भक्तपुर, ४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले चाँगुनारायणमा राप्रपालाई मेयर पदमा सघाउने लिखित सहमति भएको खुलेको छ ।
२०७६ सालको मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा भक्तपुर जिल्ला क्षेत्र नं. १ प्रदेश (क) का नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई सघाएवापत स्थानीय तहको निर्वाचनमा राप्रपालाई मेयर पदमा सघाउने सहमति भएको लिखित पत्र सार्वजनिक भएको छ ।
विगतमा भएको सहकार्य र सहमतिको विषयमा विभिन्न आंकलन भइरहेको बेलामा उपनिर्वाचनको बेलामा भएको लिखित सहमति बाहिर आएको हो । यो सहमति पत्रले चाँगुनारायणको मेयर पदको छिनोफानोका लागि महत्वपूर्ण भूमिका खेल्ने आंकलन गरिएको छ ।
सो उपनिर्वाचनको संघारमा भक्तपुर जिल्लाका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) बीच ५ बुँदे सहमति भएको थियो । ती दुई दलबीच २०७६ मंसिर ८ गते सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
ती दुई दलबीचको गठबन्धनलाई लोकतान्त्रिक गठबन्धन नाम दिइएको सहमतिपत्रको पहिलो बुँदामा ‘लोकतान्त्रिक गठबन्धनलाई कायम राख्दै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकाको स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको साझेदार पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) (पछि राप्रपा (संयुक्त) वा अन्य पार्टी बीचमा एकीकरण भएको बेलामा कायम हुने पार्टीको नाम र चुनाव चिन्ह यसै अनुसार मानिनेछ) ले राप्रपालाई मेयरसहित अनुकूल हुने चारवटा वडा अध्यक्ष सहित उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई नेपाली काँग्रेसले सहयोग र सहकार्यका साथ समर्थन गर्ने प्रतिवद्धता गर्दछ’ भनिएको छ ।
सो सहमतिमा राप्रपा(संयुक्त)को तर्फबाट उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य हरिबहादुर बस्नेत, उच्चस्तरय कार्यसम्पादन समितिका सदस्य दिनेश श्रेष्ठ, कार्यसम्पादन समितिका सदस्य रबिन्द्रप्रताप शाह र जिल्ला अध्यक्ष रामशरण लामिछाने तथा नेपाली काँग्रेसका तर्फबाट तत्कालिन उपसभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका थिए ।
सहमति पत्रमा चाँगुनारायण नगरपालिकाको स्थानइि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको साझेदार पार्टी नेपाली काँग्रेसले नगर उपप्रमुखसहित पाँच वटा वडामा अध्यक्षसहित उम्मेदबारी दिने र उक्त उम्मेदवारहरुलाई राप्रपा(संयुक्त)ले सहयोग र सहकार्यका साथ समर्थन गर्ने उल्लेख छ ।
यस्तो छ पत्रः