गर्दा उनले फोन उठाएका छैनन् । उनी अहिले चाँगुनारायण नगरपालिकामा मेयर पदका आकांक्षी हुन् ।