भक्तपुर, ४ बैशाख । नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले माओवादी, एमाले, कांग्रेस जस्ता पार्टी नेमकिपाको मात्र नभएर जनताकै शत्रु भएको बताएका छन् ।
भक्तपुरको सूर्यमढीमा आयोजित कार्यक्रममा उनले माओवादी, एमाले, कांग्रेस नामका पार्टी नै नेमकिपाको पहिलो शत्रु भएको बताएका हन् । उनले ती पार्टीहरुकै कारण देशले दुःख पाएको, जनताले विभिन्न सास्ती भोग्नुपरेको बताउँदै पूँजीवादी विचार अँगालेर समाजवादको कुरा गर्ने पार्टीहरुले जनतालाई धोका दिइरहेको बताए ।
उनले आगामी निर्वाचनबाट ती दल र दलका नेताहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए । त्यसका लागि जनताहरुबीच एकता हुनुपर्ने उनको भनाइ थियो ।
उनले हरेक चुनावमा पैसा बाड्ने, विभिन्न प्रलोभन देखाएर जनताको आँखामा छारो हाल्ने सत्तासिन दलको व्यवहार कहिल्यै नसुध्रिने भएकाले जनता सचेत हुनुपर्ने अन्यथा फेरि पनि दुःख पाउने बताए । साथै सैद्धान्तिक रुपमा स्पष्ट अडान र विचार बोकेको एउटै मात्र पार्टी नेमकिपा रहेको औंल्याए ।
कार्यक्रममा चुनावका लागि गरिने गठबन्धनले अपराध जन्माएको र्चा गर्दै उनले निर्वाचनका लागि गरिने गठबन्धनलाई अनैतिक, अराजनीतिक, असैद्धान्तिक र अवैचारिक साँठगाँठको संज्ञा दिँदै सोही गठबन्धनले राजनीतिक अपराध जन्माएको बताए ।
नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा भएको प्रशिक्षण तथा कार्यकर्ता भेलामा पार्टी नगर समितिका प्रतिनिधि राम प्रजापतिले जनतासँग जोडिने प्रक्रिया चुनाव भएकोले राजनीतिक रुपमा सचेत र संगठित पार्नु आवश्यक रहेको बताए ।
नेमकिपा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पूँजीवादी व्यवस्थामा विकृति विसंगति व्याप्त हुने भएकाले समाजवादी व्यवस्थाको निम्ति राजनीतिक सिद्धान्तमा आधारित पार्टीको आवश्यकता रहेको चर्चा गर्दै वर्गीय र सैद्धान्तिक रुपमा अस्तित्वमा नरहेको राजनीतिक दल काम नलाग्ने बताउनुभयो । वडाको मतदाताबारे जानकारी गराउँदै उनले अन्य नगरपालिकाभित्र राजनीतिक अस्थिरता र खिचातानीकै कारण कुनै पनि काम सम्पन्न गर्न नसकेको जानकारी दिए ।
आयोजक समितिका अध्यक्ष दिलभक्त कोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा काशिलाल प्रजापति, लक्ष्मी प्रसाद कुसीलगायतले बोलेका थिए ।