भक्तपुर, ७ बैशाख । भक्तपुरको कमलविनायकका ५४ वर्षका उत्तमलाल पुलाछेँले आफ्नै नामको मः मः पसल सञ्चालनमा ल्याएका छन् ।
जीवनको लामो समय कुकिङ क्षेत्रमा लागेर अनुभवी ‘सेफ’ रुपमा आफ्नो परिचय बनाउन सफल उनले आफ्नै नामको मः मः पसल सञ्चालनमा ल्याएका हुन् ।
भक्तपुरको जगाति (साविकको विद्या विकास स्कूल) मा सञ्चालनमा मः मः पसल खोलेका उनले पसलको नाम राखेका छन्, ‘उत्तम दाइको मः मः पसल’ ।
विशेषतः मः मः का पारखीहरुका लागि अनि भक्तपुरमा मः मःको नयाँ स्वाद चखाउनका लागि उनले जगातिमा सो पसल सञ्चालन ल्याएको बताए ।
औपचारिक अध्ययन एसएलसीसम्म गरेका उनले लामो समय होटल लाइनमा रहेर काम गरे । उनले भक्तपुरमात्र हैन, देशका विभिन्न ठाउँमा मत्र हैन, विदेशमा पनि बसेर काम गरे ।
साउदी १० वर्ष कुकको अनुभव, कुवेतमा ५ वर्ष क्रुज् को अनुभव लिएका उनी २०७४ सालमा विदेशबाट स्वदेश फर्किएका हुन् । विदेशमा कति बस्नुरु भन्ने प्रश्नले आफूलाई पटकपटक चिमटेपछि स्वदेशमा फकिएका उनले ‘अब विदेशमा हैन, स्वदेश अझ आफू जन्मेकी ठाउँमा केही गर्छु’ भन्ने अठोट मनमा लिए ।
त्यही अठोटको अर्को नाम ‘उत्तम दाइको मः मः मः पसल’का रुपमा प्रकट गरेको उनी सुनाउँछन् ।
नेवारी खाजाका विभिन्न परिकारहरुलाई स्वादिलो र मुखै रसाउने किसिमले बनाउने सीप उनको हातमै झुण्डिएको छ । उनको हातबाट बनेका परिकार चाख्न र खानका लागि मान्छेहरुमा मोहनी लगाउने क्षमता छ, उत्तम दाइसँग ।
यो मोहनीका लागि उनले विगतमा धेरै संघर्ष गरेका थिए । उनले त्यसका लागि विभिन्न खाना, खाजा बनाउने तालिम लिएका थिए ।
उनले केही समय भक्तपुरको ख्वप ईन्जिनियरिङ कलेजको भान्छामा पनि काम गरे, धेरैलाई उनले आफ्नै हातले बनाएको र पकाएको खाजाका परिकार चखाए ।
खाजामा विशेष स्वाद पस्किन सक्ने क्षमताका उत्तम दाइको मः मः पसलमा तीन थरि मःमः उपलब्ध रहेका छन् । यतिमात्र नभएर भक्तपुरको स्पेशल छुयाला (छोइला) पनि मः मः सँगै चाख्न पाउने सुविधा पसलमा रहेको छ । यतिमात्र हैन, आलुदमको स्वादलाई पनि पसलले पस्केको छ ।
अहिले सो पसलमा उत्तम दाइकै नेतृत्वमा ४ जना कर्मचारी खटिएका छन् । पसलका लागि उनले १० लाख रुपैयाँ लगानी गरेका छन् ।
शहरको कोलाहल वातावरणका बीचमा आनन्दको अनुभूति गर्दै उत्तम दाइले आफ्नै हातले बनाएको ताजा ताजा मः मः खान रुचाउने, स्वास्थ्यलाई फाइदाजनक मः मः खान मन गर्ने सबैको रोजाइको केन्द्र बनाउने योजना उत्तम दाइको छ ।
‘ममको अर्गानिक र लोकल स्वादका लागि उत्तम दाइको मः मः लाई ब्राण्ड बनाउने योजना छ, यसका लागि ग्राहकको सन्तुष्टिलाई नै पहिलो प्राथमिकता दिएको छु ।