भक्तपुर, ९ बैशाख । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीको नाममा सम्बोधन गरेका छन् ।
स्थानीय तहको निर्वाचन २०७४ जेठ ४ गते सपथ ग्रहणसँगै भक्तपुर नगरपालिकाको नगर प्रमुखको जिम्मेवारीमा रहेका उनले शुक्रबार नगरबासीको नाममा सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले निर्वाचनमा आफूसँगै सबै जनप्रतिनिधिलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा भएका काम र प्रगतिको फेहरिस्त सुनाए ।
उनले सो क्रममा नेपाल मजदुर किसान पार्टीको नीति र निर्देशन तथा निर्वाचनमा गरेको घोषणापत्र अनुसार काम गरेको बताए । मेयर प्रजापतिले नगरपालिकाको आयव्यय प्रस्तुत गर्दै पाँच वर्षको बीचमा शिक्षा, स्वास्थ्य, सम्पदा तथा कला संस्कृति संरक्षण र विकास निर्माण, बजार अनुगमन, खेलकुद, सरसफाइ तथा वातावरण सुधार, खानेपानी, क्यान्सर अस्पताल सरकारी स्वामित्वमा आएको समेत जानकारी दिए ।
उनले सो अवधिमा सहकारी, प्रकाशन तथा सञ्चार क्षेत्रमा गरेको प्रगतिका साथै भूकम्पपछिको पूनर्निर्माण, विभिन्न सीपमूलक तालिमबारे चर्चा गर्दै विवादास्पद देकोमिबा इटापाके जग्गा एकीकरण योजनाबारे पनि सुनाए ।
उनको समेबोधन ४५ मिनेट लामो थियो ।